गैँडा मारेको अभियोगमा पुर्पक्षका लागि थुनामा
सांकेतिक तस्वीर-
नवलपुर । चितवन राष्ट्रिय निकुञ्जमा चार वटा गैँडा मारेको अभियोगमा पक्राउ परेका राजमान मगर भनिने राजमान थापा मगर कारागार चलान भएका छन्। चालु आर्थिक वर्ष २०७७/७८ मा निकुञ्जमा चोरी शिकारीका कारण मरेका चार वटा गैँडा मुद्दाका फरार प्रतिवादीलाई आइतबार जेल चलान गरिएको हो।
नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिका–३ का ३० वर्षीय मगरलाई आइतबार पुर्पक्षका लागि जेल चलान गरिएको निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत लोकेन्द्र अधिकारीले जानकारी दिए। स्थानीय संरक्षणकर्मीहरुको सहयोगमा मगरलाई पक्राउ गरी नवलपुर जिल्ला अदालतसमक्ष हाजिर गराइएको अधिकारीको भनाइ छ। अदालतको आदेशानुसार मगरलाई पुर्पक्षका लागि कारागार पठाइएको अधिकारीले बताए।
आइतबार कारागार पठाइएका थापाको नाममा गैँडा मारेर खाग बिक्री गरेको आरोपमा नवलपुर जिल्ला अदालतमा दुई तथा चितवन जिल्ला अदालतमा एउटा मुद्दा दायर गरिएको अधिकारीले बताए। थापासहित यस वर्ष गैँडा मुद्दामा २७ जनालाई पक्राउ गरी कानूनी कारबाही गरिएको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ।रासस
No ads found for this position


डिसी नेपाल
Facebook Comment