मनपरी भाडा असुल्दै हुम्लाका सार्वजनिक सवारी

डिसी नेपाल
४ भदौ २०७८ १५:००

सिमकाेट । हुम्लाको सदरमुकाम सिमकोटदेखि आसपास क्षेत्रका गाउँसम्म सञ्चालन हुँदै आएका सार्वजनिक सवारीले मनपरी भाडा लिने गरेको छ।

सिमकोटदेखि खार्पुसम्म जम्मा ११ किलोमिटर दूरीमा यहाँका जीप तथा बोलेरो जीप चालकले रु ५०० सम्म भाडा लिन थालेको स्थानीयवासी कुम्मेर हमालले गुनासो गरे। लकडाउनअघि रु ३५० भाडा लिएको ठाउँमा अहिले रु ५०० सम्म लिन थालेका छन्। तोकेको भाडा नदिए चालकले लैजान नमान्ने गरेको हमालको गुनासो छ।

सदरमुकामलाई राष्ट्रिय सडक सञ्जालले नछोएको भए पनि सिमकोटदेखि अन्तरपालिकासम्म सञ्चालन हुँदै आएका छोटो दूरीका यातायातले मनपरीरुपमा यात्रुबाट भाडा लिन थालेका छन्। व्यवसायीले आफूहरूलाई टिकटसमेत नदिने गरेको यात्रुले बताएका छन्। “मनपरी भाडा असुल्नेलाई कसैले कारबाही गर्दैन, जसलाई जति मन लाग्यो, त्यति भाडा असुल्दा भएकै छ”, हमालले भने।

गाडी चालकले कोरोना सङ्क्रमणबाट बच्ने कुनै उपाय प्रयोग गरेको देखिँदैन, सिटभन्दा बढी यात्रु बोकेर हिँड्ने गरेका कारण कोरोना फैलिने डर निकै बढेको छ। जीप चालकले यात्रुबाट बढी भाडा लिने गरेका विषयमा अनुगमनसमेत नभएको पाइन्छ। सदरमुकाम सिमकोट मात्रै ट्राफिक प्रहरीले जाँचमा कडाइ गरेको भए पनि सदरमुकाम बाहिर सम्बन्धित निकायबाट अनुगमन नहुनुले यात्रुलाई थप समस्या निम्त्याएको छ। भाडा बढी लिएका विषयमा सम्बन्धित सरोकारवाला निकायले कुनै चासो नराखेको हमालले गुनासो गरे।रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *