स्वास्थ्य मन्त्रालयको कडा निर्देशन: स्वास्थ्य सेवा अवरुद्ध नगर्नू, दोषीमाथि कारबाहीको प्रक्रिया अगाडि बढ्यो
काठमाडौं। चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सेवा कुनै पनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई कडा निर्देशन जारी गरेको छ।
मन्त्रालयले घटनामा संलग्न दोषीहरूलाई कानुनी दायरामा ल्याउने प्रक्रिया तीव्र रूपमा अघि बढाइएको स्पष्ट पार्दै नागरिकको जीवनरक्षाका लागि उपचार सेवा नियमित रूपमा सञ्चालन गर्न सबै पक्षलाई आग्रह गरेको छ।
मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीद्वारा मंगलबार जारी गरिएको विज्ञप्तिमा पछिल्ला दिनहरूमा चिकित्सक, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामाथि भएका कुटपिट र दुर्व्यवहारका घटनाहरूप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ। यस्ता घटनामा संलग्न व्यक्तिहरूको पहिचान गरी प्रचलित कानुन बमोजिम हदैसम्मको कारबाहीका लागि सम्बन्धित सुरक्षा निकायले आवश्यक प्रक्रिया अघि बढाइसकेको मन्त्रालयले जनाएको छ।
नारायणी अस्पतालमा ड्युटीमा रहेका चिकित्सकमाथि भएको क्रूर आक्रमणको घटना बाहिरिएलगत्तै स्वास्थ्यमन्त्री निशा मेहताले गम्भीर चासो व्यक्त गरेकी छिन्। मन्त्री मेहताले आक्रमणमा परी घाइते भएका चिकित्सक डा. प्रमोद रामलाई थप र सुरक्षित उपचारका लागि तत्काल काठमाडौं ल्याउने व्यवस्था मिलाएकी छिन्। साथै, उनले राष्ट्रिय ट्रमा सेन्टर पुगेर घाइते चिकित्सकको स्वास्थ्य अवस्थाबारे प्रत्यक्ष जानकारी लिएकी छिन्। मन्त्री मेहताले दोषीहरूलाई कुनै पनि हालतमा छुट नदिन कडा सुरक्षा कारबाहीका लागि सम्बन्धित निकायलाई स्पष्ट निर्देशन दिएकी छिन् र स्वास्थ्य क्षेत्रमा देखिएका समस्या समाधान गर्दै सेवा निरन्तरताका लागि निरन्तर पहल गरिरहेकी छिन्।
मन्त्रालयले मंगलबार एक विज्ञप्ति जारी गर्दै स्वास्थ्य सेवा अति संवेदनशील, अत्यावश्यक र जीवनरक्षक क्षेत्र भएकाले नागरिकको उपचारमा कुनै पनि किसिमको अवरोध आउन नदिन सबै अस्पतालहरूलाई सचेत गराएको छ। स्वास्थ्यकर्मीहरूले सुरक्षित, भयमुक्त र सम्मानजनक वातावरणमा काम गर्न पाउनु उनीहरूको अधिकारको कुरा भएको मन्त्रालयले औंल्याएको छ। संकटको यस घडीमा नागरिकको उपचार सेवामा कुनै नपुर्याई स्वास्थ्य सेवाको निर्वाध प्रवाह गर्न सम्पूर्ण अस्पतालहरूलाई विशेष अपिल गरिएको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment