एमाले र जसपा फुटाएको कांग्रेस आफैँ गुट र उपगुटमा – Dcnepal

एमाले र जसपा फुटाएको कांग्रेस आफैँ गुट र उपगुटमा

नेपाली कांग्रेसले संवैधानिक व्यवस्था अनुसार आफ्नो पार्टीको महाधिवेशन गराउन नसक्ने हो कि भन्ने सर्वत्र चिन्ता गर्न थालिएको छ । पार्टीले विभिन्न काम गर्न बनाएको समितिहरुको रबैया हेर्दा वा पार्टीले गर्नुपर्ने सानातिना निर्णयहरु समेत किस्तामा गर्ने प्रचलनले गर्दा कांग्रेस पार्टीभित्र सैद्धान्तिक बहस बढी हुन्छ कि गुटको चर्चा बढी हुन्छ भन्ने प्रश्न उठन थालेको छ ।

१४ औँ महाधिवेशनको मुखमा आएको नेपाली कांग्रेस भित्र धर्म निरपेक्षता कि धार्मिक स्वतन्त्रता भन्ने विषयमा एक मत भएको देखिदैन । पार्टी भित्रै राज्य संचालनको शासकीय स्वरुपको बारेमा अझै एकमत हुन सकेका छैनन् । महामन्त्री शशांक कोइराला नेपाली कांग्रेस सत्तामा पुगे धर्मको लागि जनमत संग्रह गराउने भन्दैछन् । पार्टीका उपसभापति बिमलेन्द्र निधी धर्म निरपेक्षतालाई बटमलाइनको रुपमा व्याख्या गरिरहेका छन् । कांग्रेस भित्र संवैधानिक राजतन्त्रको कुरा चलाउनेहरुले कोठेबार्ता शुरु गरिसकेका छन् भने कार्यकारी प्रधानमन्त्रीको कुरा चलाउनेहरु पनि प्रशस्त भेटिन थालेका छन् । यो बहस हेर्दा नेपाली कांग्रेसको १४ औँ महाधिवेशनले कांग्रेसको शैद्धान्तिक चिन्तनमै प्रहार गर्ने देखिएको छ ।

एकातर्फ कांग्रेस भित्र शैद्धान्तिक बहस चल्नेबाला छ भने अर्को तर्फ पार्टीको विधानले र नेपालको संविधानले व्यवस्था गरेको टाइमफ्रेमलाई समेत अनुशरण गर्न सकिरहेको छैन । यसले नेपाली कांग्रेस पार्टी भगवान भरोसा चलिरहेको छ त ? भन्ने दिन आउँदैछ । हुनतः अरु राजनीतिक पार्टीको हविगत हेर्दा नेपाली कांग्रेसलाई टुटफुटबाट इज्जत बचाएको छ । तर टुटफुट नभएर के भो गुट उपगुट त अरुभन्दा कम छैन पनि भन्ने गरिएको छ ।

नेपाली कांग्रेसले आफ्नो विधान र नेपालको संविधानको मर्यादा राख्न भदौ १८ देखि पार्टीको महाधिवेशनको शुरुवात गर्दैछ । संविधानत कांग्रेसले २०७८ भदौ २३सम्ममा महाधिवेशन गरेर नयाँ कार्यसमिति बनाइसक्नु पर्ने हो । पार्टीको विधानले नै प्रत्येक चार चार बर्षमा महाधिवेशन हुनुपर्ने भनेको छ । महाधिवेशनको मिति पटक पटक परिवर्तन गरिरहेको नेपाली कांग्रेसले पछिल्लो पटक जारी गरेको सूचनालाई विश्वास गर्ने हो भने यसले मंसिर १३ सम्ममा महाधिवेशन पुरा गर्ने जनाएको छ । पटक पटक परिवर्तन भएको समय तालिका यो पटक पनि परिवर्तन हुँदैन भन्ने के ग्यारेन्टी भन्नेहरुको कमी छैन ।

नेपाली कांग्रेसमा पद पाउनका लागि लुछाचुँडी गर्नेहरु एक अर्काको विरोध गर्न त माहिर नै छन् तर दिएको काम समयमा पुरा गर्दैनन् भन्ने आम धारणा बनिसकेको छ । यसको पछिल्लो उदाहरण १४ औं महाधिवेशनका लागि निर्वाचन निर्देशिका बनाउन होस या क्रियाशिल सदस्यको विवाद सुल्झाउन होस परिचित नेताहरुलाई राखेर समिति बनाएको थियो । उक्त समितिले पनि समयमा रिपोर्ट बुझाउन सकेको छैन । अरुलाई समयमा गरेन भन्नेहरु नै उक्त समितिमा रहेका छन्, जसले आफैले समयमा काम गरेका छैनन् । कतै समय तन्काउने र पार्टी सभापति शेरबहादुर देउवालाई झन झन अप्ठेरोमा पार्ने भन्ने रणनीति त हैन ?

समय तोकेर पाएको जिम्मेवारी आफूले पुरा नगर्ने तर पार्टीका नेतृत्व बर्गलाई अप्ठेरोमा पार्ने गरी अभिव्यक्ति दिंदा समग्रमा घाटा हुने भनेको नेपाली कांग्रेसलाई नै हो भन्ने कुरा कांग्रेसका नेता रामचन्द्र पौडेल, मिनेन्द्र रिजाल लगायतले बुझेकै होलान । रामचन्द्र पौडेलले सार्वजनिक रुपमा नै भदौ २४ पछि शेरबहादुर देउवालाई पार्टी सभापति मान्दैनो भनेका थिए । उनको यो अभिव्यक्तिले कांग्रेसको सभापति शेरबहादुर देउवा भएकोमा भित्र भित्रै कत्तिको क्रोध रहेछ भन्ने व्याख्या गरिराख्नु नै पर्दैन ।

समय तोकेर पाएको जिम्मेवारी आफूले पुरा नगर्ने तर पार्टीका नेतृत्व बर्गलाई अप्ठेरोमा पार्ने गरी अभिव्यक्ति दिंदा समग्रमा घाटा हुने भनेको नेपाली कांग्रेसलाई नै हो भन्ने कुरा कांग्रेसका नेता रामचन्द्र पौडेल, मिनेन्द्र रिजाल लगायतले बुझेकै होलान । रामचन्द्र पौडेलले सार्वजनिक रुपमा नै भदौ २४ पछि शेरबहादुर देउवालाई पार्टी सभापति मान्दैनो भनेका थिए । उनको यो अभिव्यक्तिले कांग्रेसको सभापति शेरबहादुर देउवा भएकोमा भित्र भित्रै कत्तिको क्रोध रहेछ भन्ने व्याख्या गरिराख्नु नै पर्दैन । कुनैपनि पार्टीमा सक्रिय सदस्य जति बढी भयो उती पार्टीलाई राम्रो हुन्छ यो सामान्य सिद्धान्त हो । तर सक्रिय सदस्य बढेकोमा आत्तिनुपर्ने गरी अभिव्यक्ति दिने रामचन्द्र पौडेल र उनका समर्थकहरुले किन कचिङ्गल गरेका होलान भन्ने राजनीतिमा चाँसो लिनेहरुले बुझेकै छन् । आफू संगठन गर्न अग्रसर पनि नहुने र अरुले गाउँघरमा गएर संगठन गरेर घर घरमा गएर सक्रिय सदस्य भरेकाहरुको काठमाडौंको महलमा बसेर विरोध गर्नु सामन्ती प्रबृत्ति हो कि ? सांगठनिक प्रबृत्ति ?

नेपाली कांग्रेसका कार्यकर्ताहरुले नै यसको उत्तर नेताहरुसंग माग्नु पर्ने बेला आएको छैन र ? नेताहरुले पार्टीको वडा तहहुँदै गाउँपालिका, नगरपालिका, जिल्लाका संघीय तथा प्रदेश स्तरी क्षेत्र, प्रदेश हुँदै केन्द्रसम्म सिफारिस भएर आएको नामावलीहरुमा जिल्ला तहमै विवादको किनारा लगाउन अग्रसर हुनु पर्नेमा महाधिवेशनको मिति तोकिसकेको अवस्थामा आएर सक्रिय सदस्यता वितरण नै बखेडा झिक्नु कत्तिको सान्दर्भिक छ ? राजनीतिमा जे पनि सान्दर्भिक हुन्छ । सकेसम्म विपक्षीलाई सही कुरामा समेत पेल्न र अप्ठेरोमा पार्न पाए आफ्नो गुट बलियो हुन्छ भन्ने परम्परागत मान्यतामै रामचन्द्र पौडेल र उनका अनुयायीहरु हिडनु भएको हो भने कसले के नै सुझाव दिन सक्छ र ? तर, समयमा पार्टीको महाधिवेशन गराउने दायित्व जति शेरबहादुर देउवाको छ त्यसकै हाराहारीमा रामचन्द्र पौडेलको पनि छ । किनकी उनी १३ महाधिवेशनमा शेरबहादुर देउवासंग हार्नु भएको अध्यक्षको उम्मेदवार हो ।

जेमा पनि भाग खोज्ने प्रबृत्ति पछिल्लो समयमा क्रियाशिल सदस्यताको विवाद समाधान गर्न बनाइएको तीन जनाको समितिको नामावली हेर्दा थाहा पाइन्छ । कृष्ण प्रसाद सिटौला, डा. मिनेन्द्र रिजाल र रमेश लेखक समेत तीन जनाको समिति बनाइएको छ । प्रष्ट छ सिटौलाको आफ्नै गुट छ । डा. रिजाल रामचन्द्र पौडेलले दिएको नाम हो भने लेखक देउवाको प्रतिनिधि भए । तीन टिकट महाविकट भने जस्तै भएको छ कांग्रेसका लागि यो समिति । जसले भदौ २ गते भित्र क्रियाशिल सदस्यताको समस्या समाधान गरेर भदौ ३ गते शेरबहादुर देउवाले बुझाउने भनेको थियो । तर खोई ? अब के बाँकी छ त ? यो समितिले जसोतसो विवाद समाधान भयो भनेर बुझाउला रे ? तर के नेपाली कांग्रेसको पार्टी कार्यालयमा अनशनमा बसेकाहरुले अक्षरस त्यसलाई स्वीकार गर्लान त ? वा यस अघि रहेको छानविन समितिलाई गौशालामा नै अभद्र व्यवहार गर्नेहरुले त्यसलाई स्वीकार गर्लान त ? मह काड्नेले हात चाट्छ भने जस्तै काम गर्नेले वा संगठन गर्नेले आफ्नो नजिकका एक दुईलाई त सक्रिय सदस्यमा घुसाई नै हाल्छन् ।

पार्टीको सक्रिय सदस्य बढेकोमा झन खुसी हुनुपर्नेमा त्रसित भएको देख्दा सबै नेताहरु कसरी अरुलाई हटाएर पार्टीको पद हत्याउने भन्नेमा अग्रसर देखिएको पुष्टी हुँदैन र ? क्रियाशिल बढेकोमा डर हुनेहरुले माधवकुमार नेपालले जस्तै एउटा पार्टी खोले बाटो त खुल्ला भएकै छ । कुनै खर्च व्यहोर्ने बाहिरी शक्तिले उकास्यो भने नेपाली कांग्रेसभित्र पनि फुट हुन सक्ने सम्भावना देखिएको चर्चा राजनीतिक बजारमा त्यसै चलेको होइन ?

पार्टीको सक्रिय सदस्य बढेकोमा झन खुसी हुनुपर्नेमा त्रसित भएको देख्दा सबै नेताहरु कसरी अरुलाई हटाएर पार्टीको पद हत्याउने भन्नेमा अग्रसर देखिएको पुष्टी हुँदैन र ? क्रियाशिल बढेकोमा डर हुनेहरुले माधवकुमार नेपालले जस्तै एउटा पार्टी खोले बाटो त खुल्ला भएकै छ । कुनै खर्च व्यहोर्ने बाहिरी शक्तिले उकास्यो भने नेपाली कांग्रेसभित्र पनि फुट हुन सक्ने सम्भावना देखिएको चर्चा राजनीतिक बजारमा त्यसै चलेको होइन ?

राष्ट्रपतिको अफर आएपछि रामचन्द्र पौडेलको प्रचण्डसँग एकताका हेमचेम बढेको देख्नेहरुले हिजो आज केपी ओलीले रामचन्द्र पौडेल पार्टी फुटाएर आए प्रधानमन्त्री बनाउँछु भने भनेर उनको दौड ओलीतर्फ पनि उन्मूख हुन सक्छ भन्ने अड्कल काट्नेहरु बजारमा धेरै भइसकेका छन् । नेपाली कांग्रेस भित्रै दुबै गुटको साझा व्यक्तित्व भएर बसेका रामचन्द्र पौडेललाई राष्ट्रपतिका रुपमा चर्चा गर्न सकिन्छ । तर राष्ट्रपति विद्यादेवी भण्डारी नै नेपालको अन्तिम राष्ट्रपछि हुन सक्ने चर्चाले भने रामचन्द्र पौडेलले कुनै पनि विकल्प अउनाउन सक्ने सम्भावना देखिन्छ ।

शेरबहादुर देउवाले एक महिना वितिसक्दा पनि मन्त्रीपरिषदलाई पूर्णता दिन सकिरहेका छैनन् । प्रचण्ड, उपेन्द्र यादव र माधवकुमार नेपालको व्यक्तिगत स्वार्थका कारण ती पार्टीहरुले मंत्रीको नाम नदिए पनि आफ्नो भागवण्डा खोजीरहेका रामचन्द्र पौडेलले कसलाई कुन मन्त्रालयमा सिफारिस गरेका छन् त ? कि पौडेललाई पनि आफ्नो कोटामा कसलाई पठाउने भनेर समस्या भएको छ ?

पार्टीको महाधिवेशनका लागि निर्वाचन निर्देशिका बनाउन जिम्मेवारी लिएकाहरुले त काम पुरा गर्न भ्याएका छैनन् । निर्देशिकाको काम पुरा भएको तर छाप्न बाँकी छ भनेर समय सिमामा नबुझाएको तर्क कत्तिको उपयुक्त छ ? पहिले बुझाउने र पछि छाप्दै गर्दा के हुन्थ्यो ? छाप्ने काम त कार्यालयले गरिहाल्छ नि ? समितिले नै छापेर पार्टी सभापतिलाई बुझाउने भए त्यसमा फेरी विवाद आएमा के गर्ने ? हामीले गरेपछि हाम्रो काममा प्रश्न उठाउने को भन्ने सोचाई उनीहरुको होला । तर यहाँ प्रक्रियामा प्रश्न उठाउने ठाउँभने छ । यो समयमा नबुझाएर भित्रका व्यहोराहरुमा कसैलाई सहज र कसैलाई अप्ठेरो पार्ने रणनीति त हैन भन्ने प्रश्न उठ्न सक्छ । जसको नेतृत्वमा निर्वाचन निर्देशिका बनाउने समिति बनेको छ उनी आफै पनि शेर बहादुर देउवासंग धेरै पटक झपाड प्राप्त गरिसक्नु भएको व्यक्तित्व हो । पार्टीभित्र ओभर कन्फिडेन्ट भएकाहरुको घेराभित्र रहेका शेर बहादुर देउवालाई त्यही शक्तिले आगामी महाधिवेशनमा संकटमा पार्न सक्ने सम्भावनाहरु समेत देखिएको छ ।

नेपाली कांग्रेसमा पार्टी सभापतिको लागि शेरबहादुर देउवा, रामचन्द्र पौडेल, डा। सशांक कोइराला, डा. शेखर कोइराला, प्रकाशमान सिंह र विमलेन्द्र निधी दौडमा छन् । पार्टी सभापतिका लागि पटक पटक छलफल गर्ने, गुटको बैठक गर्ने त कहिले उपगुटहरु बनाएर बहस छेडेर नयाँ नयाँ रणनीतिमा प्रवेश गरेको देखिए पनि समग्रमा मत दिने कै टुङ्गो लगाउन नसक्ने अवस्थामा नेपाली कांग्रेस किन पुगेको छ ? यसको जिम्मेवारी सबै शेरबहादुर देउवाको टाउकोमा हाल्नु भन्दा नेपाली कांग्रेस जो निर्वाचनका बेला मात्र सक्रिय हुन खोज्ने तर अरुबेला सक्रिय सदस्य भएपनि वा उनीहरुको नेता भएपनि तुस्ताएर बस्ने चलनले गर्दा यो अवस्था आएको हो ।

कांग्रेसमा सबैले आआफ्नो कमजोरी स्वीकार गरेर एकअर्कालाई दोष नदिई संगै मिलेर सकिन्छ भने सर्वसम्मतिबाट नसकिए जो जो सभापतिमा उम्मेदवारी दिन चाहन्छन् सबैलाई रहर पुरा गर्न दिएर प्रजातान्त्रिक प्रक्रिया अपनाउनु नै उपयुक्त हुन्छ । सबैले मलाई कुन पद मिल्ला भन्नु भन्दा पनि नेपाली कांग्रेसलाई कसरी नेपालको एक नम्बर पार्टी बनाउन सकिन्छ भन्ने चिन्तन गर्न र चिन्तन अनुसारको काममा सक्रिय हुने अभियान संयुक्त रुपमा चालिएको भने सबै कांग्रेसीको भविष्य छ । हैन भने यसपालीको राजनीतिक पार्टी सम्बन्धी अध्यादेशको ज्वारभाडा नेपाली कांग्रेस भित्र समेत पस्न सक्दछ । अहिले नेपाली नागरिकहरु राजनीतिक पार्टीका नेताहरुको गतिविधिबाट वाक्क दिक्क भएका छन् । यस्तो बेलामा अरु पार्टी फुटे जस्तो नेपाली कांग्रेसभित्र पनि गुट, उपगुट र डन प्रबृद्धि देखिनु हुँदैन भन्ने शुभचिन्तकहरुको चाहना छ ।

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो