कोरोनाको संक्रमण दर घट्यो, निषेधाज्ञा खुकुलो भए पनि सचेत हुनुपर्ने विज्ञहरुको सुझाव

धनकुमार कार्की
९ असार २०७८ २०:५४

काठमाडौं । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि काठमाडौं उपत्यकामा गरिएको निषेधाज्ञा खुकुलो बनाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो समय नेपालमा कोरोना संक्रमण घट्दै गएको जनाएको छ। कोरोना संक्रमित घट्दै गएपछि कोरोना अस्पतालका बेडहरु पनि खाली हुँदै गएका छन्। संक्रमणदरमा कमि आएपछि निषेधाज्ञा खुकुलो बनाइएको हो।

संक्रमणदरमा कमि आए पनि पूर्णरुपमा संक्रमण नियन्त्रण भने भइसकेको छैन। हाल नेपालमा संक्रमण दर १९.१ प्रतिशत रहेको छ। बुधबार मात्र नेपालमा २ हजार ४२१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

विश्व महामारीको रुप लिएको कोरोना भाइरसले विश्वभर करिव १ वर्षमा ३९ लाख बढी मानिसको ज्यान लिइसकेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा पनि आजका दिनसम्म ८ हजार ८ सय ९४ जनाको मृत्यु भइसकेको छ। हाल नेपालमा कोरोना पोजेटिभमध्ये मृत्युदर १.६ प्रतिशत रहेको छ ।

निषेधाज्ञा खुकुलोसँगै अहिले बजारमा चहलपहल र भिडभाड बढेको छ। यस्तै, निषेधाज्ञाका बेला सहरी क्षेत्र छाडेर गाउँ पसेकाहरु पनि धमाधम फर्कन थालेका छन्। हाल नेपालमा सक्रिय संक्रमितको संख्या ५० हजार ५२० रहेको छ। कुल संक्रमितको ९०.५ प्रतिशत निको भइसकेका छन्। बिश्व स्वास्थ्य संगठनले कुल संक्रमितको १२ प्रतिशतभन्दा कम सक्रिय संक्रमित हुनुलाई कम जोखिम भएको मान्ने गर्दछ। संक्रमणदरमा कमि आएपनि पूर्णरुपमा संक्रमण नियन्त्रण भइनसकेकाले जोखिम अझै कायम रहेको छ।

निषेधाज्ञा खुकुलो भयो भन्दै जनस्वास्थ्यका मापदण्ड पालना नगर्ने र भिडभाड गर्ने हो भने संक्रमणदर पुन बढ्न सक्ने बिज्ञहरु बताउँछन्। ‘लकडाउन खुकुलो गर्नु नै अलिअलि जोखिम मोल्नु त हो, त्यसलाई ख्याल गरेर अघि बढ्नुपर्छ’ , संक्रमण रोग बिशेषज्ञ डा अनुप सुवेदीले स्वास्थ्य मन्त्रालयको बुधबारको प्रेस ब्रिफिङमा भने, ‘अर्को कुरा आम जनमानसले पनि जनस्वास्थ्यका मापदण्ड लगायतका नियम ख्याल गर्नुपर्छ। सकेसम्म भिडभाडमा नजाने गर्नुपर्छ।’

धेरै मुलुकमा कोरोना संक्रमण दर शून्यमा पुगेर फेरि शुरु भएको छ। त्यसैले यसतर्फ पनि सचेत हुँदै नागरिकले जनस्वास्थ्यका मापदण्ड राम्रोसँग पालना गर्ने र सरकारले संक्रमण नियन्त्रणको रणनीति अझ शसक्त बनाएर संक्रमणबाट बच्नुपर्ने उनको सुझाव छ।

‘संक्रमणदर पुन बढ्ने सम्भावना दुई कारणले देखिन्छ, अहिले पनि काठमाडौंमा शून्यमा संक्रमण दर छैन, मानिसहरुको गतिबिधि बढ्ने बितिकै संक्रमण दर बढ्ने संभावना देखिन्छ भने, गाउँघरमा संक्रमण अहिले पनि फैलिरहेको देखिन्छ। ति ठाउँहरुबाट मान्छेहरु काठमाडौं फर्कने क्रमले गर्दा पनि पुनः संक्रमण बढ्ने जोखिम देखिन्छ। जसरी लकडाउन सुरु हुनुभन्दा तीन दिनअघि काठमाडौं छोडेर लाखौं मानिसहरु गाउँ फर्किएका थिए, त्यसरी नै ति मान्छेहरु काठमाडौं फर्कनेछन्। संक्रमण बढिरहेकै ठाउँहरुबाट मानिसहरुको चहलपहल बढ्दा संक्रमण बढ्ने जोखिम बढाउँछ’, संक्रमण रोग बिशेषज्ञ डा सुवेदीले भने।

लामो समयदेखिको लकडाउनका कारण जनजिवन कष्टकर बनेको भन्दै देशभर जिल्ला प्रशासन कार्यालयहरुले बिस्तारै निषेधाज्ञा खुकुलो बनाउँदै लगिरहेका छन्।

निषेधाज्ञा खुकुलो भएसँगै विभिन्न व्यवसायहरु पनि खुल्न थालेका छन्। त्यस्ता व्यवसायहरुमा व्यवसायी र उपभोक्ता दुवै सचेत हुनुपर्ने डा सुवेदीलेको भनाइ छ। व्यवसायी वा संघसंस्थाले पनि जनस्वास्थ्यलाई ख्याल गरेर संक्रमण बढ्न नदिने जिम्मेवारी हुने उनले बताए।

बिभिन्न मुलुकमा कोरोनाको नयाँनयाँ स्वरुप पनि भेटिएकोले सबैले जनस्वास्थ्यका मापदण्ड पालन गरेर कोरोनाको नयाँ स्वरुपलाई रोक्नतर्फ सचेत हुनुपर्ने बिशेषज्ञहरु बताउँछन्।

स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार देशभर ३६ जिल्लामा ५०० बढी सक्रिय संक्रमित रहेका छन्। १९ जिल्लामा २०० बढी सक्रिय संक्रमित रहेका छन्।

घट्यो पीसीआर
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको तथ्यांक अनुसार अहिले दैनिक सरदर ८ हजार पीसीआर परिक्षण हुने गरेको छ। यो पहिलेको तुलनामा निकै कम हो। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा रुणा झाका अनुसार अहिले अधिकांश पीसीआर गर्न आउनेहरु लक्षण देखिएर नगरी नहुने भएपछि मात्र आउने गरेका छन्। यसले गर्दा कम पीसीआर परीक्षण हुन थालेको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *