काेराेना नियन्त्रणमा राष्ट्रपतिकाे चासाे, काेराेना नियन्त्रणमा भइरहेको कामबारे जानकारी

डिसी नेपाल
७ असार २०७८ १२:४२

काठमाडाै। राष्ट्रपति विद्यादेवी भण्डारीले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग कोभिड–१९ रोकथाम र नियन्त्रणमा भइरहेको कामबारे जानकारी लिएकी छन्।

उनले स्वास्थ्यमन्त्री मन्त्री शेरबहादुर तामाङलगायत मन्त्रालयका पदाधिकारीलाई राष्ट्रपति भवन शीतलनिवासमा आइतबार बोलाएर अहिले कोभिड सङ्क्रमण र त्यसविरुद्धको खोप अभियानको वर्तमान अवस्था, उचित व्यवस्थापन, रोकथाम र समग्र स्वास्थ्य प्रणालीको व्यवस्थापनको लागि भइरहेका तयारीबारे जानकारी लिनुभएको मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिए।

सो अवसरमा राष्ट्रपति भण्डारीले कोभिड सम्बन्धी भएका कामलाई थप प्रभावकारी एवं व्यवस्थित बनाउन र नेपाली जनताको जीवनरक्षाका लागि खोप अभियानलाई प्राथमिकताका आधारमा सञ्चालन गर्नुपर्ने बताइन्।

उनले आगामी दिनमा कोभिड–१९ को सङ्क्रमणबाट हुनसक्ने सम्भावित जोखिमलाई न्यूनीकरण गर्न प्रतिकार्य योजना बनाई कार्य गर्न आग्रह गरिन्। राष्ट्रपति भण्डारीले स्वास्थ्य सेवा राज्यको जिम्मेवारी भएकाले स्वास्थ्य संस्थाको स्तरोन्नति र सबलीकरण गर्न, आम नागरिकको पहुँचमा गुणस्तरीय स्वास्थ्य सेवा पुर्‍याउन र वैकल्पिक तथा प्राकृतिक उपचारमा लगानी बढाउन सुझाव दिइन्।

यस्तै बहुक्षेत्रीय सहयोग र सहकार्य अभिवृद्धि गर्न तथा विश्वविद्यालयसँग सहकार्य गरी अनुसन्धानमा जोड दिन राष्ट्रपतिले आग्रह गरिन्। उनले कान्ति बाल अस्पतालको सुधार गरी बालबालिकाका लागि उपयुक्त स्वास्थ्य सेवाको व्यवस्था गर्न र निजी तथा सामुदायिक अस्पतालको सेवालाई सहज बनाउनुपर्नेमा पनि जोड दिइन्। सो अवसरमा राष्ट्रपति भण्डारीले कोभिडको रोकथाम र नियन्त्रणका भूमिका खेल्ने चिकित्सक, नर्स र स्वस्थ्यकर्मीको प्रशंसा गरेकी थिइन्। रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *