‘लिभिङ विथ कोरोना’को रणनीतिमा सरकार, ‘पोजेटिभिटी’ दर बढी हुँदा पनि खोलिए धेरै क्षेत्र

तर्कबहादुर थापा
२१ असार २०७८ १०:०५

काठमाडौं। काठमाडौं उपत्यकाभित्र दुई महिनाको लामो समयपछि मंगलबारदेखि निर्वादरुपमा सार्वजनिक यातायातका साधन गुड्न थाल्ने छन्।

तीनवटै जिल्लाहरुका प्रमुख जिल्ला अधिकारी (सिडियो) को आइतबार बसेको बैठकले सार्वजनिक सवारी साधनहरुको जोरविजोर प्राणलीलाई हटाएर मंगलबारदेखि निर्वादरुपमा संचालन गर्न पाउने निर्णय गरेको हो।

‘विभिन्न किसिमका मापदण्डहरु बनाएर सवारी साधन संचालनका लागि आदेश दिइएको हो’ भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले डिसीनेपालसँग भने, ‘मापदण्ड पालना नभएको अवस्थामा कारवाही गरिन्छ।’ मापदण्डको पालना भए नभएको बुझ्न नेपाल प्रहरीसहित डिसीसीएमसीले पनि अनुगमन टोली बनाउने उनले बताए।

सीमान्तकृत समुदायको दैनिकीलाई ख्याल गरेर बााध्यात्मक तरिकाले खोल्नु परेको प्रशासनको तर्क छ। काम गरेर दैनिकी गुजारा गर्नेहरुको दैनिकीलाई ध्यानमा दिएर ‘लिभिङ विथ कोरोना’ कोरोना सँगसँगै रहन सिकौं भन्ने रणनीतिका साथ विस्तारै विभिन्न क्षेत्रहरु खुल्ला गरिएको हो।

भक्तपुरका प्रजिअ भट्टराईले भने, ‘सबैको समस्यालाई ख्याल गर्नु पर्छ। केही क्षेत्रहरु अझै पनि खोल्न सकिएको छैन। विस्तारै ती क्षेत्रको बारेमा पनि सोच्नु पर्ने त हुन्छ नै। तर, कोरोनाको पोजेटिभिटीदर छ, जोखिम छ भनेर बन्द गरेर पनि नहुने। व्यक्तिगत रुपमा कसैले सहयोग गरे पनि सरकारी तर्फबाट त काम गरी खानेलाई कुनै प्रकारको राहत प्याकेज आएन। स्थानीय सरकार, प्रदेश सरकार र केन्द्र सरकार कसैले पनि उनीहरुको रोजीरोटीेको अवस्था सिर्जना गर्ने कुनै कार्यक्रम ल्याउन नसकेपछि ‘लिभिङ विथ कोरोना’को रणनीतिमा अघि बढेका हौं।’

संक्रमण हुने दर घटेको छैन : मन्त्रालय

पछिल्ला केहीदिन यता कोरोना संक्रमितको संख्यामा कमि आए पनि संक्रमणदर भने घटेको छैन। गत २४ घण्टामा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको रिपोर्ट अनुसार अस्पतालमा चेकजाँच गर्नेको संख्या घटेका कारण संक्रमितको संख्या कम देखिए पनि पोजेटिभिटी दर अझै २० प्रतिशतको हाराहारीमा पाइएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले पोजेटिभिटीदर अझै पनि २० प्रतिशतको हाराहारीमा रहेको स्वीकार गरेका छन्। डिसी नेपालसँग कुरा गर्दै उनले भने, ‘सरकारले जारी गरेको अध्यादेश अनुसार डीसीसीएमसीलाई निषेधाज्ञा लगाउने र खोल्ने अधिकार हुन्छ। जिल्ला स्वास्थ्य कार्यालयबाट एक जना प्रतिनिधि हुने गर्छन्। मन्त्रालयको तर्फबाट डीसीसीएमसीलाई कुनै निर्देशन वा सुझाव हुँदैन। उहाँहरुले जिल्लाको अवस्थालाई विष्लेषण गरेर कार्य गर्नु हुन्छ।’

चेक जाँच कम भएकाले कोरोना संक्रमितको संख्या कमी देखिएको उनले बताए। उनले भने, ‘पछिल्ला दिनमा चेकजाँच पनि कम भएको पाइएको छ। चेकजाँच कम हुँदा संक्रमितको संख्या कम देखिएको हो। काठमाडौं उपत्यकाको औषत संक्रमित दर कम भए पनि पुरै देशको औषत गर्ने हो भने पोजेटिभिटीदर अझै २० प्रतिशत हाराहारीमा छ।’

डीसीसीएमसीले जारी गरेको सन्देशमा भनिएजस्तै स्वास्थ्यका मापदण्डहरु अपनाएको अवस्थामा कोरोनाको जोखिम कम हुने उनको भनाइ छ। उनले मापदण्डमा भनिए÷लेखिए अनुसारको नगरेमा पुनः संक्रमण फैलिनेमा कुनै शंका नभएको बताए। उनले भने, ‘हामीले स्वास्थ्यका मापदण्डहरु लागू भए नभएको कडाइका साथ अनुगमन गर्न सकेको अवस्थामा संक्रमणदर कम होला तर, मापदण्ड पालना भएन भने त कुनै शंकै छैन पुनः संक्रमण बढ्छ नै।’

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो तथ्याङ्क अनुसार काठमाडौंका विभिन्न अस्पतालमा कोरोना परीक्षण गर्नेको दर निकै कम देखिन्छ। राष्ट्रिय प्रयोगशाला टेकुमा ४ सय ८ जनाको परीक्षण भएको थियो भने १ सइ ११ जनामा कोरोना पुष्टि भएको छ। शुक्रराज ट्रपिकलमा १ सय ८१ जनाको परीक्षण भएकोमा ३२ जना पोजेटिभ देखिएको छ।

यस्तै भक्तपुर अस्पतालमा २ सय २७ जनाको स्वाब परीक्षण गरिएकोमा ५३ जनामा पोजेटिभ देखिएको छ। ललितपुरको सानेपा अस्पतालमा गरिएको २ सय १९ को स्वाब परीक्षणबाट १४ जनामा कोरोना संक्रमण पुष्टिभएको छ।

प्रतिनिधिका लागि राखिएको यो तथ्याङ्कले पनि कोरोनाको पोजेटिभिटीदर २० औषतमा २० प्रतिशत रहेको देखाउँछ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. पौडेलले भने, ‘स्वास्थ्यका मापदण्डहरुबाट टाढा रहने अवस्था छैन। स्वास्थ्य मापदण्ड जति बढी प्रयोग गर्न गराउन सकिन्छ त्यति नै कोभिड संक्रमणको चैन ब्रेक हुन्छ।’

 

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *