‘प्रदेशले आवश्यक अधिकार पाएका छैनन्’ (अन्तर्वार्ता)

डिसी नेपाल
४ असार २०७८ १९:१०

काठमाडौं। गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आफ्नो साढे तीन वर्षको कार्यकाल सम्झदै आफ्नो कार्यकाल ऐतिहासिक भएको बताएका छन्। संघीय संरचना अनुसार गण्डकी प्रदेशको पहिलो मुख्यमन्त्रीको जिम्मेवारी पाएका गुरुङ्ले आफ्नो कार्यकाल र संघीयता कार्यान्वयन गर्न शुन्य समयबाट शुरु गरे पनि सफल भएको बताएका छन्।

डिसी नेपालसँगको अन्तर्वार्तामा शुरुआती दिनबाट नै प्रदेशमा कर्मचारी व्यवस्थापन गर्न लागेको तर आजसम्म पनि व्यवस्थित ढङ्गबाट समायोजन नभएको बताए। आफ्नो कार्यकालमा प्रदेश सरकारका लागि आधारभूत कानुन निर्माण,आवश्यक भौतिक संरचना निर्माण सम्पन्न भएको, पञ्चवर्षे योजना बनाएर यो समयभित्र विकास र समृद्धिको लागि के के काम गर्ने ती योजना बनाएको उनले बताए।

उनले अबको १० वर्षपछि नेपाललाई र गण्डकी प्रदेशलाई कहाँ पुर्याउने ? भन्ने दीर्घकालिन योजना बनाएर त्यसको आधारमा हरेक वर्ष नीति तथा कार्यक्रम बनाउने बजेट ल्याउने प्रचलन आफ्नो कार्यकालमा रहेको स्मरण गरे।

नीतिगतरुपमा अगाडि सारे पनि गर्न नसकेका कामहरु भने दुम्केवास त्रिवेणी सडक खण्ड निर्माण रहेको उनले बताए। सो सडक खण्ड चितवन राष्ट्रिय निकुञ्ज भित्र पर्ने र संघीय सरकारको बन तथा वातावरण मन्त्रालयको असहयोगका कारण शुरुआत गर्न नसकेको बताए।

उनले भने, ‘गण्डकी प्रदेश प्रकृती र संस्कृतिको धनी प्रदेश हो। त्यसकारण भाषा, कला,साहित्य, संगीत लगायत सबैको संरक्षणका लागि जीवित संग्रहालय बनाउने योजना गर्यौ। तर जग्गा अभावमा त्यो पनि सम्पन्न गर्न सकिएन।’ जग्गा उपलब्ध गराउने बारेमा केन्द्र सरकारबाट विभिन्न कानुनी जटिलता देखाई सहयोग नभएको उनले गुनासो गरे।

केन्द्र र प्रदेश सरकारबीच सौहार्दको सम्वन्ध भए पनि केन्द्र सरकारले प्रदेशमा आवश्यक कर्मचारी, आवश्यक बजेट दिन नसकेको, आवश्यक भौतिक संरचनाहरुमा पनि केन्द्रले हस्तक्षेप गरेको र प्रदेशको एकल अधिकारभित्र पर्ने कुराहरु पनि संघले साझा अधिकार बनाएको गुरुङले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *