विदेशको कमाई सबै लिएर टाप कसिन् विष्णुकी श्रीमती, बिचल्लीमा दुई बच्चा

रिता बस्नेत
१४ भदौ २०७८ १०:३८

काठमाडौं। केही दिनअघि डिसी नेपालका एक प्रतिनिधिलाई अन्जान व्यक्तिको फोन आउछ, तपाई मिडिया हो भनि। त्यसपछि दुबैतर्फको वार्तालाप हुन्छ।

उनी आफ्नो दुःख सुनाउँदै सल्लाह सुझाव माग्छन् र न्याय दिलाई दिन आग्रह गर्छन्। उनी आफ्नो सबै वास्तविकता मिडियामार्फत उजागर होस् भन्ने चाहना राख्छन् र सबै घटनाहरु बेलिविस्तार लगाउँछन्।

उनी हुन्, गुल्मी धुर्कोट गाउँपालिका १ का ३३ वर्षीय, विष्णुबहादुर जिसी। उनी २०७६ सालमा रोजगारीको लागि दुबई गएका रहेछन्। दुबईमा भनेबमोजिम उनले कमाई गरिराखेकै थिए। तर, अचानक कसैले कल्पनासमेत नगरेको कोरोना संक्रमण फैलिन्छ र विश्वको मानव जीवनलाई तहसनहस पारिदिन्छ । कोरोनाले विष्णुलाई पनि असर नगर्ने त कुरै भएन।

उनी कोरोनाका कारण विश्वले अपनाएको लकडाउनले केही समय बेरोजगार हुन्छन् र आफ्नो देश नेपाल फर्किने प्रयास गर्छन्। अन्ततः गाउँमा श्रीमती र नाबालक दुई छोरा छाडेर गएका उनी गत २०७७ सालमा नेपाल फर्किन सफल हुन्छन्।

नेपालमा पनि ज्यालादारी काम गरिराखेका उनी विदेश भने दुई–चार पैसा बढी कमाई हुन्छ कि भनेर गएका रहेछन्। उनी भन्छन्, ‘मेरो बुवा आमा बितिसकेपछि म विदेश गएको हो। लकडाउनमा कम्पनीले काम पनि दिएन अनि त्यत्तिकै खाली बसे। त्यसपछि नेपालले हवाई उडानको लागि निःशुल्क टिकट गरेको बेला आउने प्रयास गरे तर कम्पनीले त्यति चासो लिएन अनि पछि आफै टिकट काटेर आएको हो।’

दुबईमा नगरपालिकाअन्तर्गत रहेर काम गरेका उनले त्यहाँ लकडाउनको समयमा धेरै समय बेरोजगार भएर बस्नु नपरेको बताए। जब काम ठप्प भयो त्यसपछि भने नेपाल आउने प्रयासमा लागिपरेको बताउँदै उनी भन्छन्, ‘कोरोनाले लकडाउन भएपछि त्यहाँ काम त्यति चलेन अनि नेपाल फर्केको। कमाइ त त्यहाँ अलिअलि हुन्थ्यो, बुझ्न हतार हुन्थ्यो अनि बुझेर नेपाल श्रीमतीलाई पठाइहाल्थे । राख्ने चलन थिएन। बुवा आमा हुनुहुन्न, बच्चाहरु स–साना थिए अनि श्रीमतीलाई नै कमाएको सबै पठाउने गर्थे।’

कामको बारेमा उनी भन्छन्, ‘दुबईमा घरघरमा जाने फोहोर उठाउने, बाटोमा फालिएको कागज लगायत यताउती टिप्ने काम गर्ने, त्यस्तै गरियो। तलब मासिक १२ सय (दिराम) थियो।’

विष्णुका अनुसार दुबईमा बसुन्जेल उनको कमाई करिब ८–९ लाख रुपैयाँ भएको थियो। तर, उनले सबै कमाई हतारिदै महिनैपिच्छे नेपालमा भएकी श्रीमतीलाई पठाइहाल्थे। अहिले उनीसँग विदेशमा कमाएको न त पैसा नै छ, न त घरमा श्रीमती नै। कारण, उनकी श्रीमती अर्कै केटासँग विवाह गरेर भागिसकेकी छन्।

उनी भन्छन्, ‘म विदेशबाट आएको ६ महिनामा उ (श्रीमती) हिँडेकी हो। म गत वर्षको पुस ३० गते नेपाल उत्रेको र उ गत साउनको ६ गते हिँडेकी हो। त्यत्रो पैसा पठाए, गाउँको ऋणसमेत १ रुपैयाँ पनि तिरेकै रहेनछ । विदेश जाँदा यता एकजना अंकलको पैसा लिएको थिए। उहाँलाई चाहीँ उतैबाट १ लाख उहाँकै नाममा हालिदिएकी थिए। अझै गाउँमा ४–५ लाख ऋण तिर्न छ।’

सामान्य परिवारका विष्णुको गुल्मीमा आफ्नो घर खेतीबारी सबै छ। उनी भन्छन्, ‘गुल्मीमा घर, खेतबारी छ। त्यसले खाना पुग्छ, घरमा धेरै दुःख त छैन। तरपनि दुई चार पैसा कमाई हुन्छ कि भनेर विदेश गएको थिएँ।’
घरमा ३२ वर्षीया श्रीमती र ४ र ६ कक्षा पढ्दै गरेका २ छोरा छोडेर दुबई उडेका विष्णुको घर यतिबेला उजाड भएको छ । श्रीमती भागेपछि

अहिले उनको परिवार उजाड भएको हो। साथै, विष्णुका अनुसार कमाएको सबै पैसा र गरगहनासमेत सबै लगेकाले आर्थिक समस्यासमेत भएको छ।

विष्णुका अनुसार विदेशमा बसेको बेला यता(नेपाल) मा श्रीमतीले फोनमार्फत अर्कै केटासँग कुराकानी गर्ने र त्यो केटालाई घरमा बोलाउने गर्ने गर्थिन्। एकदिन विष्णुले दुबईमै बस्दा एकजना केटामान्छेले घर छेउको सुन्तलाको बोटमुनी उभिएर खिचेको फोटो श्रीमतीले सेयर गरेको देखेपछि उनले सोधिखोजी गरेका रहेछन् । तर, श्रीमतीले सानीमाको छोरा हो भनेर टारेकी रहेछिन्।

उनी भन्छन्, ‘छिमेकीका अनुसार म विदेश गएपछि उ धेरै फोनमा झुल्थी रे। कहाँकहाँ गइराख्ने, घरमा एकछिन पनि नबस्ने गर्थी रे। अहिले उ गइसकेपछि छिमेकीले मलाई सुनाउँछन् । म विदेशमा भएको बेला केटा पनि घरमा बाइक लिएर आएको थियो रे। बाबुहरु(छोरा)ले पनि देखेका रहेछन् । को हो भन्दा मामा हो, गाउँतिरको सानीमाको छोरा हो भनेकी थिइ रे।’

उनी अगाडि भन्छन्, ‘हुनत म विदेशबाट आएपछि पनि दुई–तीन चोटी फोनमा कुरा गरेको थाहा पाएर को हो भनेर सोधेको थिएँ। तर, उसले दिदीबहिनी दाइभाइ भनेर यताउती भनेर टार्ने गर्थी । मैले पनि होला नि त भन्ठाने । कुरा गर्दैमा शंका गर्ने कुरा पनि भएन। म फेरि काममा बाहिर जाने, बेलुकी आउने र त्यो बेला कुरा गरेको भेटी हालेपछि उसले त्यसरी टार्ने गर्थी।’

श्रीमती भागिसकेपछि मात्र विष्णुले त्यसबेला अहिले भागेको केटासँग गफ गर्ने गर्दिरहेछ भन्ने थाहा भएको बताए। अहिले उनकी श्रीमतीले फेसबुकलगायत सबै कन्ट्याक्ट ब्लक गरेकी छन्। धेरै प्रयास गरेपछि पछिल्लो समय विष्णुले आफ्नो श्रीमती अर्घाखाँचीका रमेश भन्ने व्यक्तिसँग हिडेको थाहा पाएका रहेछन्। र, धेरै प्रयासपछि केहि नजिकका मान्छेहरुको फोन नम्बर र सूचनाहरु पत्ता लगाउन उनी सफल भए।

कतै भारतमा बेच्न त लगेका होइनन्?, भन्ने जिज्ञासामा विष्णु भन्छन्, ‘मलाई पनि त्यस्तै लागेको छ । मेरो श्रीमतीलाई पल्लो गाउँकै एकजना आइमाईले लिएर गएको रे। उसले लिएर गएर केटालाई हस्तान्तरण गरिदिएको रे, दिल्लीमा । अर्घाखाँचीको त्यो केटाले ड्राइभर काम गर्छ भन्दै थिए, म त चिन्दिन । केटाको नाम रमेश रहेछ । त्यो आइमाईको नाम चाहीँ सिता घर्ती जिसी हो, उसले केटालाई लगेर हस्तान्तरण गरिदिएकी हो रे।’

विष्णुका अनुसार पल्लो गाउँकी एकजना महिलाले उनकी श्रीमतीलाई फकाएर रमेश भन्ने केटालाई लगेर बुझाएकी रहेछिन्। ती महिलाले विष्णुलाई मोबाइलमा म्यासेजसमेत गरेकी रहेछिन्। विष्णु भन्छन्, ‘त्यो आइमाइले मैल मेरो फाइदाको लागि तेरो श्रीमतीलाई लिएर अएकी हुँ भनेर मलाई म्यासेज पठाएकी थिई। त्यो आइमाईको परिवार सबै इण्डियातिरै छन् रे। हाम्रो गाउँदेखि मास्तिर छ उसको गाउँ।’

पहिला पहिला सिता भन्ने ती महिलाले विष्णुको घरमै आएर पनि फोन गर्थीन् रे, रमेश भाई भनेर । ल हुन्छ केटीले मानेकी छे, म लिएर आउछु काम खोजेर राखिदिनु भनेर समेत ती महिलाले फोनमा कुराकानी गर्ने गरेको विष्णुलाई छिमेकीले पछि सुनाएका रहेछन्। उता विष्णु भने सबै कुरा मिलाएर गाउँकालाई फोनमा कुरा सुनाउँदै काम लगाइदिने भनेर अन्तै लगेको अशंका गर्छन्।

इण्डियाबाट श्रीमतीको दिदीको छोरी हुँ भन्ने एकजना महिलाले समेत विष्णुलाई म्यासेज र रमेश भन्ने केटासँग श्रीमती बसेको फोटोहरु पठाएकी रहेछिन् । विष्णु भन्छन्, ‘अहिले मसँग श्रीमती त्यो केटासँग सुते, उठेको सबै फोटो छ । भ्वाइस रेकर्ड पनि पठाएका छन्। यस्तो यस्तो गरिछे तेरो श्रीमतीले भनेर अरु महिलाहरुले पठाइदिएका छन्, मलाई।’

श्रीमती भगाउने सिता भन्ने महिलाले पठाएको म्यासेज र इण्डियाबाट दिदीको छोरी भन्ने महिलाले पठाएको फोटो आदि सबै पुलिसलाई दिएर श्रीमती हराएको रिपोर्ट विष्णुले लेखाइसकेका छन्। उनी भन्छन्, ‘सबै म्यासेस स्क्रिनसट गरी फोटोकपी गरेर प्रहरीलाई बुझाएको छु । प्रहरीलाई हुलिया दिएको छु, हराई भनेर।

तरपनि विष्णु चाँडोभन्दा चाँडो वास्तविकता बाहिर ल्याउन चाहन्छन्। उनी भन्छन्, ‘म यहाँ (नेपाल) पनि मित्री काम गर्छु, अनि काममा गएको बेला भागेर हिँडिछे। त्यसलाई फेरि राख्ने कुरो त हुँदैन तर खोज तलास गरेर यस्तो ठाउँमा छे, यस्तो छ भनेर थाहा दिने र क्षतिपूर्ति लिने हो।’

उनी अगाडि भन्छन्, ‘गहना, पैसा सबै लिएर गएकी छे। त्यत्रो विदेशमा कमाएको धन सम्पत्ति हिनामिना पारेकी छे । त्यो पनि पूर्ति गर्नु पर्यो। मैले त भेट्टाएसम्म क्षतिपूर्ति लिने अनि छोडिदिने भन्ने छ । लगभग १० लाखको क्षतिपूर्ति छ। मैले विदेशमा कमाएको सबै पैसा हिनामिना गरेकी छे। छोराहरु पनि आमा गएपनि जाउन तिनलाई अब ल्याउने काम छैन भन्छन क्यारे।’

‘दुबईमा खाता खोल्न नमिल्ने, नेपालमा खाता खोलेर गएर आफ्नो खातामा हालेको भए राम्रो हुने रहेछ। अब होला त गर्ली, घर खर्च गरेर ऋण तिर्ली भनेर कमाएको सबै पैसा पठाइदिए, विश्वास गरेर। अब विश्वासघात गर्नेलाई दैवले पनि छोडिदिने रहेछन, के गर्ने?’, भन्दै विष्णु दुखेसो गर्दै पुनःभन्छन्, ‘बाबुहरु पनि खेल्ने, पढ्ने उमेरमा छोडेर गई । गहना, पैसा सबै लगेर गई।’

विष्णुलाई प्रहरीले श्रीमतीलाई लगेकी महिलालगायतलाई झिकाएर थुनामा राखी सबै कुरा खुलस्त पार्ने बताएका रहेछन् । उनी भन्छन्, ‘प्रहरीलाई मलाई म्यासेज गरेको त्यो आइमाईको फोन नम्बर दिएको थिए र त्यो नम्बरमा फोन गर्दा केटा मान्छेले उठाएको थियो। म पुलिस प्रशासनबाट बोलेको भन्नासाथ उसले फोन काटेर स्वीच अफ गरी हाल्यो।’

उनी अगाडि भन्छन्, ‘अब प्रहरीले तपाईको निवेदन माइती नेपालमा दिन्छौं । माइती नेपालले खोजेर ल्याउछ। भारतस्थित नेपाली दूतावासबाट खोजतलास हुन्छ, टेन्सन नगर्नुस भनेर भन्नु भएको छ।’

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *