ललितपुर महानगरपालिकाद्वारा वृद्धवृद्धालाई घरघरमै खोपको व्यवस्था

डिसी नेपाल
३१ साउन २०७८ ११:४०

काठमाडौं । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले वृद्धवृद्धालाई खोपको प्राथमिकतामा राखि घरघरमै गएर कोरोनाविरुद्ध खोप लगाइदिने कार्यको थालनी गरेका छन्। उनले पछिल्लो समय ललितपुरवासीको घरघरमै गएर वृद्धवृद्धालाई कोरोनाविरुद्ध खोप लगाइदिने व्यवस्था गरिदिएका हुन्।

उनले उपत्यकामा बढ्दो कोरोना जोखिमको खतरालाई मध्यनजर गर्दै सो कार्यको थालनी गरेको बताए। उनका अनुसार वृद्धवृद्धालाई खोप केन्द्रसम्म जान असहज हुने भएकाले घरघरमै गएर खोप लगाइएको हो।

स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म नेपाललाई १ करोड ८ लाख ६० हजार १ सय ७० मात्रा खोप प्राप्त भएको छ भने ३ करोड ३६ लाख खोपको मात्रा आउने प्रक्रियामा रहेको छ।

त्यस्तै, हालसम्म ४५ लाख ७० हजार ५ सय ५३ जनाले पहिलो मात्राको खोप लगाएका छन भने २८ लाख ८८ हजार ३ सय ६९ जनाले पूर्ण मात्राको खोप लगाइसकेका छन् ।

त्यसैगरी, भेरोसेल खोप ९ लाख मात्रा, अस्ट्राजेनिका ११ लाख ५० हजार मात्रा र जोन्सन २१ हजार मात्रा गरी २० लाख ७१ हजार मात्रा खोप स्थानीय तहमा भण्डारमा रहेको छ भने केन्द्रीय भण्डारमा अस्ट्राजेनिका १ लाख ६१ हजार मात्रा र जोन्सन १२ हजार मात्रा गरी कूल १ लाख ७३ हजार मात्रा रहेको छ ।

हालसम्म नेपालमा पिसिआर र एन्टिजेन बिधिबाट कूल ७ लाख ९५ हजार ३ सय ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ, जसमा ६ लाख ७५ हजार कोरोना संक्रमणबाट निको भएका छन् । कोरोनाबाट १० हजार १ सय ८० जनाले ज्यान गुमाइसकेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *