जन्मेदेखि दुधमात्रै खाएर बाँचेका छन् १७ वर्षका किशोर, अन्न खुवाउने सबै प्रयास असफल

डिसी नेपाल
१४ साउन २०७८ १५:४१

काठमाडौं। हामीलाई बाँच्नको लागि खाना चाहिन्छ । खानामा प्रायः अन्नबाट बनेका खानेकुराहरु खाइन्छ । तर, १७ वर्षका एक किशोरले जन्मेदेखि अहिलेसम्म अन्नको एक दाना पनि खाएका छैनन् । उनी केवल दुध खाएर बाँचेका छन् । भुजंग नामका यी किशोर भारतको महाराष्ट्रको चन्द्रपुर जिल्लाका हुन् ।

गुरुदास र सुनिता मडावीका १७ वर्षका छोरा भुजंग अहिले चर्चाको विषय बनेका छन् किनकि उनले आजसम्म दुधबाहेक अरु केही पनि खाएका छैनन् । भुजंग जन्मदेखि नै अनौठा थिए । उनले जन्मेपछि १२ दिनसम्म आँखा खोलेका थिएनन् र आमाको दुध पनि खाएका थिएनन् । यो कारणले उनका मातापिता निकै चिन्तित पनि थिए । १३ औं दिन मात्रै उनले आँखा खोलेका थिए र दुध खाएका थिए ।

भुजंगका पिता गुरुदास मडावीका अनुसार भुजंग ६–७ महिनाको भएपछि उनलाई दाल भात खुवाउने निकै प्रयास गरियो । उनलाई बिस्कुट खुवाउने पनि प्रयास गरियो तर सबै प्रयास असफल रहे । दुधबाहेक अरु जे खान दिए पनि भजंग चिच्याउन थाल्छन् र पूरै घरमा हंगामा मच्चाउँछन् । बाल्यकालदेखि अहिलेसम्म भुजंगको व्यवहार यस्तै छ ।

नवभारत टाइम्सका अनुसार भुजंगका पिता गुरुदास गरिब छन् । मजदुरी गरेर परिवार पाल्ने उनलाई दैनिक पर्याप्त दुध किन्न निकै कठिन हुन्छ । अहिले उनी जसोतसो दैनिक आधा लिटर दुध भुजंगको लागि ल्याउँछन् । भुजंग त्यही दिनको आधा लिटर दुधले गुजारा गरिरहेका छन् । कहिलेकाहीँ पैसा नहुँदा दुध किन्न सकिँदैन । त्यस दिन भुजंग भोकै बस्छन् तर अरु केही खाँदैनन् ।

गुरुदास मडावीका अनुसार भुजंगको ६ वर्षको उमेरसम्म उपचार पनि गरिएको हो ताकि उनी खाना खान सकुन् तर उपचारपछि पनि उनीमा कुनै असर भएन । उनले केवल दुधलाई मात्रै आफ्नो आहार बनाए । डाक्टरका अनुसार भुजंग मेडिकल रुपमा भने स्वस्थ छन् । सन्तुलित भोजन नखाए पनि भुजंगमा यसको कुनै दुष्प्रभाव छैन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *