अछामको सरानीगाउँ पहिरोबाट बिस्थापित

डिसी नेपाल
२२ साउन २०७८ ५:१८

काठमाडौं। गायक संगीत स्रोताको गीत ‘हामी भयौं बेघरबार, चरी लैजा समाचार’ झैं अछामको सरानीगाउँ यतिबेला सहयोग र सुरक्षित बासस्थानको लागि राज्यको तीनै तहको सरकारसँग सहयोग मागिरहेको छ।

बिगत केही दिनयताको अबिरल वर्षाको कारण अछाम मेल्लेख गाउँपालिका वडा नम्वर–५ सरानीगाउँको माथिल्लो र तल्लो दुई भेगका ५४ भन्दा धेरै घरपरिवार पहिरोको उच्च जोखिममा परेर बिस्थापित भएका छन्।

स्थानीय युवा रमित खड्काका अनुसार तीन दिनदेखि परेको अत्याधिक वर्षाका कारण पहिरो र गाउँबस्तीको दुरी १० मिटर मात्र बाँकी छ। उद्धारमा केही ढिला हुने हो भने सबैगाउँ पहिरोमा परिणत हुने सम्भावना छ।

सरानीगाउँको दुई ओटा बस्ती तल्लो (क्षेत्री बस्ती) र माथिल्लो भेग (दलित बस्ती) नै उच्च जोखिममा रहेको सोही वडाका अध्यक्ष रमेश खड्काले जानकारी दिए। खड्काले भने, ‘अहिले खप्तड गुल्मको सशस्त्र प्रहरीबल, जिल्लाबाट आएको प्रहरी र स्थानीय युवाहरुको सहयोगमा दुबै भेगका सबैघर परिवारलाई नजिकैको सार्वजनिक विद्यालयमा स्थानान्तरण गरिएको छ।’

‘कैलालीको धनगढीबाट आएका आस्था र वाड नेपाल भन्ने गैरसरकारी संस्थाबाट प्रभावितको लागि त्रिपाल र केही खानेकुराको लिएर प्रभावित क्षेत्र आउँदै छ। वर्षातको समय भएकाले यातायातको सहज पहुँच छैन। त्यसकारण अबको ३ घण्टामा सामान आइपुग्ने जानकारी आएको छ। स्थानीय सरकारलेपनि उपलब्ध भएको खानेकुरा त्रिपालको व्यवस्था गरिराखेको छ। अपुग सामान सदरमुकामबाट ल्याइँदै छ,’ अध्यक्ष खड्काले भने।

सुदुरपश्चिमको बिकट जिल्ला र अधिकांश गरिब र विपन्न परिवार प्रभावित भएकाले यो विपतमा तीन वटै सरकारले सहयोग गर्नुपर्ने स्थायीयले बताए। स्थानीय युवा रमित खड्काकाले भने, ‘कोभिडको जोखिम कायमै रहेको अवस्थामा गाउँभरिका प्रभावितहरुलाई एउटै विद्यालयमा स्थानन्तरण गर्दा अर्को महामारीको स्थिति सृजना हुनसक्छ। त्यसकारण सरोकारबाला निकायको बेलैमा ध्यान चाँडो जाओस्।’

त्यतिमात्र हैन स्थानान्तरण गरेर राखिएको विद्यालयपनि पहिरोको जाखिमा नै छ। तर गाउँभन्दा अलिक सुरक्षित मानिएको हुनाले सो स्थानमा राखिएको हो, तर वर्षातको स्वरुप थप ठूलो भयो भने उक्त स्थानबाटपनि अर्को क्षति हुने सम्भावना रहेको रमित बताउँछन्।

गत वर्षको भदौ २ गते पनि अछामको रामारोशन गाउँपालिकामा पहिरोले कैलाशखोला नदी थुनिएर मध्य रातमा बाढीले रामारोशन गाउँपालिका–५ स्थित सैनीबजार बगाउँदा १७ जनाको ज्यान गएको थियो भने करोडौ मूल्यको भौतिक क्षति भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *