दार्चुला प्रकरणः घटना बुझ्न सुरक्षा निकायका अधिकारी घटनास्थलमा

डिसी नेपाल
१६ साउन २०७८ १८:३७

काठमाडौं । दार्चुला व्याँस गाउँपालिका वडा नम्बर दुई बस्ने जयसिंह धामी भारतको बाटो हुँदै दार्चुला सदरमुकाम आउँदा तुइनबाट महाकाली नदीमा खसेर बेपत्ता भएको घटना छानविन गर्न ३ वटा सुरक्षा निकायका अधिकारीहरु घटनास्थलमा गएका छन् ।

जिल्ला प्रशासन कार्यालय दार्चुलाले एक विज्ञप्ति जारी सत्यतथ्य बुझ्न घटनास्थलमा सशस्त्र प्रहरी बल गण नम्बर–४४, जिल्ला प्रहरी कार्यालय र राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालयको टोली घटनास्थलमा गएको जानकारी दिएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्स्ना भट्ट जोशीद्वारा जारी विज्ञप्तिमा सो घटनाको सम्बन्धमा सत्यतथ्य जानकारी गराई, आवश्यक कारवाही प्रक्रिया अघि बढाउन भनि भारतीय पक्षलाई पत्राचार गरिएको जनाईएको छ ।

प्रशासनले विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा भारतीय सीमा सुरक्षा बल (एसएसबी)का जवानले तुइन काटिदिएकाले जयसिंह धामी महाकाली नदीमा बेपत्ता भएको समाचार प्रकाशित भएको भन्दै ध्यानाकर्षण समेत गराएको छ।

सत्य तथ्य पुष्टि भइनसकेको अवस्थामा दुई देशबीचको सम्बन्धमा खलल पार्ने कुनै पनि किसिमका तथ्यहीन, भ्रामक समाचार र सूचना प्रकाशन नगर्न प्रशासनले आग्रह गरेको छ ।

विदेशको सपना देख्दै घरबाट निस्किएका धामी महाकाली तर्न खोज्दा तुनइको डोरी छिनालिँदा महाकालीको भेलमा बेपत्ता भए थिए। शुक्रबार महाकालीमा बेपत्ता भएका उनको अवस्था शनिबार अपराह्नसम्म अज्ञात छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *