वैशाख यता प्राकृतिक विपदका १५१ जनाको मृत्यु
काठमाडौं। यो वर्ष प्राकृतिक विपदका घटनाका कारण हालसम्म १५१ जनाको मृत्यु भएको छ। राष्ट्रिय विपद जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार जारी तथ्यांकअनुसार यो वर्ष वैशाख १ गते यता भएका प्राकृतिक विपदका १३३६ घटनामा १५१ जनाको मृत्यु भएको छ। यो अवधिमा ३७ जना बेपत्ता छन्।
यस्तै हालसम्म विपदका घटनाबाट १६७९ घर परिवार प्रभावित भएका छन्। यो ४ महिनाको अवधिमा ६३ करोड ७७ लाख ६६ हजार ९४२ रुपैयाँ बराबरको क्षति भएको छ।
सबैभन्दा धेरै चत्यांगका घटनामा ३८ जनाको मृत्यु भएको छ। यो ४ महिनाको अवधिमा देशका १३६ स्थानमा चट्यांग परेको प्राधिकरणले जनाएको छ। यस्तै पहिरोको घटनामा ३४ जनाले ज्यान गुमाएका छन् भने ७ जना बेपत्ता छन्। यो अवधिमा पहिरोका १९२ घटना भएका छन्। यस्तै बाढीका ८० घटनामा २६ जनाको मृत्यु भएको छ भने २९ जना हराइरहेका छन्।
यस्तै यो ४ महिनाको अवधिमा जनावर आक्रमणका ८९ घटनामा १८ जनाले ज्यान गुमाएका छन् भने ५१ जना घाइते भएका छन्।
Facebook Comment