‘कांग्रेस महाधिवेशन निर्धारित मिति मै हुनुपर्छ’
फाइल फाेटाे
भक्तपुर । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको महाधिवेशन निर्धारित मितिमै हुनुपर्ने बताएका छन् । भक्तपुरको कौशलटारमा कांग्रेसका युवा नेता तथा लेखक गुरुराज घिमिरेको कविता सङ्ग्रह ‘मृत्युसँगको साक्षात्कार’ आज विमोचन गर्दै उनले निर्धारित मितिमा महाधिवेशन हुन नसके कांग्रेसको वैधानिकता गुम्ने खतरा हुने बताए ।
अहिले आफ्नो एकमात्र अर्जुन दृष्टि भनेकै निर्धारित महाधिवेशन गर्नुनै रहेको छ भन्दै उनले पार्टीलाई वैधानिकताबाट बचाउन र दर्ता नै खारेजी हुनबाट जोगाउन प्रतिनिधिमूलक ढङ्गले भएपनि महाधिवेशन गर्नुपर्ने धारणा राखे । विधानले अप्ठ्ययारो नपार्ने विषयलाई मिलाउदै जान सकिने उनको भनाइ थियो ।
कार्यक्रममा नेता कृष्णप्रसाद सिटौलाले कांग्रेसको आज बिहान बसेको बैठकमा पार्टी सभापति शेरबहादुर देउवा र नेता पौडेलले निर्धारित मितिमै महाधिवेशन हुन्छ भने पनि आफूलाई भने आशंका लागेको बताए । उनले भने, “पार्टीको क्रियाशिल सदस्यको विवाद अहिलेसम्म नमिलेको अवस्थामा निर्धारित मितिमै महाधिवेशन हुन्छ भन्ने विश्वास कसरी गर्ने ।”
कार्यक्रममा महामन्त्री डा शशांक कोइराला, नेताहरु शेखर कोइराला, डा।मीनेन्द्र रिजाल, बलबहादुर केसी, अर्जुन नरसिंह केसी, दिपक गिरी, डा. चन्द्र भण्डारी, बद्री पाण्डेलगायतले राजनीति र साहित्यमा सफलता हासिल गर्न शुभकामना व्यक्त गरे । पूर्व मुख्य सचिव डा. विमल कोइरालाको सभापतित्वमा सम्पन्न कार्यक्रममा साहित्यकार डा। तुलसी भट्टराई, ज्ञानु अधिकारीलगायतले पुस्तकको समिक्षा गरे । लेखक घिमिरेले विगत १० वर्षको अवधिमा आफूले छ वटा कृति लेखेको बताए ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment