धुलिखेल नगरपालिकाको प्रगति ९७ प्रतिशत बढी

डिसी नेपाल
७ असार २०७८ १५:१४

धुलिखेल नगरपालिकाको आर्थिक वर्ष २०७७/७८मा ९७ दशमलव ४८ प्रतिशत प्रगति भएको छ। आज नगरसभाको नवौँ अधिवेशन तथा बजेट अधिवेशनमा नगरपालिकाकी उपप्रमुख विमला कुमारी चौलागाईँले आर्थिक वर्ष २०७७/७८ को प्रगति प्रतिवेदन सार्वजनिक गर्दै ९७ प्रतिशत प्रगति भएको जानकारी दिइन्।

प्रतिवेदनमा ८२ करोड ८५ लाख ४३ हजार ६ सय ६८ रुपैँया खर्च भएको उल्लेख गरिएको छ। यस्तै आयतर्फ ८५ करोड ७५ हजार ९ सय ६५ र चालू खर्चतर्फ ४३ करोड १८ लाख ४७ हजार २ सय ६५ रुपैयाँ, पूजिगत खर्च तर्फको ३९ करोड ६४ लाख ८६ हजार ९ सय १४ र वित्तिय व्यवस्थापन खर्च तर्फ २ लाख ९ हजार ४ सय ९० समेत गरी उक्त खर्च भएको प्रगति प्रतिवेदनमा उल्लेख गरिएको छ।

असारको १० गतेभित्र स्थानीय तहको बजेट ल्याउनै पर्ने कानूनी बाध्यता रहेको छ। धुलिखेलको आर्थिक वर्ष २०७८/७९ को बजेट पनि आजको नगरसभामा प्रस्तुत गरिने छ।

काठमाडौंदेखि नजिकै रहेको र काभ्रेजिल्लाको सदरमुकाम समेत रहेको धुलिखेल नगरपालिकाले अनुमानित १ अर्ब १५ करोड १५ लाखको बजेट पनि आजको नगरसभामा प्रस्तुत गरिने भएको छ।

नगरभित्रको विकासका कामसँगै कोरोनाको महामारीकाबीच आउन लागेको बजेटमा स्वास्थ्य पूर्वाधारलाई प्राथमिकतामा राखिएको छ। कोरोनाको महामारी रोकथाम तथा नियन्त्रणमा बजेटको अरु भन्दा बढी अंश समावेश गरिएको नगरपालिकाले जानकारी दिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *