अफगानिस्तान संकटमा सार्कको अध्यक्षको हैसियतले भूमिका खेल्न नेपाल सरकारलाई आग्रह

डिसी नेपाल
८ भदौ २०७८ १२:००

काठमाडौं। दक्षिण एसियाली क्षेत्री सहयोग संगठन (सार्क)को अध्यक्ष राष्ट्रको हैसियतमा नेपालले अफगानिस्तानको वर्तमान राजनैतिक संकटको अवस्थालाई सम्बोधन गर्न भूमिका खेल्न सक्ने ५ जना पूर्व राजदूतहरुले बताएका छन् । पूर्व राजदूतहरुले संयुक्त वक्तव्य जारी गर्दै नेपाल सरकारलाई सार्कको अध्यक्षको हैसियतमा आफ्नो भूमिका खेल्न आग्रह गरेका हुन् । अफगानिस्तान पनि सार्कको सदस्य राष्ट्र हो ।

रुसका लागि पूर्वराजदूत हिरण्यलाल श्रेष्ठ, भारतका लागि पूर्वराजदूत दीपकुमार उपाध्याय, भारतका लागि पूर्वराजदूत दुर्गेशमान सिंह, अमेरिका र बेलायतका लागि पूर्वराजदूत सुरेश चालिसे र चीनका लागि पूर्वराजदूत महेश मास्केले जारी गरेको संयुक्त वक्तव्यमा अफगानिस्तानमा तालिबानको राजनीतिक अग्रसरता सार्क सदस्य राष्ट्रहरुका लागि चासो र चिन्ताको विषय भएको भन्दै यो गम्भीर मोडमा सार्कको अध्यक्षको हैसियतमा नेपालले स्थिरताका लागि महत्वपूर्ण भूमिका खेल्न सक्ने उल्लेख छ ।

पूर्वराजदूतहरुले नेपाल सरकारलाई तत्काल सरोकारवाला देशहरुसँग वार्ताको लागि आवश्यक पहल गर्न आग्रह गर्दै अफगानिस्तानको स्थितिले यस क्षेत्रको सामाजिक–आर्थिक, आप्रवासन र सुरक्षामा दीर्घकालीन प्रभाव पार्ने बताएका छन् । तालिबानले अफगानिस्तानमा आममाफीको घोषणा गरेको र महिलालाई काम र स्कुलमा फर्कन तथा सरकारमा सहभागी हुन अह्वान गरेको भए पनि तालिबानको विगतको छविका कारण शंकाको घेरामा रहेको बताएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *