पंजशीरमा त्यस्तो के छ ? जसका कारण रुसदेखि तालिबानसम्म कोही पनि सफल भएनन्

डिसी नेपाल
१० भदौ २०७८ १५:२४

काठमाडौं। तालिबानले अफगानिस्तानको सत्ता हात पारेको छ तर पंजशीर उसको अगाडि ठूलो चुनौती बनेर उभिएको छ । यो त्यो क्षेत्र हो जसलाई तालिबानले कहिल्यै जित्न सकेन । यस पटक पनि यो अभेद्य दुर्गलाई तालिबानले अहिलेसम्म भेद्न सकेको छैन । पंजशीरका घाटीहरु तालिबानको विरोधको प्रतीक बन्दै गइरहेका छन् । कुनै समय ‘पंजशीरका सिंह’ अहमद शाह मसुदको गढ रहेको यो क्षेत्रमा अब विरोधको झण्डा उनका छोरा अहमद मसुदले उठाएका छ । उनको साथमा देशका उपराष्ट्रपति रहेका अमरुल्लाह सालेह पनि छन् ।

यो क्षेत्रमा त्यस्तो के छ जसका कारण तालिबानले यो क्षेत्र कहिल्यै जित्न सकेन । यो क्षेत्रको इतिहास र भूगोलले के भन्छ ? पछिल्ला २० वर्षमा पंजशीर कत्तिको बदलियो ? पंजशीरको यस पटकको लडाइँ अघिल्लो पटकको भन्दा कति फरक छ ? पंजशीरले तालिबानलाई कडा टक्कर दिएसँगै यी प्रश्नहरुको जवाफप्रति धेरैको चासो बढेको छ । तालिबानले पंजशीरमा आक्रमण नगर्ने भन्दै सिजफायरमा सहमत भएर वार्तामा बसेको अहिलेको अवस्थामा यो ठाउँबारे आम मानिसहरुमा उत्सुकता बढेको छ ।

काबुलबाट १५० किलोमिटर उत्तरमा रहेको पंजशीर घाटी हिन्दुकुश पहाडको नजिकै छ । उत्तरमा यसलाई पंजशीर नदीले छुट्याउँछ । पंजशीरको उत्तरी इलाका पंजशीरका पहाडहरुले घेरिएको छ । दक्षिणमा यो क्षेत्रलाई कुहेस्तानमा पहाडहरुले घेरेका छन् । यी पहाडहरु वर्षभरी हिउँले ढाकिएका हुन्छन् । यसबाटै अनुमान लगाउन सकिन्छ कि पंजशीरको इलाका कति दुर्गम छ । यो इलाकाको भूगोल नै दुश्मनको लागि सबैभन्दा ठूलो चुनौती बन्छ ।

मध्यकालमा यो घाटी चाँदीको उत्खननका लागि प्रसिद्ध थियो । यो घाटीमा अहिले पनि पन्नाको भण्डार छ । यसको सही प्रयोग भयो भने यो पन्ना उत्खननको हब बन्न सक्छ । १९८५ सम्म यो उपत्यकामा १९० क्यारेटको मणिभ पाइएको थियो । भनिन्छ, यहाँ पाइने क्रिष्टलको गुणस्तर कोलम्बियाको मुजो खानीको जस्तै छ । मुजो खदानका क्रिष्टल संसारकै सबैभन्दा उच्च गुणस्तरको मानिन्छ । पंजशीरको जमिनमुनि पन्नाको निकै ठूलो भण्डार छ जसलाई अझैसम्म कसैले छोएको छैन । यदि यहाँ माइनिङको संरचना तयार भयो भने यो क्षेत्रको निकै तीब्र विकास हुन सक्छ ।

१९८० को दशकमा सोभियत संघको शासन त्यसपछि १९९० को दशकमा तालिबानको पहिलो शासनको क्रममा अहमद शाह मसुदले यो घाटीलाई दुश्मनको कब्जामा जान दिएनन् । पहिले पंजशीर परवान प्रान्तमा थियो । २००४ मा पंजशीरले अलग प्रान्तको दर्जा पाएको थियो । डेढ लाख जनसंख्या भएको यो क्षेत्रमा ताजिक समुदायको बाहुल्यता छ । गएको मे महिनापछि तालिबानले अफगानिस्तान कब्जा गर्न सुरु गरेपछि धेरै मानिसहरुले पंजशीरमा शरण लिएका छन् । उनीहरुले पहिलेजस्तै यस पटक पनि तालिबानले पंजशीर जित्न नसक्ने आशामा यहाँ शरण लिएका थिए । उनीहरुको आशा अहिलेसम्म सही साबित भएको छ ।

१९८० को दशकमा सोभियत संघविरुद्धको लडाइँमा पंजशीरका लडाकुलाई अमेरिकाले हतियार दिएर सहयोग गरेको थियो । उनीहरुले आर्थिक सहयोग पाकिस्तानमार्फत पाउँथे । त्यसपछि जब तालिबान सत्तामा आयो त्यसपछि त्यहाँ सक्रिय नर्दर्न एलायन्सलाई भारत, इरान र रुसले सहयोग गरे । त्यस क्रममा अफगानिस्तानको अधिकांश उत्तरी क्षेत्रतालिबानको कब्जाभन्दा बाहिरै रह्यो ।

यस पटक तालिबान पछिल्लो पटकभन्दा धेरै बलियो भएको छ । पंजशीर एकमात्र प्रान्त हो जो तालिबानको कब्जाबाट बाहिर छ । तालिबानलाई चीन, रुस र इरानले समर्थन गरेका छन् । पंजशीरका लडाकुले यस पटक कुनै अन्तर्राष्ट्रिय सहयोग पाउँछन् कि पाउँदैनन् भन्ने पनि अझै निश्चित छैन । यस पटक पंजशीरका लडाकुको नेतृत्व गरिरहेका अहमद शाह मसुदका छोरा अहमद मसुदले पनि आफू पिताको मार्गचित्रमा हिँड्न तयार भएको तर यसको लागि हतियार र गोलाबारुद चाहिने बताएका छन् । यसका लागि उनी अन्तर्राष्ट्रिय समुदायबाट सहयोग चाहन्छन् ।

पछिल्लो २० वर्षमा पंजशीरमा विकासका केही काम भएका छन् । घाटीमा आधुनिक सडकको निर्माण भएको छ । एक नयाँ रेडियो टावर पनि जडान गरिएको छ । तर, अझै पनि यहाँ मूलभूत सुविधाहरुको अभाव छ । अफगान सरकारको शासन हुँदा यहाँ कुनै किसिमको रक्तपातपूर्ण संघर्ष भएन । यही कारण यो ठाउँले अमेरिकी मानव अधिकार कार्यक्रमको माध्यमबाट सहयोग पाउन सकेन । ५१२ गाउँ र ७ जिल्ला भएको यो प्रान्तमा विद्युत र पानी आपूर्तिको व्यवस्था समेत छैन ।

पंजशीरसँग सीमा जोडिएका सबै क्षेत्र तालिबानले कब्जा गरिसकेको छ । यस्तोमा तालिबानले पंजशीरमा जरुरी सामान र खानपिनका कुराहरुको आपूर्ति रोक्न सक्ने आशंका गरिएको छ । यस्तो अवस्था आएमा यो क्षेत्रलाई अन्तर्राष्ट्रिय सहयोगको आवश्यकता हुनेछ । यद्यपि आधिकारिक रिपोर्टका अनुसार पंजशीरसँग खाना र मेडिकल आपूर्तिको यति भण्डारण छ कि आउँदो हिउँदसम्मलाई पुग्छ ।

१९९६ मा तालिबानले काबुल कब्जा गरेको थियो । त्यतिबेला तालिबानले उत्तरी अफगानिस्तान छोडेर बाँकी अधिकांश क्षेत्र कब्जा गरेको थियो । तालिबान सत्तामा आएपछि राष्ट्रपति बुरहानुद्दीन रब्बानी र रक्षा मन्त्री अहमद शाह मसुद आफ्ना साथीहरुको साथमा उत्तरी अफगानिस्तान गए । यहाँ ‘पंजशीरका सिंह’ मसुदले तालिबानविरुद्ध नर्दर्न एलायन्स गठन गरे । पंजशीरबाटै तालिबानविरुद्ध लडाइ जारी रह्यो । २००१ मा मसुदलाई अल कायदाले मारिदियो । त्यसपछि अमेरिका अफगानिस्तान आयो । अमेरिकाको सफलतामा नर्दर्न एलायन्सको ठूलो हात छ । नर्दर्न एलायन्सकै सहयोगमा अमेरिकाले तालिबानलाई सत्ताबाट हटाएको थियो ।

पछिल्लो पटक उत्तरी अफगानिस्तानका कैयौं क्षेत्र तालिबानको नियन्त्रणमा थिएनन् । अहिले भने पंजशीरबाहेक पूरै उत्तरी अफगानिस्तान पनि तालिबानको कब्जामा छ । तालिबानविरुद्ध लडाइको अगुवाइ अहमद शाह मसुदका ३२ वर्षका छोरा अहमद मसुदले गरिरहेका छन् । उनको साथमा गनी सरकारका उपराष्ट्रपति अमरुल्लाह सालेह पनि छन् । गनी देश छोडेर गएपछि सालेहले आफूलाई कार्यवाहक राष्ट्रपति घोषणा गरेका छन् ।

तालिबानविरुद्ध लडाइँको केन्द्र अब पंजशीर नै हुने संकेत देखिएको छ । पछिल्लो पटकको तुलनामा यस पटक स्थिति धेरै कठिन छ । सालेह र मसुदको लागि अफगान जनताको बीचमा १९९० को जस्तो समर्थन पाउनु पनि ठूलो चुनौती हुनेछ । चारैतिरबाट तालिबानले घेरिएको पंजशीर हरेक किसिमका आपूर्तिको लाइन काटिएपछि कसरी लड्छ ? यो पनि हेर्नुपर्नेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *