काँग्रेस महाधिवेशनः मैदानमा उत्रिए देउवा, चुनौती बन्दै निधी

सम्भव सिंह ठकुरी
६ असार २०७८ १६:२४

काठमाडौं। भदौ १६ देखि १९ सम्म काठमाडौंमा हुने नेपाली कांग्रेसको १४ औँ महधिवेशनको मिति नजिकिएसँगै सभापति शेरबहादुर देउवा फेरि सभापतिको उम्मेदवार बन्ने तयारीका साथ मैदानमा उत्रिएका छन्। शनिबार प्रदेश १ का आफू निकट नेताहरुसँग छलफल गरेर देउवाले सभापतिका लागि मैदानमा उत्रिएको घोषणा गरिसकेका छन्। छलफललाई देउवाले आइतबार पनि निरन्तरता दिए।

देउवाले प्रदेश अनुसार आफू निकट नेताहरुसँग छलफल गरिरहेका छन्। शनिबार प्रदेश १ र २ का नेताहरुसँग छलफल गरेका उनले आइतबार बागमती र गण्डकी प्रदेशका आफू निकट नेताहरुसँग छलफल गरेका छन्।

र यस किसिमको छलफल सबै प्रदेशका आफू निकट नेताहरुसँग उनले गर्दैछन्। यी छलफलहरुमा देउवाले एउटै कुरा दोहोर्याएका छन्। उनले भन्ने गरेका छन्, ‘म सभापति बनेर पार्टीलाई सबैभन्दा ठूलो बनाउँछु र देशको नेतृत्वको गर्छु।’

आइतबार बुढानिलकण्ठमा भएको छलफलमा सहभागी सहमहामन्त्री डा. प्रकाशसरण महतले सभापतिबाट छलफल शुरु भएको र यो छलफल निरन्तर रहने जानकारी दिए। उनले छलफलमा सभापति देउवाले आफू फेरि सभापति बन्न चाहेकोले सहयोग मागेको बताए। महतले डिसी नेपालसँग भने, ‘सभापतिले आफ्नो कुरा राख्नु भयो। साथीहरुले पनि आफ्नो कुरा राख्नुभयो। सभापतिकोमात्र कुरा होइन, अरु पदको विषयमा पनि साथीहरुको कुरा आएको छ। सबैलाई कसरी समेट्ने भन्ने कुरा पनि छ।’

देउवा मैदानमा उत्रिएसँगै उनका अति निकट उपसभापति विमलेन्द्र निधीले आफू पनि सभापतिको उम्मेदवार बन्न चाहेको बताएका छन्। शनिबार बुढानिलकण्ठमा भएको छलफलमा निधीले देउवाकै सहयोगमा आफू सभापतिको उम्मेदवार बन्न चाहेको बताएका थिए। तर, देउवाले भने उम्मेदवार बन्न सबै पाउने भन्दै निधीलाई सहयोग गर्ने बचन दिएनन्, बरु आफू उम्मेदवार हुने घोषणा नै गरे।

निधीले पनि सभापतिमा आकांक्षा देखाएपछि देउवा क्याम्प तरंगित बनेको छ। आइतबारको बुढानिलकण्ठ छलफल पनि निधीको विषयले चर्चा पाएको छ। बैठकमा सहभागी एक नेताले डिसी नेपालसँग भने, ‘सभापतिले फेरि उम्मेदवार बन्ने भन्दै सहयोग मागेपछि हामीले निधीको विषयमा पनि कुरा उठायौं। हामीले उहाँलाई पनि सँगै मिलाएर जानुपर्ने सुझाव दिएका छौं।’ सभापति देउवाले त्यसको जवाफमा आफूले निधीसँग कुरा गर्ने भन्दै त्यसको चिन्ता नगर्न भनेको ती जानकारी दिए।
२०७४ को निर्वाचनमा पार्टी पराजयदेखि, पार्टी भित्रको आन्तरिक द्वन्द्व मिलाउन नसकेको र संसदमा पनि प्रभावकारी भूमिका खेल्न नसकेको भन्ने आरोप खेप्दै आएका सभापति देउवा १४ औँ महाधिवेशनबाट पुनः नेतृत्वमा आई आरोपलाई गलत साबित गर्न चाहन्छन्।

देउवाले आफू निकट नेताहरुसँग दुई ठूला कम्युनिष्ट पार्टीको बामगठबन्धन कारण चुनाव हारेको अपजस आफूमाथि आएको भन्दै त्यसलाई मेटाउनका लागि भए पनि एकपटक पुनः पार्टी सभापति बनेर कांग्रेसलाई ठूलो पार्टी बनाउने चाहना रहेको बताउने गरेका छन्।

उपसभापति निधीले पनि यस पटकको महाअधिवेशनमा आफू पनि सभापतिमा लड्ने इच्छा प्रकट गरेको उनी निकटका नेताहरु बताउँछन्। उनले शेर बहादुर देउवालाई भावी प्रधानमन्त्री बन्न आग्रह गरेका छन्,भने आफूलाई अधिवेशनमा सघाउन आग्रह गरेका छन्।

पार्टीभित्र पुस्तान्तरणको चर्चा हुन थालेको बेला निधीको यो इच्छाले सभापति देउवालाई कस्तो असर पार्ला ? साथै संस्थापन पक्षबाट नै दुईजना आकांक्षी रहँदा ईतर पक्षलाई कति सहज होला ? निधिले देउवालाई दंग्याएकामात्र हुन् कि उनको सभापति लड्ने मनासाय नै छ? यी प्रश्नको उत्तरका लागि भने केही समय पर्खनुपर्ने छ। महाधिवेशनको मिति नजिकिँदै गएर तस्वीर पनि साफ हुँदै जानेछ।

लामो समयदेखि कांग्रेसलाई नजिकबाट नियालेका राजनीतिक विश्लेषक पुरञ्जन आचार्य उपसभापति निधीले सभापतिको आकांक्षा गर्नु स्वभाविक ठान्छन्।
‘१३ औँ महाधिवेशनमै निधि आकांक्षी थिए तर देउवा र निधीबीच १४ औँ महाधिवेशनमा निधीलाई सघाउने सहमति भए पनि अहिले देउवा आफै इच्छुक हुनुले निधिजीलाई गाह«ो छ, भने देउवाजीलाई पनि आंशिक असर भने पर्छ’, उनले भने।

उनले भने, ‘अहिलेको अवस्थामा देउवा नै सबैभन्दा बलियो उम्मेदवार देखिन्छन्। र मलाई लाग्छ निधीजी पनि पछि आएर देउवाजीलाई सघाउनुहुन्छ।’
आचार्यले संस्थापन इतर समूहमा सभापतिका धेरै आकांक्षी देखिनुले नै देउवाको महाधिवेशनमा जितको बलियो आधार हुने बताए।

‘संस्थापन इतरबाट धेरै आकांक्षी भएकाले मलाई लाग्छ अहिलेको समीकरणमा संस्थापन पक्षबाट देउवामात्र बलियो उम्मेदवार छन्। देउवाजीको विकल्प खोजिनुपर्छ भन्ने जिल्ला तहका कार्यकर्ता पनि इतरपक्षको अन्यौलताले देउवाजीलाई नै निरन्तरता दिन चाहन्छन्।’

देउवा मैदानमा उत्रिसक्दा उनलाई जसरी पनि नेतृत्वबाट हटाउनुपर्ने बताउँदै आएका देउवा इतर समूहका नेताहरुबीच भने पछिल्लो पटक छलफल भएको छैन। वरिष्ठ नेता रामचन्द्र पौडेल गृह जिल्ला तनहुँ गएका छन्। उनी काठमाडौं फर्केपछि छलफल हुने उनी निकट नेताहरुले बताएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *