सोलुखुम्बुका ८ मध्ये छ स्थानीय तहको नीति तथा कार्यक्रम सार्वजनिक

डिसी नेपाल
१२ असार २०७८ ७:००

सोलुखुम्बु । आठ स्थानीय तह रहेको सोलुखुम्बुमा छ स्थानीय तहले आगामी वर्षको नीति तथा कार्यक्रम सहितको बजेट ल्याएका छन्। असार १० गते भित्र स्थानीय सरकारले बजेट प्रस्तुत गर्नुपर्ने संवैधानिक व्यवस्था अनुसार एक नगरपालिका सहित ६ स्थानीय तहले नीति कार्यक्रम सहितको बजेट ल्याएका हुन्।

सोलुदुधकुण्ड नगरपालिका, थुलुङदुधकोशी गाउँपालिका, नेचासल्यान, सोताङ, महाकुलुङ र खुम्बु पासाङल्हामु गाउँपालिकाले बिहिबार नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन्। यस्तै माप्यदुधकोशी गाउँपालिकाले कोरोनाका कारण तयारी नपुगेको भन्दै बजेट ल्याउन नसकेको जनाएको छ भने लिखुपिके गाउँपालिकाले वडातहबाट नै योजना छनौट हुन नसक्दा समस्या भएको जनाएको छ।

जिल्लाको एक मात्र सोलुदुधकुण्ड नगरपालिकाले रु.५९ करोड ३ लाख ५४ हजार २ सय ६४ को बजेट पारित गरेको छ। नगर उपप्रमुख कल्पना राइले ८औँ नगरसभामा प्रस्तुत गरेकाे बजेटमा शिक्षालाई पहिलो प्राथमिकतामा राखिएको छ। कुल बजेटको ३५ प्रतिशत शिक्षामा विनियोजन गरेको नगरपालिकाले स्वास्थ्य तर्फ रु.४ करोड २२ लाख बजेट व्यवस्था गरेको छ।

टेलिमेडिसीन सेवा सञ्चालन गरी नागरिकलाई विषेशज्ञ मार्फत परामर्श दिने व्यवस्था देखि वडा नं. १० स्थित टाप्टिङ स्वास्थ्य चौकीलाई प्राथमिक अस्पताल बनाउने लगायतका कार्यक्रम राखिएको उपप्रमुख राइले बताइन्।

जिल्लाको गाउँपालिका मध्ये सबैभन्दा ठुलो रहेको थुलुङदुधकोशीले रु.४६ करोड ६२ लाख १६ हजारको बजेट सहित नीति तथा कार्यक्रम पारित गरेको छ। छैटौँ गाउँसभाबाट पारित गरिएको कार्यक्रममा भूमिहिन तथा सुकुम्वासीलाई घडेरी उपलब्ध गराउने देखि नगरपालिका बनाउने सम्म रहेको छ।

गाउँपालिका अध्यक्ष असिम राइकाअनुसार शहिद तथा वेपत्ता परिवारलाई मासिक रु.२ हजार निर्वाह भत्ता उपलब्ध गराउने कार्यक्रम पनि पारित गरिएको छ। यस्तै सोही गाउँपालिकामा रहेका माझी समुदायका विद्यार्थीहरुको शैक्षिक उन्नयनका लागि एकमुष्ट वर्षीक रु.५ हजार प्रोत्साहन भत्ता उपलब्ध गराउने पनि कार्यक्रममा समावेश गरिएको छ । गाउँपालिकाले शुरु गरेको गौरवको आयोजनाहरु दुधकोशी सामुदायिक अस्पताल, थुलुङ दुधकोशी बहुप्राविधिक शिक्षालय, खेल ग्रामलाई आगामी वर्षको बजेटले प्राथमिकताका साथ समेटेको बताइएको छ।

यस्तै जिल्लाको सोताङ गाउँपालिकाले स्वास्थ्यलाई पहिलो प्राथमिकता दिँदै रु.३५ करोड २९ लाख ५४ हजारको बजेट सहित नीति तथा कार्यक्रम पारित गरेको छ । गाउँसभाबाट पारित कार्यक्रममा ज्येष्ठ नागरिकको उपचार निःशुल्क गर्ने उल्लेख छ।

यस्तै, नेचासल्यान गाउँपालिकाले सडकलाई पहिलो प्राथमीकतामा राखेर नीति तथा कार्यक्रम सहितको बजेट पारित गरेको छ। बिहिबार सम्पन्न नवौँ गाउँसभाबाट रु.४७ करोड १८ लाख ४० हजारको बजेट तथा कार्यक्रम पारित गरेको गाउँपालिका अध्यक्ष डुफकुमार बास्तोलाले जानकारी दिए। जसमध्ये ४ करोड बढी बजेट सडकमा विनियोजन गरिएको छ। अण्डामा आत्मनिर्भर बन्नेदेखि रोजगार कोष स्थापना लगायतको कार्यक्रमलाई आगामी वर्षको बजेटले समेटेको उनको भनाइ छ।

विश्वको सर्वोच्च शिखर रहेको खुम्बु पासाङल्हामु गाउँपालिकाको ९ औँ गाउँसभाबाट रु.३७ करोड ४७ लाख ५० हजारको बजेट पारित भएको छ । स्वर्गीय गाउँपालिका अध्यक्ष निमदोर्जी पर्यटन सडकलाई पहिलो प्राथमकितामा राखेर बिहिबार नीति तथा कार्यक्रम ल्याइएको गाउँपालिकाले जनाएको छ।

उक्त सडकको लागि रु.२ करोड बढी बजेट व्यवस्था गरिएको छ भने कोभिड–१९ नियन्त्रणका लागि रु.१ करोड बजेट पारित गरिएको गाउँपालिकाले जनाएको छ।

यस्तै जिल्लाको कर्णाली भनेर चिनिने महाकुलुङ गाउँपालिकाले रु.३१ करोड ६० लाख १८ हजार बजेट सहितको नीति तथा कार्यक्रम शुक्रबार पारित गरेको छ । बिहिबार गाउँसभामा पेश गरेको नीति तथा कार्यक्रम शुक्रबार अनुमोदन गरिएको गाउँपालिका प्रवक्ता सुभधनी कुलुङले जानकारी दिए।

प्रदेश सरकारबाट सोलुखुम्बुलाई ३५ करोड

प्रदेश १ सरकार मार्फत आगामी आर्थिक वर्षका लागि सोलुखुम्बुलाई रु.३५ करोड बढी बजेट विनियोजन गरिएको छ । आगामी वर्ष खर्च गर्नेगरी जिल्लाका ८ स्थानीय तहका लागी प्रदेश सरकारबाट रु.३५ करोड ४५ लाख बजेट विनियोजन भएको हो।

बिहिबार प्रदेश १ को प्रदेशसभा बैठकबाट उक्त बजेट सर्वसम्मत रुपमा पारित भएको छ । जस अनुसार प्रदेश सभा (क) अन्तरगत पर्ने स्थानीय तहका लागि रु.२३ करोड १८ लाख र प्रदेश सभा (ख) अन्तरगत पर्ने स्थानीय तहका लागि रु.१२ करोड २७ लाख बजेट विनियोजन भएको प्रदेशसभा सदस्य उत्तम कुमार बस्नेतले जानकारी दिए।

प्राप्त जानकारी अनुसार सोलु दुुधकुण्ड नगरपालिकालाई रु.५ करोड ८१ लाख, माप्य दुधकोशी गाउँपालिकालाई रु.२ करोड १७ लाख, खुम्बु पासाङ ल्हामु गाउँपालिकालाई रु.२ करोड ७ लाख र लिखुपिके गाउँपालिकालाई रु. २ करोड २२ लाख विनियोजन भएको छ।

यस्तै थुलुङ दुधकोशी गाउँपालिकालाई रु.९ करोड ६८ लाख, नेचासल्यान गाउँपालिकालाई रु.६ करोड ६२ लाख, सोताङ गाउँपालिकालाई रु.२ करोड ६ लाख र महाकुलुङ गाउँपालिकालाई रु. ४ करोड ८२ लाख बजेट विनियोजन भएको नेकपा एमाले प्रदेश १ संसदीय दलका प्रमुख सचेतक तथा प्रदेशसभा सदस्य बुद्धिकुमार राजभण्डारीले जानकारी दिए। जिल्लाको दुईवटा निर्वाचन क्षेत्रबाट प्रतिनिधित्व गर्ने प्रदेशसभा सदस्य राजभण्डारी र बस्नेतले यहाँको आवश्यकतालाई केन्द्रमा राखेर बजेटका लागि पहल गरेको बताए।रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *