‘महानगरले छोप्न खोजेको लाज उदांगियाे’

उपेन्द्र शाही
१८ असार २०७८ १२:३७

काठमाडौं। सात दिनको मेहेनेत र डेढ लाख रुपैयाँ लगानी लगाएर सात जना युवाहरुले रत्नपार्कको पुल मूनि चित्र बनाए। चित्रमा मास्क लगाएर काम गरिरहेका स्वास्थ्यकर्मी, सरसफाइकर्मी, प्रहरी, पाइलट, पत्रकार, शव व्यवस्थापकहरु देख्न सकिन्थ्यो।

ती चित्र र चित्रको उद्देश्य स्पस्ट थियो, महामारीका समयमा पनि अहोरात्र सेवामा खटिने फ्रन्टलाइनरको कामको सम्मान र हौसला वृद्धि गर्नु।

तर, काठमाडौं महानगरपालिकालाई त्यो कुरा पचेन। कोभिड फ्रन्टलाइनमा खटिएका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, संचारकर्मी र सरसफाईमा खटिएकाहरुको सम्मानमा बनाइएको उक्त चित्र मेट्न महानगरपालिकालाई हतारो भयो।

रातदिन नभनी जनताको सेवामा खटिने फ्रन्टलाइनरका लागि समर्पित कार्यको सम्मान त कता हो कता, उल्टै १५ दिन नबित्दै उक्त चित्रको नामोनिसान मेटाइयाे। महानगरले गत बुधबार कर्मचारी लगाएर एकाएक चित्र मेटेपछि सर्वत्र आलोचना भइरहेको छ।

महानगरले आफू काम गर्न नसक्ने र अरुले गरेको काममा बक्र दृष्टि लगाएको उक्त चित्रका परिकल्पनाकार डोजाङ शेर्पा बताउँछन।

उनले भने ‘महामारीमा अहोरात्र सेवामा खटिनेहरुलाई प्रोत्साहन मिलोस भनेर घाम पानी नभनी चित्र बनायौँ। हामीले सबै प्रक्रिया पूरा गरेर अनुमति लिई चित्र बनाएका हौँ। त्यो कुनै व्यापारिक स्वार्थका लागि बनाइएको थिएन। महानगरको साैन्दर्यता र कला संस्कृतिका लागि पनि त्यसले सहयोग नै गथ्र्यो। तर, महानगरले त्यसलाई क्षणभंगुरमा कुरुप बनाइदियो। साह्रै दुख लागिरहेको छ।’

‘मैले चिन्दै नचिनेको एक जना डाक्टर साबको पोस्ट हेरेको थिएँ’, उनले भने, ‘उक्त पोस्टमा उहाँले त्यो भित्ताबाट त तिमीले चित्र मेट्टायो। यो मनबाट कसरी मेटाउन सक्छौं भनेर लेख्नु भएको देखेँ। त्यसले अझ धेरै मेरो मन भक्कानियो।’

सामाजिक सञ्जालमा राम्रो कार्य भएको प्रतिक्रिया बढ्न थालेपछि महानगरलाई सायद लाज लागेको हुनुपर्नेे उनले बताए। त्यो लाज लुकाउनको लागि महानगरले थप अरु कार्य गर्नुपथ्र्यो। तर, उल्टो त्यो चित्र मेट्टाउने काम गरेर महानगरको भएको लाज पनि च्यात्तिएको उनको भनाइ छ।

‘काठमाडौंमा जताततै खाल्डै खाल्डा छन्। बिजुलीका पोलमा गुजुल्टिएका तारहरू छन्,’ उनले भने, ‘वीर हस्पिटलमा फोहोर उठाउनु २० दिन कुर्नुपर्छ। केहीबेरको बर्षापछि भलमा परिणत हुने बाटोघाटो छ। सार्वजनिक भित्तामा बर्षौदेखि नमेटिएका विभिन्न कम्पनीका विज्ञापन छन्, राजनीतिक दलका नाराहरू छन् त्यसले केही असर गरेको छैन। तर, महामारीविरुद्ध खटिनेको प्रोत्साहन गर्दा महानगरलाई देखि सहन नहुने,’ उनले यसबाट महानगरको नियत प्रष्ट हुने बताए।

‘मेट्टाउने भए पनि एकपटक हामीलाई कारणबारे जानकारी हुनुपथ्र्यो। महानगरले हामीलाई सुइको नदिकन एकैपटकमा मेहनेतमा पानी फेरिदियो। त्यसमा हामी धेरै दुखित छौँ। अब हामी अदालतको ढोका ढक्ढक्याउन पनि तयार छौँ। हामीलाई क्षतिपूर्ति दिइनुपर्छ। विशुद्ध भावनाले गरिएको कामले सम्मान पाउनु पर्छ,’ उनले भने।

महानगरको नीति तथा कार्यक्रममा भित्ते लेखन निषेध गरिएको र महानगरको संस्थागत निर्णयले पनि त्यस्ता कार्य गर्न निषेध गरेकोले त्यो चित्र मेटिएको प्रवक्ता ईश्वरमान डंगोलले बताए। उनले पहिले देखि नै अनुमति बेगर भएका सबै भित्ते लेखन मेटिदैँ आएको बताए।

वडा कार्यलयको अनुमति दिएको विषयमा बोल्दै उनले त्यो वडा कार्यलयको क्षेत्राधिकार भित्र नपर्ने बताए। महानगर परिषदले निषेध गरेकोले मेयरले पनि अनुमति दिन नमिल्ने उनको भनाइ छ।

उनले भने, ‘वालमा को कोले के लेख्छन सबै कुरा हामीलाई जानकारी हुँदैन। कसैले त्यो विषयमा अनुमतिको लागि महानगर केन्द्रसँग सोधेको पनि छैन। हामीले पहिलेदेखि नै वालमा लेखिएका भित्ते लेखन मेटिरहेका छौँ। हेडिङ बोर्ड, पम्पलेट हटाइरहेका छौँ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *