एक साताभित्र तीन ठूला सडक दुर्घटना: वर्षायामको यात्रा असुरक्षित बन्दै, दैलेखका बेपत्ताको खोजी अझै अनिश्चित

डिसी नेपाल
२२ असार २०८३ १०:३४

काठमाडाैं। देशका विभिन्न जिल्लामा एक साताभित्र भएका तीनवटा ठूला सडक दुर्घटनाले नेपालको सडक सुरक्षा र यात्रा संवेदनशीलताप्रति फेरि एकपटक गम्भीर प्रश्न खडा गरिदिएको छ।

विशेषगरी दैलेखको कर्णाली राजमार्गमा भएको यात्रुवाहक फोर्स गाडी दुर्घटनामा बेपत्ता भएका यात्रुहरूको खोजी कार्य पाँच दिन बितिसक्दा पनि सफल हुन सकेको छैन।

असार १८ गते बिहान करिब ११ः३० बजे सुर्खेतबाट कालीकोटतर्फ जाँदै गरेको क.प्र.०२-००१ ख १०५५ नम्बरको गाडी सडकबाट करिब चार सय मिटर तल खसेर कर्णाली नदीमा डुबेको थियो। उक्त दुर्घटनामा एक जनाको मृत्यु भएको पुष्टि भइसकेको छ भने पारिवारिक स्रोतका अनुसार अझै पाँच जना यात्रु नदीमा बेपत्ता छन्।

दैलेखका प्रमुख जिल्ला अधिकारी आनन्द सारुका अनुसार कर्णाली नदीमा पानीको बहाव अत्यधिक र तीव्र भएकाले खोजी कार्य निकै चुनौतीपूर्ण बनेको छ। नदीमा गाडी वा यात्रु अड्किन सक्ने कुनै निश्चित स्थान फेला नपरेकाले उद्धार टोलीले ठूलो कठिनाइ भोग्नुपरेको छ।

बेपत्ताहरूको खोजीका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना तथा स्थानीयवासीको संयुक्त टोली निरन्तर परिचालित छ भने सशस्त्र प्रहरी बलका ६ जना तालिमप्राप्त गोताखोरलाई समेत नदीमा उतारिएको छ।

कर्णालीको यो दर्दनाक दुर्घटनाको केही दिनमै देशका अन्य दुई ठाउँमा पनि ठूला दुर्घटना भए। असार २१ गते आइतबार डोल्पा जिल्लामा एउटा बोलेरो जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भयो भने ११ जना घाइते भए।

डोल्पाकी प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालका अनुसार घाइतेहरूलाई थप उपचारका लागि जुम्ला अस्पताल पठाइएको छ।

यसैगरी, सुदूरपश्चिमको बैतडीमा पनि यात्रुवाहक बस दुर्घटना हुँदा १७ जना यात्रु घाइते भएका छन्। वर्षायाम सुरु भएसँगै लगातार भइरहेका यी सडक दुर्घटनाले आगामी दिनमा यात्रा सुरक्षाप्रति थप सतर्कता अपनाउनुपर्ने टड्कारो आवश्यकता देखाएको छ।

बढ्दो सडक दुर्घटनाका कारण र न्यूनीकरणका उपायबारे काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता तथा सूचना अधिकारी नरेशराज सुवेदीले वर्षायाममा सडक चिप्लिने, पहिरो जाने, सडक भासिने तथा खराब मौसमका कारण कम देखिने (भिजिविलिटी कमजोर हुने) भएकाले दुर्घटनाको जोखिम उच्च हुने बताएका छन्।

उनले सवारी चालकहरूलाई यात्रा सुरु गर्नुअघि गाडीको ब्रेक, टायर, स्टेयरिङ र लाइटलगायत सम्पूर्ण यान्त्रिक अवस्थाको अनिवार्य परीक्षण गर्न आग्रह गर्नुभएको छ। मौसम र सडकको अवस्था बुझेर मात्र सवारी साधन चलाएमा बर्खायाममा हुने अधिकांश दुर्घटना न्यूनीकरण गर्न सकिने उनको भनाइ छ।

यस्ता गम्भीर दुर्घटनाहरूलाई लिएर संसद्मा बेलाबेला आवाज उठ्ने गरे पनि सरकारले तत्काल चाल्नुपर्ने कदम र सडक सुधारका काममा अझै ठोस चासो नदेखाएको भन्दै सर्वसाधारणमा आक्रोश बढ्न थालेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *