स्वास्थ्यकर्मीको हत्या भएको ४४ दिनसम्म घटना रहस्यमै

डिसी नेपाल
१५ साउन २०७८ १८:३४

काठमाडौं। सुदुरपश्चिमको एउटा जिल्ला डडेल्धुरा जहाँ एक स्वास्थ्यकर्मीको हत्या भएको ४४ दिन पूरा भएको छ। डडेल्धुरा जिल्लाको परशुराम नगरपालिका ८ जमुरानी आधारभुत स्वास्थ्य ईकाई केन्द्रमा कार्यालय सहयोगीको रुपमा कार्यरत २६ वर्षीया अस्मिता देवी धामीको हत्या भएको ४४ दिनसम्म बित्दा समेत रहस्यमै रहेको छ। अस्मिताको बलत्कारपछि हत्या भएको हो ? वा हत्या मात्रै हो ? हत्या कसरी गरियो ? यि सबै प्रश्न अझैं अनुत्तरित अवस्थामै छन्।

आर्थिक रुपमा विपन्न परिवारकी अस्मिताको कोभिडविरुद्धको खोप पुर्याउने क्रममा बिभत्स हत्या भएको घटनाको दोषीलाई कारबाही हुनुपर्ने अवाज सडकदेखि प्रदेश सभाको सदनसम्म उठिरहँदा पनि प्रहरीले हत्यारा पत्ता लगाउन सकेको छैन। जेष्ठ नागरिकलाई लगाएर बाँकी रहेको कोभिड १९ विरुद्धको खोप जोगबुढा अस्पताल फिर्ता बुझाउन जाने क्रममा असार २ गते अस्मिताको हत्या भएको थियो। उनको शव असार ५ गते वडा नं ९ हट्वानी सामुदायिक वनमा जोगबुढा जाने बाटोभन्दा करिव ६०÷७० मिटरको दूरीमा बुट्याङ भएको ठाउँमा भेटिएको थियो।

आर्थिक रुपमा विपन्न परिवारकी आनीबानी राम्रो र सोझोपन स्वभाव भएकी अस्मिताको हत्यारा अहिलेसम्म पत्ता नलाग्दा स्थानीय वासिन्दाहरुले चिन्ता व्यक्त गरिरहेका छन्।

डडेल्धुरा प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक महेन्द्र नेपालको नेतृत्वको प्रहरी टोलीले अनुसन्धान गरिरहेको भए पनि अझै पत्ता लागेको छैन। यसैगरि संघीय ईकाई प्रहरी कार्यालयबाट पनि प्रहरी नायव उपरीक्षक लक्ष्मण शाहीको नेतृत्वको टोली र प्रदेश प्रहरी कार्यालयबाट प्रहरी नायव निरीक्षक पदम थापाको नेतृत्वमा सुदूरपश्चिम प्रदेश अनुसन्धान समूह (आरआईटी) को टोली पनि अनुसन्धानका लागि खटाइएको छ। उनको शवको पोष्टमार्टम रिपोर्टमा उनको मुखको चिउडोदेखि नाकको भागसम्म पुरै ध्वस्त हुने गरि भाँचिएको उल्लेख छ। उनको पोष्टमार्टम रिपोर्टमा संलग्न चिकित्कले मुखमा गंभिर चोट लागेको हुनसक्ने बताएका थिए।

डडेल्धुरा प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक महेन्द्र नेपालले गम्भीर रुपमा घटनाको अनुसन्धान गरिरहेको र अनुसन्धान साँघुरिदै गएको बताएका छन्। यद्यपि अहिलेसम्म प्रहरीले उनको हत्याको बारेमा केही व्यक्तिहरुसँग सोधपुछ गरेको भए अहिलेसम्म कुनै व्यक्तिलाई पनि पक्राउ गर्न नसक्नुलाई प्रहरीको कमजोरीको रुपमा लिन थालिएको छ।

‘हामीले विभिन्न दायराहरु छुट्याएर अनुसन्धान गरिरहेका छौ तर, स्वस्थ्य रिपोर्ट नआउँदा, मोबाइल फोनबाट पनि कुनै कुरा पत्ता नलाग्दा प्रविधिक पक्षबाट अनुसन्धान गर्दा कुनै प्रमाण फेला पार्न सकिएको छैन । अब म्यानुअल पद्धतिबाट अनुसन्धानको प्रकृयामा छौ,’ डिएसपी नेपालले भने।

अस्मिता मृत अवस्थामा फेला परेको डेड महिना पुग्दा समेत प्रहरीले कुनै अभियुक्त पक्राउ नगरेपछि स्थानीय व्यक्तिहरुले संघर्ष समिति गठन गरेका छन्।

उनीहरुले प्रहरीको अनुसन्धानलाई सहयोग पुर्याउन विभिन्न राजनिति दल र स्थानीय जनप्रतिनिधिसहित ५ सय जनाको संघर्ष समिति गठन गरेका हुन्। उनको हत्याको विषयमा प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले पनि चासो राखेको छ। प्रदेश प्रहरी कार्यालयले पनि चासो राखेको छ। तर प्रहरीले अहिलेसम्म कसैलाई पनि दोषी करार गर्न सकेको छैन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *