जसले कोरोनाको शवदेखि मान्छे भागाभाग गर्ने अवस्थालाई यहाँसम्म ल्याइपुर्‍याए – Dcnepal

जसले कोरोनाको शवदेखि मान्छे भागाभाग गर्ने अवस्थालाई यहाँसम्म ल्याइपुर्‍याए

काठमाडौं। पशुपतिनाथ मन्दिर परिसरमा रहेको विद्युतीय शवदाह गृहमा पछिल्लो समय कोरोना संक्रमणबाट मृत्यु भएकाहरुको शव मात्र जलाइँदै आइएको छ। काठमाडौं उपत्यका र काभ्रेलगायत उपत्यका आसपासका जिल्लाबाट संक्रमितको शव त्यहाँ ल्याउने गरिन्छ। हालसम्म सो विद्युतीय शवदाह गृहमा ४६ सयभन्दा बढी संक्रमितहरुको शव जलिसकेका छन्।

संक्रमणबाट मृत्यु भएकाको शव व्यवस्थापनको जिम्मेवारीलाई ग्रहण गरी अग्रपंक्तिमा रहेर काम गर्दै आएका विभिन्न निकाय र धेरै व्यक्तिमध्ये एक सुवास कार्की पनि हुन्। उनी पशुपति क्षेत्रको विद्युतीय शवदाह गृहका प्रमुख हुन्। उनले पशुपति क्षेत्र विकास कोषअन्तर्गत रहेर काम गरेको १३ वर्ष भयो। जसमा विद्युतीय शवदाह गृहको जिम्मेवारी लिएर काम गरेको ३ वर्ष भयो।

डिसी नेपालले तिनै शवदाह गृहका प्रमुख सुवाससँग कोरोना संक्रमितको शव र शवदाह गृहको सेरोफेरोमा रहेर गरेको कुराकानीलाई पस्केको छ। नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुन सुरु भएदेखि लगातार अहिलेसम्म सो विद्युतीय शवदाह गृहमा अग्रपंक्तिमा रहेर काम गरेका उनी उदयपुरका हुन्।

देशमा कोरोना संक्रमण फैलिएसँगै संक्रमणबाट मृत्यु हुनेहरुको शवको व्यवस्थापनको प्रमुख जिम्मेवारीमा बसेर काम गरेका उनी हालसम्म सोही क्षेत्रमा निरन्तर खटिइराखेका छन्। उनी शवगृहमा काम परेको खण्डमा जुनै बेला पनि अर्थात् २४सै घण्टा हाजिर हुने गर्छन्।

उनी भन्छन्, ‘पशुपति क्षेत्र विकास कोषमा मैले काम गरेको १२ पूरा पुगेर १३ वर्ष लाग्यो र विद्युतीय शव दाहगृहको प्रमुख भएर काम गरेको ३ वर्ष भयो । अहिले यहाँ १०–५ बजेसम्म बस्छु। तर परिआयो भने जतिबेला पनि तुरुन्तै आइपुगिहाल्छु।’

उनी पुनः भन्छन्, ‘मैले करिव ४६–४७ सय वटा कोरोनाको शव व्यवस्थापन गरिसकेँ। पहिला सय बढी शव आउँदा म २ घण्टाभन्दा बढी सुत्न पाउँदिन थिएँ। जिम्मेवारी लिइसकेपछि आफू स्वयम् बसेन भने अरु डराउने गर्छन्। आफूसँगै बस्यो भने ए उ पनि बसेको छ भनेर अरुलाई पनि काम गर्न डर हट्छ। सँगै बसेन भने कामै हुँदैन।’

उनका अनुसार विद्युतीय शवदाह गृहमा एउटा शव जल्न ४५ मिनेटको समय लाग्छ। २४ घण्टामा एउटा मेसिन २२ घण्टासम्म चल्ने गर्छ। हाल शवगृहमा ३ वटा इलेक्ट्रिकल मेसिन छन भने एउटा थप गरिँदैछ।

हाल भएका ३ वटा मेसिनमध्ये एउटा मेसिन भने छुट्टै सानो भवनमा रहेको छ। र, त्यो मेसिनमा इलेक्ट्रिसँगसँगै दाउरा पनि प्रयोग गरिन्छ। उनले एउटै चिम्नीबाट धुँवा जाने २ मेसिनहरुमा थप गरी अबको केही दिनमा ३ वटा हुने बताए।

उनी भन्छन्, ‘अहिले ३ वटा मेसिन छन्। जसमा एउटा छुट्टै मेसिन हाइब्रेड मेसिन (इलेक्ट्रिसहित दाउरा पनि प्रयोग हुने) हो, हुन त यो पनि इलेक्ट्रिक नै हो तर त्यसमा दाउरा पनि चाहिन्छ। दुई वटा मेसिन भएको ठाउँमा अर्को वा तेस्रो मेसिन पनि जडान हुँदैछ। इलेक्ट्रिमा २ वटा मेसिन पहिलेदेखि नै थियो, नयाँ जडान हुने काम भइराखेको छ र ती सबै मेसिनको धुँवा चाहीँ एउटै चिम्नीबाट जान्छ।’

कोरोनाको दोस्रो लहर फैलिएसँगै देशमा संक्रमितको शव व्यवस्थापनमा विकराल अवस्था आएको थियो। त्यसबेला धेरै शव एकैपटक पुग्ने गरेकाले शवगृहले नधानेर त्यही आसपास खोलाको छेउमा जलाइने गरिएको थियो।

सोही विषयलाई लिएर त्यति धेरै इलेक्ट्रिकल मेसिन हुँदा पनि किन संक्रमितको शव खोलाको डिलमा जलाउनु पर्ने अवस्था आएको भन्ने जिज्ञासामा उनी भन्छन्, ‘शव एकैचोटी धेरै आउँदा लाइन लगाएर राख्ने कुरा पनि भएन। पहिला एकपटकमै २०–३० वटा शव आउँथ्यो। त्यही भएर पनि खोलाको डिलमा जलाएका हौं। शव पालोपालो मेसिनमा हाल्ने गरिन्छ। एकैचोटी दुईवटै मेसिन चलाउन मिल्दैन। १०–१५ मिनेटको फरकमा शव मेसिनमा छिराइन्छ र एउटा शव जल्न ४५ मिनेट लाग्छ। २४ सै घण्टा चलाइसकेपछि त्यसलाई सामान्य मर्मतमा पनि हाल्नुपर्छ। त्यही भएर पहिला खोलामा शव जलाउनु परेको हो।’

उनका अनुसार खोलामा संक्रमितको शव जलाउने काम गत असार १ गतेबाट बन्द भएको हो। उनी अगाडि थप्छन्, ‘मेसिनेरी चिज हो, समस्या त भैहाल्छ। ११ सय डिग्री तापक्रम हुन्छ, आगोमा जलेको चिजलाई फोर्नु पर्‍याे र त्यो फोर्नलाई सेलाउनु पर्‍याे  मेसिन मर्मत गर्न ४–५ दिन लाग्छ सेलाएपछि त्यहाँ भित्र मान्छे छिरेर गर्नु पर्छ। प्राविधिक समस्या भइराख्छ, सामान्य मर्मत त प्राय गरि नै राख्नु पर्छ । त्यही भएर नयाँ तेस्रो मेसिन जडान गर्न लागेको हो।’

र्‍ यापिङसहितको शव मेसिनमा हालेकोले पनि मेसिनमा खराबी आएको उनी बताउँछन्। उनी भन्छन्, ‘अरुबेला शवलाई सेतो कपडाले ढाकेको मात्रै हुन्थ्यो तर कोभिडको बेला र्‍ यापिङैसहित अर्थात् जस्तो पठाएको छ त्यस्तै सर्लकै मेसिनमा जान्छ। त्यही भएर पनि बीचबीचमा मेसिनमा समस्या आइराख्छ। र्‍ यापिङ गरिएको प्लाष्टिक र अन्य कपडाले गर्दा पनि मेसिनमा कतैकतै जाम हुने समस्या आइराखेको छ।’

उनका अनुसार हाल उक्त शवदाह गृहमा ११ जना कर्मचारी २४ सै घण्टा खटिइराखेका छन्। तर, खोलामा शव जलाउनु परेको अवस्थामा भने त्यति कर्मचारीले नभ्याएर ज्यालादारीमा कामदार ल्याएर शव जलाउन लगाएको उनले सुनाए।

संक्रमणबाट मृत्यु भएकाको शव खोलामा जलाएको विषयलाई लिएर उनी भन्छन्, ‘खोलामा जलाउँदा मैले मान्छे हायर गरेर ल्याएको थिएँ। खोलामा जति शव जले ती सबै जलाउने प्रत्येक व्यक्तिलाई एउटा शवको १ हजार दिएर मैले विदाई गरिदिइसकेँ। त्यतिबेला बाहिर खोलामा जलाउदा २० जना मान्छे ल्याएका थियौं। उहाँहरुले लगाउने पिपिई आदि सबै हामीले दिन्थ्यौं। अहिले त हामी कर्मचारी मात्र छौं।’

सरकारले संक्रमणबाट मृत्यु भएकाको शव निःशुल्क रुपमा जलाउँदै आएको छ। शवका सम्बन्धित आफन्तहरुले शव जलाएवापत शव गृहलाई एक पैसा पनि बुझाउनु पर्दैन। तर एउटा शव जलाउन ५ हजारदेखि १८ हजारसम्म सरकारी खर्च हुने बताउँछन्, कार्की।

उनी भन्छन्, ‘एउटा शव हाइब्रेड मेसिनमा जलाउँदा करिब ८ हजार खर्च हुन्छ। इलेक्ट्रि मेसिनमा जलाउदा ५ हजार खर्च हुन्छ र खोलामा जलाउनु पर्यो भने १८ हजार खर्च हुन्छ। खोलामा जलाउँदा दाउरा, कपुर, घ्यु, ज्याला आदिले गर्दा खर्च बढी पर्छ।’

शवमा आगो लगाउने काम कुनै अप्ठ्यारो होइन तर जिम्मा लिएर गर्ने काम चुनौतीपूर्ण भएको बताउने उनी पछिल्लो समयमा भने सो कामप्रति निराशा लागेको सुनाउँछन्। उनी भन्छन्, ‘२४ सै घण्टा तयारी अवस्थामा रहेर काम गर्दा पनि खासै सम्मान नहुने रहेछ, उल्टै हेयको दृष्टिले हेर्ने गरिन्छ। त्यसरी खटिएर काम गर्दा केही चिजहरुको आश पनि हुँदो रहेछ । तर, दुःख गर्ने हामी यसको ब्याज खाने अरु नै भएपछि मलाई अहिले यो जागीर खाने इच्छा पनि छैन।’

उनी अगाडि थप्छन्, ‘मैले गुनासो गर्ने ठाउँ पनि छैन। कसलाई गएर गर्नु?, यो देशै यस्तो छ। सत्ता र आफ्नो भन्दा अरु कसैले सोच्नेवाल छैनन्। जनता सडकमा मर्ने राज्य अन्तैतिर लाग्ने। यति दुःख गरिसकेपछि त विकसित मुलुकमा भएको भए धेरै हौसला, सम्मान पाइने थियो। हामी त जागीरे हो, हामीलाई त्यो पनि चाहिएको हैन। तरपनि हाम्रो कामलाई इज्जत पनि दिइदैन् र घृणाको दृष्टिले हेर्ने गरिन्छ, त्यसमा चाहीँ दुःख लागेर आउँछ।’

विशेषत संक्रमितको शव जलाउने काम कठिन भएपनि आफूले सेवा हो भनेर गरेको उनी बताउँछन्। उनी भन्छन्, ‘यो विल्कुल जागीर होइन। एउटा सेवाको भावले मात्र गरेको हो। च्यालेन्जसहितको केस हामीले व्यवस्थापन गरेका छौं। तलब त मान्छेले घरमा सुतेर पनि खाएकै छन। हामी फ्रन्टलाइनमा बसेर शव सँगसँगै पेनकिलर खाएर काम गरिराखेका छौं। म आफै र साथीहरुलाई पेनकिलर खुवाएर यसरी गर भनेर काम लगाएको छु। सुरुसुरुमा सबै मान्छे भागाभाग गर्थे, त्यो अवस्थालाई मैले यहाँसम्म ल्याइपुर्याएको छ । अझै पनि बीचबीचमा यहाँ काम गर्ने हामी बिरामी हुन्छौ तरपनि औषधी खाँदै काम गर्छौं।’

कोरोना संक्रमित भएर २१ दिन अस्पताल बसेर पुनःकाममा फर्किँदा मान्छेहरुले धेरै नराम्रो व्यवहार गरेको गुनासो गर्दै उनले भने, ‘नेपालमा कोरोना संक्रमणको पहिलो लहर आउँदै म संक्रमित भएको थिए । गत वर्षको भदौमा कोभिड भएर अस्पताल बसेर निको भएर आउँदा मलाई मान्छेहरुले गरेको व्यवहारले गर्दा अहिले पनि दुःख लागेर आउँछ । त्यतिबेला म एउटा बेबारिसे जस्तो भए। त्यो मैले बिर्सेको छैन।’

सुरुमा कोरोना संक्रमण फैलिएसँगै उनी लगायतका टिमले पीपीई, मास्क, पन्जा आदि लगाएर काममा खटिने गरेको सुनाए। तर, अग्रपंक्तिमा खटिने अन्य साथी र आफूलाई कोरोना संक्रमण भएपछि भने अहिले आफूले मास्क मात्रै लगाउने गरेको उनले बताए।

कोरोना संक्रमणबाट मृत्यु भएकाहरुका आफन्त रुवाबासी, चित्कार, भित्र छिरेर दागबत्ती दिन नपाएको पीडा, अन्तिम पटक अनुहार हेर्न नपाएको पीडा आदि देख्दा आत्मा रुने गरेको बताउँदै उनी भन्छन्, ‘मैले चिनेका तथा आफन्त धेरै जनाको शव पनि यहाँ जलिसके। हुन त यस्तो मरन कसैको नहोस भन्छु म । किनकी यो पीडादायी छ। आफ्नो बुबा, आमा आदि मरेको हुन्छ तर मुख हेर्न, दागबत्ती दिन पाइँदैन, आफ्नो संस्कार गर्न पाइदैन । यस्तो चाहीँ नहोस तर के गर्नु?, हुने टर्दैन।’

कोरोना संक्रमणबाट मृत्यु भएकाहरुको शव आजसम्म नेपाल आर्मीले नै दाहसंस्कार गर्दै आएको छ। साथै, नेपाल सरकारले जारी गरेको पोर्टोकल अनुसार शवको व्यवस्थापनमा खटिएको उनको टिमलाई सबैभन्दा बढी साथ र सहयोग आर्मीले गरिराखेको छ।

उनी भन्छन्, ‘यहाँ केही समस्या पर्यो भने नेपाल आर्मीबाट ठूलो सहयोग भइराखेको छ। शव मेसिनसम्म ल्याइदिने काम मात्रै नभएर अन्य श्रमको काम परेको खण्डमा पनि उहाँहरुले धेरै सहयोग गर्नु भएको छ। पहिला पहिला चिता बनाउने, दाउरा बोक्ने ल्याउनेमा हाम्रो टिमले नभ्याएको बेलामा उहाँहरुले नै सहयोग गर्नु भएको थियो ।’

अन्ततः सम्बन्धित निकाय, राज्य, नागरिक कोहीबाट पनि धापसमेत नभएका उनी पछिल्लो समय भने सो कामप्रति दिक्क लागेको बताउँछन्। सानो ठूलो जुनसुकै कामलाई पनि सम्मान गर्नुपर्ने सोच राख्ने उनी आउँदो दशैं पछाडि भने उक्त काम छोड्ने मनस्थितिमा रहेका छन्।

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो