विपीमा डाक्टरहरुको आन्दोलनको १६औँ दिन, पदाधिकारी नहटे सामुहिक राजीनामा दिने चेतावनी

डिसी नेपाल
१६ असार २०७८ १४:००

काठमाडौं । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठाका उपकुलपतिले वार्तामा बस्दा मादक पदार्थ सेवन गरेर आएको भन्दै आन्दोलनमा उत्रिएका चिकित्सकहरुले प्रधानमन्त्री तथा स्वास्थ्य मन्त्रालयसँगमात्र वार्ता गर्ने बताएका छन्।

१६ दिनसम्म लगातार आन्दोलन गरिरहेका उनीहरुले प्रधानमन्त्री तथा स्वास्थ्य मन्त्रालयबाट वार्ता नभए सामुहिक राजनीनामा दिने चेतावनीसमेत दिएका छन्।

बुधबार १६औँ दिनको दिन आन्दोलनमा उत्रिएका आन्दोलनकारीहरुले चार जना पदाधिकारीहरुको बहिर्गमन नै अबको मुख्य एजेण्डा भएको बताएका छन्।  ‘उपकुलपतिले पत्र काटेर वार्तामा बस्न बोलाउनु भयो,’ आन्दोलनरत आन्दोलनकारी चिकित्सक डा. हरिशचन्द्र विष्टले भने, ‘हामी गयौं। उहाँ मादक पदार्थ सेवन गरेर आउनु भएको रहेछ। मादक पदार्थ सेवन गरेका कारण हामीले उहाँसँग वार्तामा नबस्ने निर्णय गरेका छौं। अब प्रधानमन्त्रीले पहल गुर्न भएको अवस्थामा वा स्वास्थ्य मन्त्रालयले बोलाएपछिमात्र वार्तामा बछौं।’

‘डा. विष्णु पोखरेललाई सोधिएको स्पष्टीकरण निशर्त फिर्ता लिनु पर्ने र चारै जना पदाधिकारीहरुको शैक्षिक योग्यताको प्रमाणपत्र प्रतिष्ठानको वेबसाइटमा राख्ने माग राखेका थियौं’ उनले भने, ‘अरु मागहरु पनि थिए, उहाँ (उपकुलपति) मात्न थालेपछि हामी वार्ताबाट उठ्यौ, अब प्रतिष्ठानको प्रशासन सँग वार्तामा बस्दैनौं।’

बुधबार पदाधिकारीको कार्यकक्षमा ताला लगाएपछि विज्ञप्ति जारी गर्दै उपकुलपति डाक्टर ज्ञानेन्द्र गिरी, रजिष्ट्रार प्राध्यापक डा. मोहनचन्द्र रेग्मी, रेक्टर प्राध्यापक डा. गुरू खनाल र मेडिकल डाइरेक्टर प्राध्यापक डा. गौरीशंकर साहका राजिनामा पहिलो शर्त भएको आन्दोलनरत चिकित्सकहरुले बताएका छन्।

‘उहाँहरु चारै जना पदाधिकारीबाट प्रतिष्ठान सही ढंगले नचल्ने भएपछि उहाँहरुको राजिनामा मागिएको हो,’  चिकित्सक डा. हरिशचन्द्र विष्टले भने, ‘त्यसैले प्रतिष्ठान सुरक्षाका लागि हामी अब उहाँहरुको बहिर्गमनको माग अघि राख्न बाध्य भयौं।’ उनीहरुको राजीनामाको लागि एक हप्ताको समयावधि दिएको र पदाधिकारीहरुले राजीनामा नदिए सामुहिक राजिनामा दिने निष्कर्षमा पुगेको उनले बताए।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *