एनआरएनए जर्मनीको अधिवेशनः दलका उम्मेदवार छायाँमा

डिसी नेपाल
१० साउन २०७८ १६:३०

फ्रयांकफ्रर्ट (जर्मनी)। गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद, जर्मनीको अधिवेशन आइतबार हुँदैछ। अधिवेशनसँगै नयाँ नेतृत्व चयन प्रक्रिया अघि बढ्ने भएकाले चुनावी सरगर्मी बढेको छ। अधिवेशन आइतबार भए पनि चुनाव भने आगामी ३१ जुलाई शनिबार सम्पन्न गरिने निर्वाचन आयोगले जनाएको छ।

पूर्व अध्यक्ष एवं आइसीसी सदस्य हरेन्द्र वनेम प्रमुख आयुक्त रहेको निर्वाचन आयोगले २६ जुलाईसम्म उम्मेदवारी दर्ता गर्ने समय तोकेको छ। तर सहमति गर्न भन्दै रामप्रताप थापा सल्लाहकार र दिल गुरुगंको संयोजकत्वमा एक आयोग गठन गरिएको छ। उम्मेदवारी दर्ता गराएका, सम्भावित उम्मेदवार, चर्चाका उम्मेदवारहरुलाई शनिबार साँझ एक होटलमा सहमतिको लागि भन्दै बोलाए पनि उम्मेदवारको परिचय बाहेक केहि प्रगति हुन सकेन। सहमतिको नाममा बोलाए पनि कतिपय उम्मेदवारहरु आएनन् भने जुन उदेश्यले भेला बोलाइएको थियो, त्यसको चुरो कुरोमा पनि नपुगि भोलिपल्टलाई थाति राखेर उपस्थित भएकाहरु राति १२ बजे आफ्नो गन्तब्यमा लागेका थिए।

दुइ हजार १ सय १ जना सदस्यको प्रारम्भिक नामावली निकालेको निर्वाचन आयोगले अनलाइन प्रणालीमार्फत मतदान गर्ने व्यवस्था मिलाउने जनाएको छ। नयाँ कार्यसमितिको अध्यक्षका लागि मिलन पन्त, निनम्मा राई, शंकर डाँगी र डा. यज्ञ अधिकारी गरी चार जना उम्मेदवारहरु चर्चाको मैदानमा छन्। यी चारैजना उम्मेदवारहरु बर्तमान कार्यसमितिका उपाध्यक्षहरु हुन्। पन्त भने दुइपटक उपाध्यक्ष भइसकेका अध्यक्षका उम्मेदवार हुन्।

त्यसैगरी बर्तमान महासचिव लोकमणी ढकाललाई पनि अध्यक्ष पदका लागि दावेदारको रुपमा हेरिएको भए पनि उनले भने यसपाली उपाध्यक्ष पदमा उम्मेदवारी दिएका छन्। तर आफ्नो नाममा सर्वसम्मत हुने अवस्था आएको खण्डमा अध्यक्षका लागि तयारी अवस्थामा रहेको उनको भनाइ छ। यद्यपी आफू निर्वाचको पक्षमा रहेको भए पनि सहमतिको विपक्षमा भने नभएको ढकालको भनाइ छ। सहमतिको नाममा जम्बो टोली बनाएर संस्थामा काम गरेकालाई महत्व नदिने गरेकाले ढकाल सहमति भन्दा निर्वाचनको पक्षमा देखिन्छन्।

दुई कार्यकाल उपाध्यक्ष रहेका पन्त आफू अध्यक्षको बलियो उम्मेदवार रहेको दावी गर्छन्। अहिले अन्य उम्मेदवारहरुलाई अध्यक्ष छोड्न सक्ने परिस्थिति नरहेको बताउँदै सहमति भए आफ्नो नाउँमा नत्र चुनावमा जानुपर्ने उनको धारणा छ। एनआरएनए कुनै पनि राजनीतिक पार्टिको मातृ संगठन नभई समस्त गैर आवासीय नेपालीको संस्था भएकाले आफू कुनै एक राजनीतिक दलको तर्फबाट भन्दा पनि सबै दलका भातृ संगठन, नेपाली संघ सस्था, समाजको साझा उम्मेदवारको रुपमा आफ्नो उम्मेदवारी रहेको उनको भनाइ छ। जर्मनी निवासी आइसीसी अध्यक्ष कुमार पन्त, बर्तमान एनसीसी अध्यक्ष हरि न्यौपाने अध्यक्ष पदमा पन्तको उम्मेदवारीप्रति सकारात्मक रहेको बुझिन्छ। उनी कुनै पनि राजनीतिक दलसंग सम्बन्धित नरहेको तर बामपन्थी धार नजिक रहेको बताउँछन।

यस्तै वर्तमान अर्का उपाध्यक्ष निनम्मा राई आफू ठूला नेताको आशिर्वाद लिएर भन्दा पनि जनस्तरमा भिजेर नेतृत्वमा जाने पक्षमा रहेको बताउँदै आएकी छिन्। प्रवासी नेपाली एकता मञ्च, जनसम्पर्क समिति, विभिन्न नेपाली संघसंगठन, महिला एनआरएनए अभियन्ताहरु आफ्नो पक्षमा भएको उनको जिकिर छ। सहमतिको नाममा कुनै बाध्यकारी परिस्थिति बनाएर थन्क्याउन खोजे मान्य नहुने र निर्वाचनमा जानुको विकल्प नभएको उनको भनाइ छ। आफू एमाले र कांग्रेस दुबै पार्टीको साझा व्यक्ति भएकोले दुबै तर्फको राजनीतिक भोट र जर्मनीमा रहेको विभिन्न जातीय संस्थाहरुको पनि समर्थन रहने भएकाले जित्नेमा ढुक्क रहेको उनको भनाइ छ। उनलाई नेपाली काँग्रेसको भातृ संगठन जनसम्पर्क समिति र एनआरएनए जर्मनीका संस्थापक अध्यक्ष दिल बहादुर गुरुङ, जनसम्पर्क समितिका र एनसीसी निवर्तमान अध्यक्ष बिजय मोक्तान लगायतको समर्थन देखिन्छ।

काँग्रेसले आफ्नो संगठनको इज्जत जोगाउन भन्दै जनसम्पर्क समितिको तर्फबाट उपसभापति शंकर डाँगीलाई एनआरएनएको अध्यक्ष पदमा उम्मेदवार उठाएको बताएको छ। तर त्यसको लागि डाँगीलाई न कुनै आधिकारीक निर्णय त, न कुनै स्पष्ट समर्थन रहेको छ।

डाँगीलाई जनसम्पर्क समितिको सभापतिको लागि तयारीमा रहेको बेला षडयन्त्रका साथ न त समिति, न त एनआरएनए हुने गरी अफ्ठेरो बाटोमा ठेलेको केहि कांग्रेसजनको बुझाई छ। नियमअनुसार जनसम्पर्क समितिको सभापतिको लागि विदेशी पासपोर्ट लिएकाले नपाउने भएकाले अहिले डाँगीलाई एनआरएनमा उठाउनुपरेको अर्काथरी कांग्रेसको राय छ।

शंकर डाँगीलाई उम्मेदवार पनि भन्ने तर आफ्नो सर्कलमा रहेकालाई कुनै जानकारी पनि नदिने, मतदान तथा समर्थनका लागि आग्रह र निर्देशन पनि नदिएकाले जनसम्पर्क समितिको सभापति शिखर खड्का पनि भित्रि रुपमा डाँगीको पक्षमा देखिएका छैनन्।

संगठन भित्र खड्काले सबैलाई रुष्ट बनाएकाले डाँगी लगायत मध्यमार्गी नेताहरुले सधैं संयम भएर अघि बढ्न आग्रह गर्ने गरेको तर सोही विषयमा खड्का आफूमाथि प्रहार भएको भन्दै डाँगी लगायत केही काँग्रेसीहरुको राजनीतिक जीवनमा तगारो बन्दै आएका छन्।

आलोचना र आफ्नो विरोध भएको सुन्न नसक्ने, पार्टिमा हार्डलाइनर बाहेक अरुका पक्षमा भएका कुरा सुन्ने मन नपराउने स्वभाव भएका खड्काका कारण जर्मनीको नेपाली समूदाय उनीबाट आजित छ।

उनलाई जनसम्पर्क समितिको सभापतिबाट बहिगर्मन गराउने पक्षमा प्रजातान्त्रिक विचार बोकेका सफ्ट लाइनर काँग्रेस सबै एक मत देखिएका छन्। उनकै कारण जर्मनीका काँग्रेस कार्यकर्तामा पनि विभाजन आएकाले एक ढिक्का काँग्रेस बनाउन भन्दै डाँगीलाई सभापतिको उम्मेदवारको रुपमा हेरिएको हो। तर विधानको कारणले गर्दा डाँगीलाई समस्या पर्ने भएपछि उनलाई न त संगठन न त एनआरएनए हुने गरी पाखा लगाउने दाउमा खड्का छन्। तर अहिले एनआरएन चुनावमा भने गुरु, मोक्तान र खड्काको स्वार्थ मिलेको देखिन्छ। यद्यपी खड्का राईको पक्षमा खुलेका भने छैनन। डाँगीलाई नै मेरो समर्थन रहन्छ भन्दै हिड्ने गरेका छन्।

शंकर डाँगी भने आफू एनआरएनको अध्यक्षका लागि उम्मेदवार दिने तयारीमा रहेका बेला सहमतिको नाउँमा उनिहरुले भनेको व्यक्तिलाई समर्थन गर्ने पक्षमा देखिदैनन्। डाँगीले गुरुङ, मोक्तान लगायतको विपक्षी उम्मेदवारको पक्षमा बरु समर्थन गर्ने मनशाय बनाएको उनी निकट केहि एनआरएनकर्मीहरुको बुझाई छ। तर राईलाई छोडेर उनीहरुको स्वार्थ पूर्ति हुने गरी सहमतिमा जाने पक्षमा डाँगी देखिदैनन्। अध्यक्षमा उठ्नु र राईलाई समर्थन गर्नु समान समान भएकाले डाँगी बरु आइसीसी या उपाध्यक्ष पदमा उम्मेदवारी दिने गरी मनस्थिति फेरवदल गर्न सक्ने परिस्थितिमा पनि रहेका छन्। गुरुङ र मोक्तान पक्षले राईलाई अध्यक्ष बनाएर बर्तमान एनआरएनए कोषाध्यक्ष दीपक लामालाई आइसीसीमा पठाउने तयारी गर्दै गर्दा डाँगी भने मिलन पन्तको लाइनबाट आइसीसी हुने सम्भावना पनि छ।

उता एमालेको प्रवासी एकता मञ्चले आफ्नो उम्मेदवारको रुपमा डा. यज्ञ अधिकारीलाई अध्यक्षमा उठाएको छ। एमाले होकी भनिएकी निनम्मा राईले आधिकारिक एमाले हुँ भनेर नआएको र काँग्रेसको एक पक्षले हाम्रो उम्मेदवार भनेर लबिंग गरेकाले प्रवासी नेपाली एकता मञ्चलाई संगठनको इज्जतको लागि हतारमा डा. अधिकारीलाई उम्मेदवार बनाउनुपरेको बाध्यकारी परिस्थिति बुझिन्छ।

स्वार्थको लागि मात्र आफू एमाले हो, वामपन्थी हो भनेर आउने नत्र अघिपछि पार्टी राजनीतिमा हामीलाई चासो छैन, हामी स्वतन्त्र हौं भनेर हिड्ने भएकाले खलम्खुल्ला अहिले पन्त र राई प्रवासी नेपाली एकता मञ्चको संस्थागत प्राथमिकतामा परेनन्। निनम्मा राईको पारिवारिक पृष्ठभूमी एमाले हो तर जर्मनीमा काँग्रेससँग निकट रहेका आरोप लाग्ने गरेको छ। प्रदेश नम्बर एकका मुख्यमन्त्री शेरधन राई र एमाले नेता पारुहागं राईको पारिवारिक सदस्य रहेकी निनम्माको जर्मनीमा भने कट्टर काँग्रेसहरु दिपक लामा, विजय मोक्तान ज्वाईं नाता पर्छन। तर उनी भने पारिवारिक पृष्ठभूमि मेरो एमाले हो जर्मनीमा मेरा प्रायः आफन्त र साथीभाई काँग्रेस छन्, त्यसैले म दुबैको हो भन्दै स्पष्टीकरण दिने गरेकी छिन्।

डा अधिकारी भने सधैं मिलेमतोमा टिका लगाउने परिपाटीको अन्त्य गर्न पनि आफु सहमतिको नाममा कसैलाई छोड्न नसक्ने बताउँछन्। संस्थामा पढेलेखेका विज्ञहरु आएनन् पनि भन्ने अनि उम्मेदवारी दिने बेला सहमतिको नाममा पाखा लगाउने हर्कतहरु मान्य नहुने उनको भनाइ छ। एमाले, काग्रेस, अन्य राजनीतिक दल, संस्थालाई माया गर्नेहरु र संस्थामा एकेडेमिक व्यक्ति हुनुपर्छ भन्नेहरु आफ्नो पक्षमा भएकाले जित्नेमा ढुक्क रहेको उनि बताउँछन्।

तर एमालेको संस्थापन पक्षका नेता, मुख्यमन्त्रीको दिदी निनम्मा राई उम्मेदवार भएकाले एमाले जर्मनी नेतृत्वलाई राईको पक्षमा लाग्नुपर्ने दवाव रहेको पनि देखिन्छ। प्रवासी नेपाली एकता मञ्चका अध्यक्ष चन्द्रकान्त आचार्य केहि महिना पहिले नेपाल गएका बेला पारुहागं राई, शेरधन राईसँग कुराकानी गरेर फर्केकाले आचार्यको नदेखिने सहयोग राईलाई हुने कतिपयको बुझाई छ। पार्टिको नेता एबं मुख्यमन्त्रिको दिदीलाई जिताउनु एमालेको दायित्व हो भनेर एमालेजनहरु राईको पक्षमा हुनु स्वभाविक रहेको केहिको बुझाई छ। पारुहागं राइले आचार्य जर्मनी फर्कदै गर्दा एअरपोर्टमा छोड्न आएको दृष्टान्त पनि यो चुनावमा एउटा गफको विषय बनेको छ।

यसरी भित्रि रुपमा एमाले जर्मनीका केहि नेता राईको पक्षमा लागेको र आफ्नो उम्मेदवार भनेर डा. अधिकारीलाई पनि उठाएकाले चुनावनै हुने अवस्था आए अधिकारीले पनि राईलाई छोड्न सक्ने र आइसीसी या उपाध्यक्षमा रहने अवस्था आउन सक्ने बुझिन्छ ।

अहिले यो चुनावमा एमाले काग्रेसका उम्मेदवारहरु क्रमशः अधिकारी र डाँगी छायाँमा परेका छन्। आफु दुबैको हो भन्ने राई र म सबैको हो भन्ने पन्त मुख्य प्रतिष्पर्धीको रुपमा देखिएका छन्।

एमाले र कांग्रेसका भातृसंगठनहरुले अध्यक्ष, उपाध्यक्ष, महासचिव पदमा उम्मेदवारहरु तय गरेपनि घोषणा गर्न सकेको छैनन्। एकल रुपमा उम्मेदवारहरु उठाएका छन तर प्यानल बनाएर जान सक्ने परिस्थितीमा न त उम्मेदवारहरु तयार छन्, न त संगठनले पहलकदमी लिन सकेको छ।

दुई जना खुल्ला उपाध्यक्षहरुमा लोकमणी ढकाल, मेनका त्रिपाठी, अर्जुन ओली, तुलसिमान श्रेष्ठ, शिवकला गुरुगं सानु, राजकुमार खड्का लगायतको नाम चर्चामा रहेको छ। सोमबारसम्म उम्मेदवारी दिने समय रहेकाले संख्या घटबढ हुन सक्नेछ। महिला उपाध्यक्ष पदमा करुणा तुलाधर राई, राजनदेवी गौतम, सुनिता थापा लगायतको उम्मेदवारी रहन सक्ने देखिएको छ।

कार्यकारी पद महासचिवमा दुई पटक सचिव रहेका राजेश सुनार र एक कार्यकाल एलसीसीको सचिवको अनुभव बटुलेका सिजन दाहाल प्रतिष्पर्धामा रहेका छन्। सुनारलाई एमाले निकटको रुपमा हेरिन्छ भने दाहाल काग्रेसको जनसम्पर्क समितिका प्रवक्ता समेत हुन्।

आइतबार हुने अधिवेशन पछि फेरी पनि सहमतिको लागि प्रयास गर्ने सहमति आयोगका अध्यक्ष दिल गुरुगंको भनाइ छ। निर्वाचनले समाज विगार्छ, नेपाली समुदायमा विभाजन आउन नदिन सहमतिको विकल्प नभएकाले जसरी पनि सहमति गराउने पक्षमा रहेको उनि बताउँछन् । यद्यपी सहमतिको नाममा जर्वजस्ती भन्ने नहुने भएकाले यदि निर्वाचन हुने भएमा कसरी गर्ने भन्ने विषयमा व्यापक बहस हुनुपर्ने उनको राय छ।

प्रवीधिको क्षेत्रमा उच्च दर्जामा रहेको जर्मनीमा अनलाइन भोटिगं राम्रो सम्भावना र प्रयोग हुने भन्दै यसपटक अनलाईन मार्फत सदस्यले मत दिएर आफ्ना एनआरएनए नेता छान्न पाउने बताएकाले धेरै सदस्यको आवेदन परेको देखिन्छ। तर यतिबेला आएर अनलाईन भोटिगंमा कतिपयले विश्वास भर्न सक्ने आधार नभएको बताउँदै प्रत्यक्ष मतदान हुनुपर्ने धारणा पनि अघि सार्न थालेका छन्। निर्वाचन आयुक्त एवं आइटी विज्ञ डा. नवराज रोस्याराले भोटिंग एप विकास गरेकोमा कतिपयले विश्वास गर्ने आधार के हो ? भन्दै परिक्षण र गोपनीयता साथै धाँधली नहुने स्पष्ट आधारमा प्रश्न उठाएका छन्।

भोटिंग अनलाइननै गर्ने तर एक जर्मन या विश्वालीको कम्पनी चयन गरेर अघि बढ्नुपर्नेमा भने धेरै सहमत रहेका छन्।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *