ठाकुर र महताे ओलीका मतियार : उपेन्द्र यादव

डिसी नेपाल
१३ भदौ २०७८ ७:४१

वीरगञ्ज। जनता समाजवादी पार्टी, नेपाल (जसपा)का अध्यक्ष उपेन्द्र यादवले केपी शर्मा ओलीले ‘कु’ गर्न खोजेको भन्दै महन्थ ठाकुर र राजेन्द्र महतो प्रतिगमनको मतियार भएको आरोप लगाएका छन्।

जसपाले शनिबार वीरगञ्जमा आयोजना गरेको प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै यादवले ओलीको ‘कु’लाई ठाकुर–महतोले साथ दिएर ओलीको कित्तामा गएर सहयोग गरेको बताए।

‘ओलीले ‘कु’ गर्न खोजेका थिए। प्रतिगमन गर्न खोजेका थिए’, उनले भने, ‘महन्थ ठाकुर र राजेन्द्र महतोहरू केपी ओलीको मतियार बनेर ओलीकै कित्तामा गएर सहयोग गरे ।’

अध्यक्ष यादवले भने, ‘ओलीले शुरुमा संसद विघटन गर्दा ठाकुर–महतोजीले प्रतिगामी भनेर आन्दोलन गर्नुभयो। ओलीले दोस्रो पटक संसद विघटन गर्दा उहाँहरूले ‘यू’ टर्न गर्नुभयो। ठाकुर–महतोहरू प्रतिगमनको मतियार बन्न कसरी पुगे? आश्चर्य भएको छ।’

‘ओलीले पहिलो पटक संसद विघटन गर्दा प्रतिगन भनेर उहाँहरू सँगै आन्दोलनमा हुनुहुन्थ्यो’, यादवले भने, ‘दोस्रो पटक संसद विघटन गर्दा उहाँहरू समर्थन गरेर सरकारमा सहभागी हुनुभयो।’

अध्यक्ष यादवले भने, ‘महन्थ र राजेन्द्रहरूमा विचारहीन, दिशाहीन, अडान नभएका, नीति छैन, सिद्धान्त छैन । उनीहरू राजनीतिक विचारमा अडिएको भए प्रतिगमनविरुद्ध उभिएकाहरू ओलीको मतियार हुने थिएनन्।’

उनले जसपा नेपाल एकढिक्का रहेको बताएका छन्। ‘रुखका पातहरू झर्छन् । २–४ वटा पात झरेर रुख सकिदैन । जसपा नेपाल झन् सुदृढीकरण भएको छ। हामी बलियो हुन्छौँ ।’

जसपाका अध्यक्ष यादवले राजा महेन्द्रले २०१७ सालमा परिवर्तनलाई उल्टाएर जसरी केपी ओलीले संसद दुई पटक विघटन गरेर महेन्द्र पथमा गएको आरोप लगाए। उनले ओलीको षड्यन्त्रलाई असफल बनाएको बताएका छन् । यादवले संघीय लोकतान्त्रिक गणतन्त्रमाथि खतरा रहेको भन्दै जसपाले अब नेतृत्वदायी भूमिका खेल्ने बताए।

भदौ १ र २ गते बसेको जसपा नेपालको केन्द्रीय कार्यसमितिले ७ प्रदेशमा प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रम गर्ने निर्णय गरेको थियो। जसपाले पार्टी सुदृढीकरणलाई मंसिरसम्म चल्नेछ ।

कार्यक्रममा जसपाबाट निर्वाचित स्थानीय तहका पदाधिकारी, प्रदेशभित्रका केन्द्रीय सदस्य, कन्द्रीय पदाधिकारी, प्रदेश सांसद, केन्द्रीय परिषद लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा वरिष्ठ नेता अशोक राई, नेता महेन्द्र राय यादव, नेतृ रेणु यादव, नेता रमेश यादव, प्रदेश २ का अर्थमन्त्री विजय यादवलगायतका नेताहरूको उपस्थिति रहेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *