कोरोना कहर : पर्यटन श्रमिककाे अवस्था ‘दयनीय’

फुर्पा शेर्पा
४ भदौ २०७८ १०:१६

काठमाडौं। कोरोनाका कारण लामो समयदेखि नेपालको पर्यटन बजार सुनसान छ। कोरोनाको पहिलो लहर नेपाल भित्रिएसँगै देशमा बन्दाबन्दीका कारण सबैको गरिखाने व्यापार व्यवसायको अवस्था दयनीय भएको छ। उक्त बन्दाबन्दीपछि अहिलेसम्म पनि नेपालको पर्यटन बजार शून्य अवस्थाबाट माथि उठ्न सकेको छैन।

कोरोनाका कारण सबैभन्दा बढी प्रभावित हुने क्षेत्रमध्ये पर्यटन पनि एक हो। कोरोनाका कारण अरु क्षेत्रभन्दा पर्यटन क्षेत्र अत्याधिक मर्कामा परेको पर्यटन व्यवसायी तथा श्रमिकहरुको भनाइ छ।

२०४५ सालमा र्याफ्टिङ क्षेत्रबाट पर्यटनमा प्रवेश गरेका सुनसरीका कुन्दन क्षेत्री केही वर्ष र्याफ्टिङमा काम गरेपछि ट्रेकिङ गर्न थाले। त्यसरी दुईतर्फी काम गर्दा उनी बढी नै व्यस्त हुने गर्थे। उनका अनुसार सुरुमा र्‍ याफ्टिङ अहिले भन्दा धेरै नै चल्ने गथ्र्यो र र्‍ याफ्टिङबाट फुर्सद हुनासाथ उनी ट्रेकिङको काम पनि गर्थे।

३० वर्षभन्दा लामो समय पर्यटन श्रमिकको रुपमा समय बिताएका क्षेत्रीले यस्तो संकटपूर्ण विषम परिस्थितिको भोगाई जीवनको कुनैपनि कालखण्डमा भोग्नु नपरेको बताउँदै उनी भन्छन्, ‘मान्छेको जीवनमा अब यस्तो दयनीय अवस्था नहोस्। ट्रेकिङ र र्‍ याफ्टिङ अलि फरक समयमा चल्ने भएकाले दुबै तिर काम गर्दा अलि बढी व्यस्त हुने गर्थे तर अहिले र्याफ्टिङले मात्र त बाँच्न पनि गाह्रो भएको छ।’ उनका अनुसार र्‍ याफ्टिङ भने पनि फाट्फुट् चल्ने गर्छ।

१३ वर्षको कलिलो उमेरबाटै पर्यटकको भारी बोक्दै पर्यटन क्षेत्रमा प्रवेश गरेका विपिन राईको पनि आफ्नै दुखेसो छ। उनी संखुवासभाका हुन्। पर्यटकको भारी बोक्दै पर्यटन श्रमिकको यात्रा सुरु गरेका विपिन २०७२ सालबाट भने पदयात्रा पथप्रदर्शक (ट्रेकिङ गाइड) भएका हुन्।

हाल उनी जापनिज भाषाका पदयात्रा पथप्रदर्शक हुन्। विपिनले ट्रेकिङ गैर जापनिज पर्यटकसँग पनि काम गरेका छन्। आफुले काम गर्न थालेको केही वर्षपछि आएको भूकम्पले भन्दा पनि कोरोनाको कारण जटिल परिस्थिति सिर्जना भएको विपिन बताउँछन्। उनका अनुसार विगत २ वर्षदेखि कामविहिन हुँदा आजभोलि दैनिक जिविका चलाउन समेत निकै गाह्रो भएको छ।

त्यस्तै, योगा, टुर र ट्रेकिङ गाइडसमेत गर्ने किरण तिम्सिना नुवाकोटका हुन्। उनी कोरोना संक्रमणका कारण दैनिक जिविका जलाउन गाह्रो भएको गुनासो गर्छन्। अर्का युवा प्रकाश अधिकारी, २०७० सालबाट पदयात्राबाट पर्यटन क्षेत्रमा भित्रिएका रसुवाका हुन्। २०७२ सालको भूकम्पले नेपालको पर्यटन तहसनहस पार्दा केहि महिना काम गर्न नपाएपछि उनी विरक्तिएको बताउँछन्।

उनी भन्छन्, ‘तर भूकम्पले नेपालको भौतिक र प्राकृतिक संरचनालाई मात्र असर गरेकोले पर्यटन क्षेत्र चाँडै नै लयमा फर्किएको थियो। पर्यटन क्षेत्रमा काम गर्न सुरु गरेपछि पहिलो पटक यति लामो समय रोजगारविहिन भएर बस्नु परेको छ।’

उनी अगाडि थप्छन्, ‘काठमाडौंमा भाडा तिरेर बस्न सक्ने अवस्था कसैको छैन, आफूसँगै काम गरेका अधिकांश साथीहरु गाउँ फर्किसकेका छन्। केहीको भने बच्चा पढाउनका लागि भएपनि ऋण काढेर काठमाडौं बस्नुपर्ने बाध्यता छ, त्यसमा म पनि पर्छु।’

काम गरेर पैसा कमाउन विदेश नै नगई हुँदैन भन्ने भनाइ वा चलनलाई नकार्दै आफ्नै देशमा कर्म गरेका रामकाजी प्रयासले २०६३ सालबाट पर्यटन श्रमिकको भूमिका निर्वाह गर्न थालेका हुन्। सोलुखुम्बुको लुक्लाबाट पर्यटकको भारी बोक्न सुरु गरेका प्रयास तल्लो सोलुखुम्बुको सोताङ्गमा जन्मिएका हुन्।

२०६३ सालदेखि २०६८ सालसम्म सोलुखुम्बुको लुक्लाबाट काम गरेका प्रयास २०६८ सालमा काठमाडांैमा विभिन्न तालिमहरु गर्दै नेपाल माउन्टेनका लिडर र गाइड भए। काठमाडौं आएलगतै श्रमिक शिक्षाका लागि श्रमिक संगठनमा जोडिएका प्रयास अहिले नेपाल स्वतन्त्र पर्यटन श्रमिक संघ (निटोग)को संस्थापक अध्यक्ष समेत हुन्।

लामो समयदेखि काम नभएका कारण स्वयम् आफै २ वर्षदेखि घरसमेत जान नसकेको प्रयास बताउँछन्। यस्तो समस्यामा आफु मात्र नभइ आम पर्यटन श्रमिकहरु परेको बताउँदै उनी भन्छन्, ‘सरकारले पर्यटन श्रमिकहरुलाई नेपाली नागरिकको रुपमा समेत हेरेको छैन।’

दैनिक गुजारालगायत पीडामा रहेका उनै पर्यटन क्षेत्रका व्यवसायीहरु कोरोना महामारीको कारण लामो समयदेखि ठप्प रहेको पर्यटन क्षेत्र स्वास्थ्य मापदण्ड प्रयोग गरेर खोल्न नसक्दा आम पर्यटन श्रमिकहरु विस्थापित हुनपर्ने अवस्था आएको बताउँछन्।

उनीहरुका अनुसार कोरोनाको दोस्रो लहर अलि कम भएपछि दक्षिणका माल्दिभ्स, श्रीलंका जस्ता देशले स्वास्थ्य मापदण्ड प्रयोग गरेर खुल्ला पर्यटन नीति अपनाएका थिए। जसको कारण त्यहाँको पर्यटन बजारले गति लिएको थियो भने श्रमिकहरुको जनजिवन पनि सहज भएको थियो।

पर्यटन व्यवसायीहरु पर्यटन श्रमिकहरुको जनजिवन सहज पार्न नियमित उडान, खोपको मात्रा पूरा गरेका र कोरोना परिक्षणको नकरात्मक प्रतिवेदन भएका पर्यटकहरुलाई अनिवार्य क्वारेनटाइन बस्नु पर्ने व्यवस्था हटाए नेपालको पर्यटन सहज बनाउनु पर्ने सुझाउँछन्। नेपालको पर्यटन सहज हुनेवित्तिकै श्रमिक जनजिविकामा सहजता आउने निटोगका अध्यक्ष प्रयास समेत बताउँछन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *