चैतेदसैं : चितवनको विक्रमबाबा, सोमेश्वर र गोद्धकमा मेला

डिसी नेपाल
४ वैशाख २०८१ १०:५१

भरतपुर। चैत्र शुक्ल अष्टमी र रामनमवीका अवसरमा चितवनका विभिन्न शक्तिपीठमा मेला लागेको छ । विक्रमबाबा, सोमेश्वर र गोद्धकलगायत शक्तिपीठमा दर्शन गर्न र मेला भर्न आउनेको घुइँचो लागेको छ।

चितवन राष्ट्रिय निकुञ्जस्थित कसरामा लाग्ने विक्रमबाबा मेला प्रत्येक वर्ष चैत कृष्ण औंसीमा सुरु भएर वैशाख पूर्णिमासम्म सञ्चालन हुने गरेको छ।

यस वर्ष पनि चैत कृष्ण औंसीदेखि सुरु भएर वैशाख ११ गते पूर्णिमाको दिनसम्म मेला सम्पन्न हुने भरतपुर महानगरपालिका-२३ का अध्यक्ष दीपक दवाडीले जानकारी दिए। विक्रमबाबाको दर्शन गर्नाले सन्तान प्राप्ति र सुखशान्ति हुने जनविश्वास छ।

चितवनको माडी नगरपालिका माडी-१ स्थित गोद्धक क्षेत्रमा पनि चैतेदसैं मेला सुरु भएको छ। गोद्धक क्षेत्र पर्यटन विकास समितिको आयोजना तथा थारू कल्याणकारिणी सभा क्षेत्र नं १ माडीको सहआयोजनामा अष्टजाम पूजासहित मेला सञ्चालन गरिएको हो।

मेलामा शिवमन्दिर, गोद्धकनाथ, भीम इनार, कुकुरनाथ, बिरालोनाथ, झण्डीडाँडा, लिम्बू छाँगाजस्ता धार्मिक सम्पदा अवलोकनका साथै विविध सांस्कृतिक कार्यक्रम, खेलकुद, परशुराम कुण्ड स्नान र भोजनगृह सञ्चालन गरिने छ।

यसैगरी माडीको सोमेश्वरगढीमा आयोजित मेलामा भक्तजनको उल्लेख्य सहभागिता छ । मेला भर्न भारतबाट पनि मानिस आउने क्रम जारी छ। गत चैत २७ गते सुरू भएको मेला यही वैशाख ६ गते सम्पन्न हुनेछ। सोमेश्वरमा बर्सेनि लाखौं भक्तजन आउने गरेका तथा तिनमा भारतीय नागरिकको सङ्ख्या उल्लेख्य रहेको मेला व्यवस्थापन समितिका अध्यक्ष पिताम्बर पोख्रेलले जानकारी बताए।

माडी नगरपालिकामा स्थानीय बिदा

चैतेदसैँका अवसरमा आज माडी नगरपालिकाले बिदा दिएको छ। माडीका धार्मिक तथा पर्यटकीय क्षेत्र सोमेश्वरगढी, गोद्धक धाम, परशुराम कुण्ड, अयोध्याधाम, राममन्दिर र विक्रमबाबामा धार्मिक तथा सांस्कृतिक कार्यक्रमसहित मेला लाग्ने भएकाले बिदा दिइएको नगरपालिकाले जनाएको छ। रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *