काँग्रेस महाधिवेशनः तोकिएको समयमा हुने सम्भावना टर्दै, थरीथरी विकल्पमा चर्चा

डिसी नेपाल
१३ साउन २०७८ २२:०९

काठमाडौं। नेपाली काँग्रेसको गत असार ४ गते बसेको केन्द्रीय कार्यसमितिले गरेको निर्णय अनुसार काम भएको भए बुधबार देशभरका वडाहरुले काँग्रेसको वडा समिति पाइसकेका हुने थिए। मंगलबार १२ गते वडा अधिवेशनको कार्यतालिका थियो। यो अधिवेशन केही दिन अगाडिमात्र अन्तमि समयमा आएर स्थगित गरियो। अर्को मिति तोकिएको छैन।

१६ साउनमा स्थानीय तह अधिवेशनको मिति बुधबार रातिसम्म कायमै छ। देशभरका ७५१ स्थानीय तहमा हुने यो अविधेशन पनि स्थगित हुने पक्का छ। काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विहीबार बस्ने पदाधिकारी बैठकले १६ गतेको स्थानीय तह अधिवेशनबारे निर्णय गर्ने जानकारी दिएका छन्।

तल्लो ईकाइका अधिवेशन स्थगित भएपछि त्यसभन्दा माथिल्लो तह, प्रदेश निर्वाचन क्षेत्र, प्रतिनिधिसभा निर्वाचन क्षेत्र, जिल्ला र प्रदेश तथा महाधिवेशन पनि तोकिएको समयमा हुने छाँट देखिएको छैन। यसरी अधिवेशन नहुनुमा कोरोनालाई कारण देखाए पनि क्रियाशील सदस्यताको विषय टुंगो नलाग्नु नै मुख्य कारण हो।

क्रियाशील सदस्य काँग्रेस अधिवेशनका प्रारम्भिक मतदाता हुन्। ती मतदाताको नामावलीबारे बुधबारसम्म टुंगो लागेको छैन। बुधबार बसेको पदाधिकारी बैठकले क्रियाशील सदस्यता छानबिन समितिलाई विहीबारसम्म बाँकी रहेका विवाद मिलाएर प्रतिवेदन ल्याउन समय दिएको छ। विहीबार पनि पदाधिकारी बैठक बस्दैछ।

यदि पदाधिकारी बैठकको निर्णयअनुसार विहीबार छानबिन समितिले प्रतिवेदन दियो भने सो प्रतिवेदन अध्ययनका लागि पनि केही समय आवश्यक पर्छ। त्यसपछि बस्ने केन्द्रीय कार्यसमिति बैठकले सो प्रतिवेदन पारित गर्नुपर्छ। यति गर्दा अझै यो विषय टुंगिन हप्ताभन्दा धेरै लाग्ने देखिएको छ। हालसम्म केन्द्रीय कार्यसमिति बैठकको मिति तय भएको छैन।

सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले अहिले मन्त्रिपरिषद विस्तारलाई पनि समय दिनुपर्ने अवस्था छ। जसको कारण महाधिवेशनको तयारीको विषयमा छलफल भए पनि तोकिएको समय आगामी भदौ १६ देखि १९ सम्म महाधिवेशन हुने सम्भावना टर्दै गएको छ।

संविधान अनुसार भदौ २० सम्म जसरी पनि महाधिवेशन गर्नुपर्ने बाध्यतामा काँग्रेस छ। तर, अहिलेसम्मको तयारी हेर्दा त्यो समयमा महाधिवेशन हुने सम्भावना निकै कम छ। एक काँग्रेस नेताले डिसी नेपालसँग भने, ‘अहिलेका सबै पदाधिकारी महाधिवेशन सार्न सकिन्छ कि भन्ने कुनै उपाएको खोजीमा छन्।’ उनका अनुसार सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधी, महामन्त्री डा. शशांक कोइराला र पूर्णबहादुर खड्का, कोषाध्यक्ष सीतादेवी यादव र सहमहामन्त्री डा प्रकाश कोही पनि भदौमा महाधिवेशन नहोस भन्ने चाहन्छन्।

अहिलेको तयारी र नेताहरुको इच्छाले भदौंमा महाधिवेशन नहुने देखिए पनि संवैधानिक गाँठो कसरी फुकाउने ? भन्ने प्रश्न भने सबैभन्दा बलियो भएर तेर्सिएको छ। त्यसैले अहिले काँग्रेस भित्र विभिन्न मोडलहरुमा चर्चा र बहस भइरहेको छ।

भदौ २० मा वडा अधिवेशन शुरु गरेर महाधिवेशनको प्रक्रिया शुरु भएको भन्दै निर्वाचन आयोगलाई जानकारी गराउने तर महाधिवेशन आगामी मंसिरसम्म गर्ने, कोरोनाकाललाई शून्य अवधि मानेर डेढ वर्ष यही कार्यसमितिको कार्यकाल थप्ने, १३ औं महाधिवेशनकै प्रतिनिधिबाट विशेष महाधिवेशन गर्नेलगायतका विकल्पबारे काँग्रेस भित्र चर्चा भइरहेको छ। एक नेताले भने, ‘यी विषयमा शीर्ष नेताहरुबीच छलफल भइरहेको छ। तर मुख फोरेर कसैले पनि यो विकल्प ठिक भन्न सकेका छैनन्।’

सभापति देउवा निकट एक नेता भन्छन्, ‘यदि देउवा सफल भएमा आगामी वैशाखमा तीन वटै तह, स्थानीय, प्रदेश र प्रतिनिधिसभाको चुनाव गराउने र त्यसपछिमात्र महाधिवेशन गर्ने रणनीतिमा काम भइरहेको छ।’

तर महाधिवेशन कसरी रोक्ने भन्ने प्रश्नको ठिक उत्तर भने नभेटिएको ती नेताले बताए। देउवाको यो रणनीतिमा पार्टीका सबै शीर्ष नेताहरु सहमत हुनेसमेत उनको विश्वास छ। हुन पनि अहिले शीर्ष नेताहरुको पार्टीमा जुन पोजिसन छ, महाधिवेशनपछि त्यहि पोजिसन पनि कायम रहन्छ भन्ने कुनै ठेगान छैन। त्यसैले भागबण्डामै भए पनि आफू निकटलाई टिकट दिलाउन र आफ्नो सिट सुरक्षित राख्न अहिलेका पदाधिकारी भदौंमा महाधिवेशन नहोस भन्ने चाहन्छन्।

बुधबार पदाधिकारी बैठकपछि पत्रकारहरुसँग बोल्दै प्रवक्ता विश्वप्रकाश शर्माले कोरोनाको अवस्था हेरेर पार्टीले केन्द्रीय कार्यसमितिबाट महाधिवेशनबारे आवश्यक निर्णय लिने जानकारी दिएका छन्। अहिले कोरोना संक्रमणको ग्राफ फेरि उकालो लागिरहेको छ। तेस्रो लहर आउने चेतावनी विज्ञहरुले पनि दिइरहेका छन्। त्यसैले भदौ २० मा वडा अधिवेशन शुरु गर्ने र त्यसपछि कोरोनालाई बाहाना देखाएर महाधिवेशन स्थगित गर्ने सम्भावना सबैभन्दा बलियो रहेको एक नेताले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *