इजरायल रोजगारीको हजार कोटामा झण्डै १० हजार युवाले भरे फारम

डिसी नेपाल
२ भदौ २०७८ १७:४४

काठमाडौं । रोजगारीका लागि इजरायल जान माग गरिएको एक हजार कोटामा करिब १० हजार युवाले फारम भरेका छन् । वैदेशिक रोजगार विभागका निर्देशक महेन्द्रनाथ भट्टराईका अनुसार तोकिएको अवधिभित्र परेका आवेदनमा ९ हजार ६ सय ९९ युवाले आवेदन दिएका हुन् ।

यो आवेदन इजरायलले पहिलो चरणमा दिएको माग कोटामा ७० प्रतिशत महिला र ३० प्रतिशत पुरुष गरी एक हजार केयरगिभरका लागि दक्ष श्रमिकको माग भएकोमा चार हजार दुई सय महिला र पाँच हजार ४९९ जना पुरुषको आवेदन परेको छ ।

वैदेशिक रोजगार विभागले गत साउन १२ गते एक हजार केयर गिभरका आवेदन माग गरेकोमा अन्तिम दिन सोमबारसम्म सो संख्यामा आवेदन परेको हो । शैक्षिक योग्यता, अनुभव तथा तालिमलगायतका प्रावधान रहेका कारण अपेक्षाअनुसार आवेदन नपरेको विभागको अनुमान छ ।

विभागले तोकिएको अवधि (भदौ १५ देखि २२ गतेसम्म)भित्र परेका आवेदनलाई भदौको दोस्रो हप्तासम्म स्वीकृत गरेर परीक्षा गर्ने तयारी गरेको छ । आवदेन भर्नेहरुको लिखित परीक्षाको मिति भने तय गरिसकेको छैन ।

साथै, विभागका अनुसार आवेदन स्वीकृति भएमा वा अस्वीकृति भएमा सो को जानकारी गराउने तथा आवेदन दिँदा व्यक्तिले अनलाइन सिस्टममा राखेको फोन नम्बर र इमेलमार्फत परीक्षा केन्द्र, परीक्षा समय तोक्ने निर्णय भएपछि आवेदकलाई जानकारी गराइने छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *