बुद्ध एयरद्वारा पोखरादेखि सिमरा सिधा उडान

डिसी नेपाल
४ भदौ २०७८ २१:०५

काठमाडौं । बुद्ध एयरले काठमाडौं बाहेक पोखराबाट देशको विभिन्न प्रदेशहरुसँग सिधा उडान सुरु गरेको छ । यसअघि नै एयरले पोखराबाट भैरहवा र भरतपुर सिधा उडान विस्तार गरेको थियो। केही साता अगाडि नेपालगञ्जलाई पनि पोखरासँग सिधा उडानबाट जोडेको थियो ।

आगामी १ सेप्टेम्बर(भदौ १६ गते)बाट बुद्ध एयरले पोखराबाट सिमराको सिधा उडान भर्ने तालिका सार्वजनिक गरेको छ । सुरुवातमा साताको ३ दिन(आईतबार, बुधबार र शुक्रबार) उडान भर्ने जनाइएको छ ।

केही समयपछि यात्रुको माग अनुसार बुद्ध एयरले दैनिकी उडान भर्ने पनि योजना बनाएको छ । पोखराबाट–सिमरा १२ः२० र सिमराबाट–पोखराको उडान १३ः१५ बजे तोकिएको छ । यस उडानबाट दुबै प्रदेश तथा शहरका जनता लभान्वित हुनेछन् । यसबाट यी दुबै ठाउँको पर्यटकीय स्थलमा पनि चहलपहल बढ्ने बुद्ध एयरका बजार निर्देशक रुपेश जोशीले बताए ।

उनका अनुसार सिमरा, वीरगञ्ज वरिपरि रहेका विभिन्न धार्मिक तथा पर्यटकीय गन्तव्यहरुमा चहलपहल बढ्नेछन् । सिमरा र वीरगञ्ज देशकै ठूलो औद्योगिक करिडोर भएकोले व्यापारिक गतिविधिमा पनि सहयोग पुग्ने बुद्ध एयरको विश्वास रहेको छ ।

सिमरा, वीरगञ्जका बासिन्दा पनि पर्यटकीय शहर पोखरा तथा वरिपरि रहेका तालतलाउ तथा हिम श्रृंखलाको आनन्द लिन सक्छन् । यस उडानबाट वीरगञ्ज नजिक रहेका भारतीय शहरहरु पटना, दरभंगा, मजफ्फरपुर आदि गन्तव्यका पर्यटकहरु पनि आकर्षित हुने बुद्ध एयरले विज्ञप्तिमा जनाएको छ ।

बुद्ध एयरको भगिनी संस्था बुद्ध होलिडेजले यी दुवै गन्तव्यका लागि आकर्षक होलिडी प्याकेजहरु पनि ल्याएको छ । सिमरा–पोखरा प्याकेजका लागि १० हजार ९ सय ९९ मा २ रात ३ दिनको प्याकेज, जसमा दुईतर्फि हवाई टिकट, पोखरा एयरपोर्टबाट होटल तथा होटलबाट पोखरा एयरपोर्ट गाडी सुविधा, वातानुकुलित ट्वीन शेयरिङ रुम र बिहानको ब्रेकफास्ट संलग्न रहेको छ ।

त्यसैगरी, बुद्ध एयरले संक्रमणरहित उडानका लागि प्रतिवद्ध भएको जनाएको छ । कम्पनीले सुरुकै दिनदेखि ‘कोभिडविरुद्ध सुरक्षा निर्देशिका’, जनशक्तिलाई तालिम, पिपिई प्रदान, बिमा र त्यसै अनुरुपको हवाईसेवालाई पछ्याईरहेको छ ।

बुद्ध एयरसँग ७२ सिटे एटीआर–७२ जहाज १० वटा, ४२ सिटे एटीआर–४२ जहाज ३ वटा र दुईवटा बीचक्राफ्ट जहाहरु रहेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *