तेस्रो लहरको चुनौतीपूर्ण अवस्था किन भन्यो स्वास्थ्य मन्त्रालयले ?

तर्कबहादुर थापा
१४ साउन २०७८ ७:०२

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गर्दै तेस्रो लहरको चुनौतीपूर्ण अवस्था भन्ने शब्दावली प्रयोग गरेको छ।

नेपालमा दुई लहर कोरोनाको सामना गरिसक्दा पनि मन्त्रालयले तेस्रो लहरतर्फ संकेत गर्नु र त्यसमा पनि चुनौतीपूर्ण शब्दावलीको चयनले के जनाउँछ ? हामीले कोरोनाको महामारी नियन्त्रण गर्न अग्रपंतिमा खटिएका स्वास्थ्य विज्ञहरुलाई प्रश्न गरेका छौं।

‘परिस्कृत भएर आउने भाइरसको विशेषता हो’ सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन भन्छन्, ‘दोस्रो लहरमा पनि परिवर्तित भएर आउँदा अकल्पनीय क्षति भएपछि तेस्रोलहरलाई नियन्त्रण गर्न सजिलोको लागि पूर्व सूचित गरेको हुनसक्छ।’

उनले वालवालिकालाई खोपको अनुमति नभएकाले र भाइरसले आफूलाई परिवर्तन गर्ने भएकाले पनि सम्भावित खतरालाई देखेर मन्त्रालयले सचेत गराएको हुनसक्ने बताए।

उनले भने, ‘हामीले पहिलो लहरलाई हलुका रुपमा लियौं। दोस्रो लहरले आफूलाई बलियो रुपमा उपस्थित गरायो। यी दुबै लहरमा वालबालिका त्यति प्रभावित भने भएका छैनन्। पहिलोमा अस्पताल भर्ना समेत भएका थिएनन्, दोस्रोमा अस्पताल भर्ना हुने स्थिति आयो भने यदि भाइरसले आफूलाई परिवर्तित गर्दै बालबालिकासम्म पुग्न थाल्यो भने, बालवालिका प्रभावित हुने अवस्था आयो भने, हामीले तेस्रो लहरलाई चुनौतीपूर्ण र भयानक वेहोर्नु पर्न सक्छ भन्ने होला।’

बालबालिका प्रभावित भएपछि आवश्यक जनशक्ति, उपकरणहरुको पनि अभाव हुन सक्ने अवस्था आउन सक्ने तर्फ पनि डा. पुनले संकेत गरेका छन्।

उनले भने, ‘हामीसँग बालबालिका डाक्टर वा बालबालिकाको क्षेत्रमा काम गर्ने स्वास्थ्य कर्मचारी कति छ भन्ने कुराले पनि महत्वपूर्ण अर्थ राख्छ। ठूलो मान्छेलाई उपचार गर्ने डाक्टरले बालबालिकालाई उपचार गर्न नसक्न सक्छ। उपकरण पनि जस्तै आइसीयू, भेन्टिलेटर पनि ठूलो मान्छेको र बालबालिकाको एउटै हुँदैन। त्यसैले पनि सम्भावित खतरालाई मन्त्रालयले मनन् गरेको हुनसक्छ।’

उमेर समूह अनुसार पहिलो लहरमा बृद्धबृद्धालाई बढी प्रभावित पारेको थियो। यस्तै दोस्रो लहरमा युवा अवस्थाको उमेरसमूह भएका व्यक्तिहरुलाई बढी प्रभावित पारकोे थियो भने तेस्रो अवस्था आएपछि बालबालिकालाई बढी प्रभाव पार्न सक्छ भन्ने सम्भावना रहेको धेरैको धारणा छ।

कान्ति बाल अस्पतालका नर्स इन्द्रावति धरेल र भेरी अस्पताल नेपालगञ्जका नर्स इश्वरी केसी पनि बालबालिकालाई प्रभाव पार्ने विषयमा अनौपचारिक छलफल हुने गरेको स्वीकार गर्छन। ‘हामीले त बालबालिकाको लागि भनेर छुट्टै बेडहरुको पनि व्यवस्था गरिरहेका छौं,’ भेरी अस्पताल नेपालगञ्जकी नर्स इश्वरी केसीले भनिन्।

‘कान्तिबाल अस्पतालमा पनि पहिलो लहर भन्दा दोश्रो लहरमा कोभिड भएका बालबालिकाको संख्या बढ्दो क्रममा थियो,’ स्टाफनर्स धरेलले भनिन्, ‘त्यो भएर पनि बालबालिका प्रभावित बढी हुन सक्छन् भन्ने अनुमानित अनौपचारिक छलफल हुने गरेका छन्। र बालबालिका प्रभावित भएको अवस्था अझै चुनौतिपूर्ण हुन्छ भन्ने अर्थ लगाएको पनि हुन सक्छ।’

भेरी अस्पताल नेपालगञ्जका बालरोग विशषेज्ञ डा. विष्णु थापाको धारणा पनि चुनौतीपूर्ण हुनसक्ने तर्फ नै मिल्न जान्छ। उनले भने, ‘बालबालिकाको इम्यूनिटी पावर फिलेग्जीबल हुन्छ। यदि सामान्यतः अनुमान लगाए अनुसार बालबालिकामा यो रोगको प्रकोप बढेको अवस्थामा अन्य व्यक्तिहरुलाई यसले अझ धेरै असर अवश्य गर्छ नै।’

खोप लगाउन नपाएकै कारण बालबालिकामा कोरोना संक्रमण बढी हुन्छ भन्नेमा भने डा. थापा सहमत छैनन्। उनले भने, ‘पहिलो र दोस्रो लहरमा जति पनि बालबालिका कोरोनाको प्रकोपमा परेको हामीले पायौं। सबैको सफल उपचार भएको छ। खोप नलगाएकै कारण बालबालिका बढी प्रभावित हुन्छन् भन्ने छैन। विश्वको ट्रेन हेर्नेहो भने पनि बालबालिकाहरुमा कोरोनाको त्यति नराम्रो प्रभाव देखिदैन।’

तर, बालबालिकाको लागि भेरी अस्पतालले पूर्व तयारी गरेको उनको भनाइ छ। उनले १० वटा आइसीयू बेड, १४ वटा जनरल बेड, ५ वटा भेन्टिलेटर राखेर बालबालिकाकै कोभिड पूर्व तयारी गरेको बताए।

‘ठूलो मान्छेलागि र बालबालिकाको लागि अलगै इक्वीपमेन्ट र म्यानपावर चाहिन्छ।’ डा थापाले भने, ‘उनीहरुको लागि ठूलो मान्छेलाई प्रयोग गरेका केही पनि चिज प्रयोगमा आउँदैनन्। त्यसैले म्यानपावर पनि तालिम प्राप्त हुनु पर्छ। त्यसमा पनि उमेर अनुसारका बालबालिकाहरुलाई हेर्ने फरकफरक खालको तालिम प्राप्त जनशक्ति चाहिन्छ।’

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *