नागरिकको लापरवाहीकै कारण कोरोनाको तेस्रो लहर नजिक

तर्कबहादुर थापा
१२ साउन २०७८ ६:४३

काठमाडौं। कोरोना महामारीको दोस्रो लहरको ग्राफ अहिले पनि निकै कम हुन सकेको छैन। दैनिक दुई हजारदेखि तीन हजारको दरमा दैनिक कोरोना संक्रमितहरु थपिइरहेका छन्।दोस्रो लहरले विश्राम नपाउँदै तेस्रो लहरका लागि तयारी हुन विज्ञहरुले बोल्दै आएका छन्।

शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुका निर्देशक डा अनुप वास्तोला नेपालमा कोरोना तेस्रो लहर तर्फ अघि बढेको संकेत गर्छन। डा ‘हाम्रो वरपर भएका गतिविधिहरु हेर्ने हो भने हामी तेस्रो लहरको नजिक छौं झैं लाग्छ,’ उनले डिसी नेपालसँग भने।

गत वर्षको पुस महिनामा भएको प्रतिनिधिसभा विघटनपछि नेपालमा भएका राजनीतिक गतिविधिहरुका कारण दोस्रो लहरले आफूलाई शक्तिशाली बनाएर उपस्थिति गराएको डा. वास्तोलाको भनाइ छ।

गत पुसपछि नेपालमा भएका राजनीतिक गतिविधिपछि दोस्रो लहरले जति शक्तिशाली इन्ट्री गरेको थियो। अहिले पनि सडकमा भएका गतिविधिका कारण तेस्रो लहर टाढा छ भन्न मिल्दैन

‘आज भोलिको अस्पतालको अवस्था त सामान्य छ,’ उनले भने, ‘तर, गत पुसपछि नेपालमा भएका राजनीतिक गतिविधिपछि दोस्रो लहरले जति शक्तिशाली इन्ट्री गरेको थियो। अहिले पनि सडकमा भएका गतिविधिका कारण तेस्रो लहर टाढा छ भन्न मिल्दैन।’

भक्तपुर अस्पतालका डा.सुनिल डङ्गोल पनि नागरिकको लापरवाहीले तेस्रो लहरलाई नजिकै ल्याएकोमा दुईमत नभएको बताउँछन्। उनले भने, ‘बाहिर हिड्दा पनि सामान्यतः कसैले पनि स्वास्थ्यका मापदण्डहरु प्रयोग गरेको देखिँदैन। न त दुई मिटरको दुरी प्रयोग गरिएको पाइन्छ न त मुखमा मास्क नै लगाएको देखिन्छ। यस्तो अवस्थाले पनि कोरोना संक्रमणको अर्को लहर नजिक भएको भन्ने कुरालाई प्रष्ट देखाउँछ।’

सरकारले दोस्रो लहर नियन्त्रण तथा रोकथामका लागि लगाएको निषेधाज्ञा दिन प्रतिदिन खुकुलो पार्दै लगेपछि नागरिकमा स्वास्थ्यका मापदण्डहरु प्रयोग गर्नु पर्छ भन्ने धारणाको पनि कमी हुँदै गएको उनको भनाइ छ। अस्पतालमा आउने विरामीले पनि कोरोनालाई वेवास्ता गरेको देख्दा आफू अच्चम पर्ने गरेको उनको भनाइ छ।

सरकार भने ‘लिभिङ विथ कोरोना’को रणनीतिमा रहेको छ। कोरोनाले लामो समयदेखि अर्थतन्त्रमा असर गरेपछि ‘लिभिङ विथ कोरोना’को रणनीतिमा जानु पर्ने ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डी प्रसाद निरौला ‘लिभिङ विथ कोरोना’को विकल्प नभएको पनि बताउँछन्।

उनले भने, ‘हामीसँग अर्को विकल्प पनि छैन नि। लामो समयदेखि कोरोनाका कारण अर्थतन्त्रमा असर परेको छ। रोग भन्दा भोकले नागरिक अफ्ठेरोमा पर्ने अवस्था आएको छ। त्यसैले पनि हामीले ‘लिभिङ विथ कोरोना’को रणनीतिमा जाने सोच बनाएका हौं।’

पछिल्लो समय नेपालमा पार्टीका विभिन्न गुटहरुले आन्दोलन गरिरहेका छन्। मान्छेहरु भीडहुने सभासम्मेलनहरु नगर्न डिसीसीएमसीले निर्देशन जारी गरे पनि सडकमा अनेकौं बाहानामा भीड गर्ने गराउने काम भइरहेको छ।

कोरोनाको हालको अवस्था

नेपालमा हालसम्म २७ हजार नौं सय आठ जना सक्रिय संक्रमित रहेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा तीन हजार चार सय २१ जना कोरोनाका संक्रमितहरु थपिएका छन्।

एक दिन पहिला दुई हजार दुई सय ३७, शनिबार तीन हजार एक सय १४ जना र शुक्रबार दुई हजार नौ सय ७७ जनामा कोरोनाका संक्रमित थपिएका छन्।

नौ हजार सात सय ३८ जनाले हालसम्म कोरोनाका कारण ज्यान गुमाएका छन्। जम्मा छ लाख ८२ हजार नौ सय ४७ जनामध्ये छ लाख ४५ हजार तीन सय एक जना संक्रमण मुक्त भएका छन्। २७ हजार नौ सय आठ जना आइसोलेसनमा र तीन सय ५८ जना क्वारेन्टाइनमा रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

पाँच सय भन्दा बढी संक्रमित भएका जिल्लाहरुको संख्या ११ रहेको छ भने २१ वर्षदेखि ३० वर्षका व्यक्तिहरु सबै भन्दा बढी संक्रमित हुने गरेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म ६० वर्ष भन्दा माथिका पाँच हजार दुई सय बढीको मृत्यु भएको छ।

काठमाडौं उपत्यकामा सक्रिय संक्रमितको संख्या आठ हजार बढी रहेको छ। मन्त्रालयका अनुसार काठमाडौंमा पाँच हजार नौ सय १०, भक्तपुरमा नौ सय ३६ र ललितपुरमा एक हजार एक सय ६३ जना सक्रिय संक्रमित रहेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *