देशका विभिन्न ठाउँमा लागेको डढेलोले बढायो वायु प्रदूषण

डिसी नेपाल
२७ चैत २०८० ७:१२

काठमाडौं। हाल केही दिन यतादेखि देशका विभिन्न ठाउँमा लागेको डढेलोका कारण वायु प्रदूषण बढेको छ।

साेमबारमात्रै काठमाडौंको वायु विश्वकै अस्वस्थकर सूचीमा तेस्रो स्थानमा रहेको विश्वभरको वायु प्रदूषणको अवस्था रियल टाइममा मापन गर्ने एक्यूआईले समेत देखाएको छ।

काठमाडौं उपत्यकाको आकाश तुवाँलाले ढाकेको छ। अहिले पनि आकाश खुलेको छैन। पश्चिमी क्षेत्रबाट प्रदूषित हावा उपत्यकामा आउँदा यहाँको मौसम खासै खुल्न सकेको छैन। काठमाडौं उपत्यकामा रहेका सबैजसो वायु प्रदूषण मापन केन्द्रले हावा प्रदूषित भएको देखाएको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ।

सोमबार विहान काठमाडौँ विश्वकै प्रदूषित सहरको सूचीमा तेस्रो स्थानमा रहेको हावाको गुणस्तर मापक सूचक एक्यूआईले देखाएको हो। एक्यूआई ५० भन्दा धेरै भएमा कमजोर स्वास्थ्य भएका समूह जोखिममा पर्छन भने एक सयभन्दा माथि भएमा सबैका लागि अस्वस्थ मानिन्छ।

काठमाडौँको एक्यूआई सोमबार यो समाचार तयार पर्दासम्म १ सय ५९ भन्दा माथी पुगेको थियो। सूचीको पहिलो स्थानमा थाइल्याण्डको च्याङमाइ सहर रहेकामा दोस्रोमा बङगलादेशको ढाका रहेको छ।

यसैगरी चौथो स्थानमा मलेसियाको क्वालालम्पुर, पाँचौँ स्थानमा युगान्डाको कम्पाल रहेको थियो। एकाउन्नदेखि सयसम्म एक्यूआई मापन गरिएको वायु सामान्य अवस्थाको मानिने गरिन्छ । त्यसभन्दा माथिको एक्यूआई अस्वस्थकर हुन्छ।

एक्यूआई तीन सयभन्दा माथि पुगेमा वायु प्रदूषण डरलाग्दो र घातक हुने बताइएको छ। देशभर लागेको डढेलोका कारण वायु प्रदूषण बढेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

प्रदूषणले बालबालिका, ज्येष्ठ नागरिक, श्वासप्रश्वासका बिरामी र मुटुका बिरामीलाई असर गर्ने भएकाले काम नपरेसम्म घरबाट बाहिर ननिस्कन, निस्कनै परे मास्क तथा चश्मा लगाउन र सावधानी अपनाउन चिकित्सकहरुले सल्लाह दिएका छन्।

त्यसमाथि पनि प्रदूषण बिहान र बेलुकी अत्यधिक बढ्ने हुँदा सजग रहन उनीहरुको सुझाव छ। एक्युआइको बेभसाइटका अनुसार अहिलेपनि नेपालका बारा पर्सा मकवानपुर लगाएतका जिल्लामा १ सय भन्दा बढी ठाउँमा डढेलो लागि रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *