ठमेलका व्यवसायीलाई न गरिखानु, न छोडीजानु (फोटोफिचर)

फुर्पा शेर्पा
१७ साउन २०७८ ८:१४

काठमाडाैं ।  कोरोनाका कारण लामो समयदेखि काठमाडौंको व्यापारी केन्द्र ठमेल सुनसान छ। नेपालमा कोरोनाको पहिलो लहरको सुरुवातिमा भएको लकडाउनपछि अहिलेसम्म ठमेलले आफूलाई उठाउन सकेको छैन।

ठमेल अन्य बजारभन्दा बढी प्रभावित हुनुको कारण यो पर्यटन व्यवसाय हुने क्षेत्र हो। कोरोनाका कारण अरुभन्दा पर्यटन व्यवसाय अत्याधिक मर्कामा परेको पर्यटन व्यवसायीहरुको प्रतिक्रिया रहेको छ।

ठमेलमा थाङ्का आर्टस एण्ड क्राफ्टको व्यवसाय चलाउँदै आएका पर्यटन व्यवसायी नवराज सत्याल ३० वर्षको अनुभवमा अहिलेको जस्तो अरुबेला नभएको बताउँछन्।

‘पर्यटन व्यवसायहमा ३० वर्षको अनुभव छ। पहिला अरुकोमा काम गरेँ, अहिले आफ्नै गर्दै छ,’ सत्यालले डिसीनेपालसँग भने, ‘गरिखानु न छोडीजानु भएको छ। यो व्यवसाय छोडेर अन्त जान पनि सकिन्न। यही व्यवसायमा बसिराखौँ भने पनि कतिदिन यस्तो हालत हुनेहो थाहा छैन।’

सरकारले पनि पर्यटन व्यवसायीको मर्का नबुझिदिएको उनको भनाइछ। विहानैदेखि राति अबेरसम्म चहलपहल रहने ठमेल सुनसान छ। सत्यालले भने, ‘साथिभाइसँग चिया खाने बाहेक केही पनि व्यापार छैन।’ कोरोनाको महामारीका कारण ठमेलका व्यवसायी मात्र नभएर दैनिक ज्यालादारीमा ठमेलभित्रै काम गर्ने व्यक्तिहरु पनि नराम्ररी प्रभावित भएका छन्।

ठमेलजस्तो ठाउँमा व्यवसाय गर्दा लगानी पनि धेरै लागेको नवराजको भनाइ छ। व्यवसाय छोडेर जाउँ भने पनि जाने ठाउँ नभएको उनले बताए। उनले भने, ‘३०÷३५ लाखको सामान छ। छोडेर जाउँ भने कहाँ जाने। बुढेसकालमा विदेश जान पनि सकिँदैन। यो सामान यसै छोड्न पनि सकिँदैन। यो बाहेकको अरु कुनै विकल्प आफूसँग छैन।’

नवराज सत्याल मात्र होइनन्। ठमेलमै टुर एण्ड ट्राभल्सको व्यवसाय गर्ने माया तामाङ पनि आफ्नो उस्तै कहानी सुनाउँछिन्। लामो समयदेखि व्यवसाय ठप्प भएको देखेर उनी पनि चिन्तित छिन्।

‘ठमेलमा हुने पर्यटन गतिविधिहरु ठप्प भएपछि हामी व्यवसायी समस्यामा परेका हौँ,’ तामाङले भनिन्, ‘अब यस्तै हो भने त उठिवास नै लाग्ला जस्तो छ। हामी व्यवसायीहरु कसरी माथि उठ्ने भन्ने चिन्ता छ। घर भाडा पनि तिर्न सकिएको छैन।’

पर्यटन व्यवसायीहरु आफ्नो व्यवसाय नै छोडेर अरु नै व्यवसायमा लाग्ने सोच बनाएको उनको भनाइ छ। ‘बाच्नु त प¥यो नि। अर्को व्यवसाय नगरेसम्म कसरी बाँच्नु। व्यवसाय त बचाउन नसकिएला जस्तो छ।’ तामाङले भनिन्।

सरकारले कोरोनाको खोप लगाएर भए पनि पर्यटनहरु आउने वातावरण बनाउनु पर्ने उनको भनाइ ।

 

 

 

 

 

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *