निषेधाज्ञामा विदेशिनेकाे संख्या बढ्याे, पछिल्लो १० दिनमै पाँच सय बढी श्रमिक विदेशिए

रिता बस्नेत
७ असार २०७८ १०:३८

काठमाडौं। कोरोना महामारीका कारण भएको निषेधाज्ञाको पछिल्लो १० दिनमा महिला र पुरुष गरी पाँच सयभन्दा बढी श्रमिक विदेशीएका छन्। अध्यागम विभागका अनुसार गत जेठ २४ देखि असार ३ गतेसम्म पुरुष चार सय ९७ जना र महिला २५ जना गरी पाँच सय २२ जना युवा वैदेशिक रोजगारीको लागि विदेशीएका हुन्।

त्यसैगरी, गत जेठ २४ देखि असार ३ गतेसम्ममा ३३ सय ७६ पुरुष र दुई सय ७४ महिला गरी तीन हजार ६ सय ५० जनाले श्रम स्वीकृति लिएका छन्।

कोरोना संक्रमणको नियन्त्रण तथा रोकथामलाई मध्यनजर गर्दै देशमा गत बैशाख तेस्रो हप्तादेखि भएको निषेधाज्ञासँगै वैदेशिक रोजगार कार्यालय ताहचलले पनि एक सूचना जारी गर्दै बैशाख २४ गतेदेखि भौतिक रुपमा उपस्थित भई प्रदान गरिने श्रम स्वीकृतिलगायतका सेवा केही समयका लागि ठप्प पारेको थियो।

तर सोही सेवा गत जेठ २६ गतेदेखि भने हरेक हप्ताको दुई दिन (आइतबार र बुधबार) प्रदान गर्न थालेको छ। भौतिक रूपमा उपस्थित भएर प्रदान गर्ने नयाँ श्रम स्वीकृतिलगायतका ठप्प भएका सेवा गत जेठ अन्तिम हप्तादेखि खुलाएसँगै श्रम स्वीकृति लिनेको संख्यामा वृद्धि आएको छ।

श्रम कार्यालय ताहाचलका शाखा अधिकृत प्रदिपकुमार ढकालले विषेधाज्ञाको समयमा कार्यालय खुलेको सुरुको दिन करिब साढे तीन सय जना र दोस्रो दिन डेढसय जना श्रम स्वीकृतिको लागि कार्यालय आएको बताए। उनका अनुसार हप्ताका दुई दिन खुल्ने कार्यालयमा दिनमा करिव तीन सय जना श्रम स्वीकृतिको लागि आउने गरेका छन्।

उनले कोरोनाका समयमा कार्यालय ठप्प भएपनि बायोमेट्रिक भएकाहरुले भने अनलाइनमार्फत श्रम स्वीकृति लिइराखेको बताए। उनका अनुसार बायोमेट्रिक नहुनेहरु अर्थात् पहिलो पटक वैदेशिक रोजगारीमा जानेहरुको लागि भने कार्यालयमा उपस्थित भएर बायोमेट्रिक गर्नुपर्ने भएकाले हप्ताको दुई दिन सुविधा दिइएको हो।

उनले भने, ‘निषेधाज्ञामा स्थगित भएको भनेको भौतिक रुपमा उपस्थित भएर काम गर्नुपर्नेहरुको लागि मात्रै बन्द भएको थियो। अनलाइनबाट हुने काम त भइराखेकै थियो।’

भौतिक उपस्थिति भएर गरिने काम ठप्प पारिएको केही दिनमा श्रम कार्यालयले सुरुमा हप्ताको एक दिन कार्यालय खोलेको थियो। तर, हप्ताको एक दिन दिने सेवाले विदेश जानेलाई थप एक हप्ता काठमाडौंमा त्यत्तिकै बस्नु पर्ने लगायतका अप्ठ्यारो परेकाले पछिल्लो सयम हप्ताको दुई दिन कार्यालय खोलेको उनले बताए।

ढकालले भने, ‘सोमबार कतारको फ्लाइट हुने र बिहीबार टर्किस एयरलाइन्सको। र, श्रम स्वीकृती बुधबार मात्र दिइन्थ्यो। सोमबार जानुपर्ने फ्लाइट भएको मान्छे बुधबार श्रम खुल्ने भएपछि मंगलबार यहाँ आउनु पर्यो, अनि बुधबार उहाँहरुको काम हुन्छ। त्यसपछि उहाँहरुको फ्लाइट सोमबार हुनाले छ–सात दिन फ्लाइटको कारणले गर्दा यहाँ लामो सयम बस्नु पर्ने भयो। बाहिर जिल्लाबाट आउनु भएको हुन्छ, उहाँहरुको खर्चको कुराहरु हुन्छ। त्यसले गर्दा हामीले आइतबार र बुधबार श्रम स्वीकृतिको लागि कार्यालय खुलाएका हौं।’

उनले श्रमिकको सुविधा र खर्चको बचतका लागि हप्ताको दुई दिन भौतिक उपस्थितिमा श्रम स्वीकृति दिन थालेको जानकारी गराए। उनका अनुसार पछिल्लो समय धेरैजसो कतार र साउदी जानका लागि श्रम स्वीकृति लिनेको संख्या बढी छ।

उनले श्रम कार्यालय १० प्रतिशत भौतिक रुपमा उपस्थित नहुनुपर्ने व्यक्तिहरुसमेत श्रम स्वीकृतिको लागि आउने गरेको बताए। उनका अनुसार स्वयम् श्रमिकले आफू बसेको ठाउँबाट अनलाइनमार्फत लिन सक्ने पुनःश्रम स्वीकृतिहरु पनि श्रम कार्यालयले नै गरिदिइराखेको छ।

उनले भने, ‘अनलाइनबाटै गर्दा हुने कतिपय व्यक्तिहरु बाहिर जिल्लाबाट श्रम स्वीकृतिको लागि आउनु भएको हुन्छ, यहाँ आइसकेपछि तपाईंहरु बाहिर लनलाइनबाटै गर्नुस् भनेर फर्काउने कुरा पनि भएन। मानवीय हिसाबले त्यस्तो गर्न नहुने हुनाले उहाँहरुको पनि हामीले काम गरिदिइराखेका छौं र कोही पनि मान्छे काम भएन भनेर फर्किनु परेको छैन। फ्लाइट फिक्स गर्न काठमाडौं जानै पर्छ, श्रममै गएर श्रम स्वीकृति लिन्छु भनेर आउने एकथरी हुनुहुन्छ भने अर्कोथरी चाहीँ कम्प्युटर, इन्टरनेटको सुविधा नभएर र कतिपयलाई भर्न थाहा नभएर, नआएर र ज्ञान नभएर आउनु हुन्छ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *