बेलायतमा १२औँ नेपाली मेला हुँदै

डिसी नेपाल
८ भदौ २०७८ ६:५१
276
Shares

लण्डन । प्रत्येक वर्षजस्तै यस वर्ष पनि बेलायतमा नेपाली मेला हुँदैछ। कोरोना महामारीका कारण गत वर्ष स्थगित मेला यस वर्ष आउँदो साता सम्पन्न गर्न लागेको तमुधिं युकेले जनाएको छ। बेलायतमा सबैभन्दा धेरै नेपाली सदस्य रहेको परोपकारी संस्था तमुधिं युकेले लण्डनस्थित नेपाली दूतावाससँगको सहकार्यमा मेला गर्न लागिएको जनाएको छ।

नेपाली संस्कृति, कला र पहिचानलाई जहाँ पुगे पनि जगेर्ना गर्नुपर्छ भन्ने मूल उद्देश्यका साथ गरिन लागिएको नेपाली मेलामा यसपटक पनि नेपाली जातजातिका वेषभूषा र झाँकी प्रदर्शन गरिने तमुधिं युकेले जनाएको छ। नेपाली मेलाको उद्घाटन बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मीले गर्ने र उक्त दिन लाग्ने खर्चमा नेपाली दूतावासले पनि आर्थिकरूपमा सहयोग गर्ने बताइएको छ। सार्क राष्ट्रबाट बेलायतमा दूतावास हुने देशहरूका कूटनीतिक प्रतिनिधिलाई निमन्त्रणाका लागि नेपाली दूतावासले जिम्मा लिएको छ।

यही अगस्त १९ तारिखबाट बेलायतमा बन्दाबन्दी खुले पनि मास्क लगाउन यहाँको सरकारले अनुरोध गरेका कारण मेलामा पनि सबैलाई अनिवार्य मास्क लगाएर आउन अनुरोध गरिएको छ। नेपाली कला र संस्कृतिका साथै नेपाली वस्तु र खानाहरूको बिक्री वितरणका लागि स्टल रहने जनाइएको छ । गत वर्षहरूमा झै यस वर्ष पनि दूतावासको तर्फबाट एक स्टल राखेर नेपाललाई चिनाउने पर्यटकीय दृश्य तथा नेपालसम्बन्धी जानकारी दिइने नेपाली दूतावासको योजना रहेको दूतावासले जनाएको छ।

मेलामा झाँकी र नृत्य दुवैमा प्रथम हुने समूहलाई एक हजार एक सय पाउण्डसहित ‘एम्बासडर कप’ र प्रथम हुनेलाई अतिरिक्त ३०० पाउण्डको ‘एनआरएनए युके कप’ पनि दिइने बताइएको छ।

झाँकीतर्फ प्रथम हुनेलाई ५०० र दोस्रो हुनेलाई ३०० तथा नृत्यमा प्रथम हुनेलाई ५०० पाउण्ड र दोस्रो विजेतालाई ३०० पाउण्ड प्रदान गरिनेछ । मेलाका लागि नेपाली दूतावासबाट दुई हजार ५०० पाउण्ड सहयोग प्राप्त भएको तमुधिँ युकेले जानकारी दिएको छ।रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *