विडम्बना ! ‘हाम्रो देशको ढुंगाहरुलाई विदेशीले किनेर फेरि हामीलाई नै बेच्छन्’ – Dcnepal

विडम्बना ! ‘हाम्रो देशको ढुंगाहरुलाई विदेशीले किनेर फेरि हामीलाई नै बेच्छन्’

काठमाडौं। पुर्खेउली पेसालाई निरन्तरता दिएका भक्तपुरस्थित मध्यपुर ठिमीका नरभक्त प्रजापति ३२ वर्ष अघिदेखि माटोका गमलालगायतका भाडाकुडाहरु बनाउँदै आइराखेका छन्।

उनी माटोको विभिन्न किसिम र साइजका गमला, चुलो, धुपौरो, दियो (पाला) आदिका साथै घरमा सजाएर राख्ने घण्टी, सुगा, परेवा, कछुवालगायतका सामाग्रीहरु पनि बनाउने गर्छन्।

पहिला पहिला माटाका भाडाकुडाहरु बनाउँदा भक्तपुर वरिपरिकै माटो ल्याएर बनाएको सम्झना गर्दै उनी भन्छन्, ‘मैले यो काम २०४५ सालदेखि गरेको हो। पहिला यहि एरियाको माटोबाट बनाउने भाडाकुडाको लागि अहिले माटो किन्नु पर्छ र बनाउन मेहनत पनि त्यत्तिकै गर्नुपर्छ।’

बुवाले गर्दै आएको कामलाई निरन्तरता दिएको बताउने प्रजापति आफ्नो बुवाको पालामा माटाका गमलाहरु बनाउने त्यति चलन नभएको बताउँछन्। उनका अनुसार त्यतिबेला रक्सी बनाउने भाडा, खाद्यान्न तथा पानी राख्ने माटोको घ्याम्पो बनाएर गाउँगाउँमा गएर बिक्री गरिन्थ्यो।

उनी भन्छन्, ‘बुबाले पहिला माटोलाई पिटेर गाग्री, घ्याम्पो बनाउने र मंसिर महिनामा गाउँगाउँ गएर धानसँग साट्ने गर्नु हुन्थ्यो। त्यतिबेला गमला हुँदैन थियो । रक्सी पार्ने भाडो र घ्याम्पो बनाएर गाउँमा गएर धान, चामल, पिठो लगायत खाद्यान्नसँग साट्ने चलने थियो।’

पहिला पहिला प्राय प्रत्येक घरमा चामल, दाल, पिठो, पानी लगायतका सामाग्री राख्नका लागि माटाका भाडाकुडाहरु प्रयोग गर्ने चलन थियो। अहिले भने प्लाष्टिकका विभिन्न किसिमका बट्टा, गमलालगायतका सामाग्रीहरु चलनमा आएका छन्।

प्रजापति भन्छन, ‘पहिला पहिला खाद्यान्न र पानी राख्न घ्याम्पो धेरै मात्रामा बिक्री हुन्थ्यो, अहिले घ्याम्पोको चलन हराइसकेको छ। अहिले प्लाष्टिकका साथै सेरामिकका सामाग्री पनि थपिएको छ।’

तरपनि उनी माटोका गमलाहरु सदावहार रहिरहने विश्वास गर्छन् र नयाँनयाँ डिजाइनमा उत्पादन गरिराख्ने पनि बताउँछन्। त्यसैले पनि होला उनको साढे चार तले घर अगाडि पेटीमा र मूल ढोकाबाट भित्र छिर्नासाथ माटोले बनाएका विभिन्न किसिमका सामाग्रीहरु यत्रतत्र देख्न सकिन्छ।

प्रजापतिको गमला व्यवसायमा आफ्नो परिवारका सदस्यसहित चार जना निरन्तर खटिने गर्छन्। बुबा, आमा, श्रीमती र दुई छोरासहित ६ जनाको परिवार भएको बताउने उनलाई माटोको भाडाकुडा बनाउन छोरा र श्रीमतीले भने निरन्तर सघाउने गर्छन्। र, उनले ती सामाग्रीहरु काठमाडौं, पोखरालगायत विभिन्न जिल्लामा अडर अनुसार पठाउने गर्छन्।

‘पहाड हिमालतिरका मूल्यवान ढुंगाहरु नेपाललाई किन नचाहिएको? खैरो ढुंगा मोटोको लागि मात्रै प्रयोग नभएर त्यसबाट क्रिम, पाउडर पनि बनाइन्छ। त्यही कुरा नेपाललाई किन थाहा नभएको?’

उनले बनाएका गमलाहरु प्राय बुट्टेदार राम्रा देखिन्छन्। उनले बनाएका ठूलठूला बुट्टेदार गमला विभिन्न ठाउँका ठूला होटल, रिसोर्टहरुमा जाने गर्छ। उनी भन्छन् ‘मेरोमा बुद्ध, गणेश, नारायणको चित्र भएका विभिन्न साइजका गमलाहरु छन्। र, चाहियो भने अन्य चित्र कोरिएका पनि बनाउँछु।’

गमलामा बुट्टा भर्नको लागि पहिला साँचो तयार पार्नु पर्छ, जुन विभिन्न साइजका साँचोहरु उनी आफैले महिनौं लगाएर बनाएका रहेछन्। साँचोबाट गमला तयार गरिसकेपछि त्यसलाई सुकाउने र राम्रो फिनिसिङ गरेर कलर लगाउनु पर्ने उनी बताउँछन्।

प्राय अरुले आफूले गरेजस्तो गमलालाई राम्रो तरिकाले फिनिसिङ गर्ने नगरेको बताउँदै उनी भन्छन्, ‘गमला बनाइसकेपछि पनि त्यसलाई चिल्लो राम्रो बनाउनु पर्छ । कुनै ठाउँमा अग्लो, कुनै ठाउँमा खाल्टो हुनुहुँदैन। तर अरुले त मैले जस्तो गमलाको राम्रो फिनिसिङ नै गर्दैनन्।’ हुन पनि उनका तयारी गमला हेर्दा साच्चिकै राम्रा देखिन्छन्।

उनले गमला बनाउन विभिन्न ठाउँबाट माटो किनेर ल्याउने गर्छन्। उनका अनुसार एक ट्याक्टर(१५ सय केजी) माटोलाई ४ हजार पर्छ। र, त्यसलाई भिजाएर मेसिनबाट पेल्नु पर्छ, जुन मेसिन उनीसँग छैन। अरुकोमा भएको मेसिनमा एक ट्याक्टर माटो पेल्दा १५ सय खर्च हुन्छ।

एउटा ठूलो गमला बनाउन १० केजी माटो चाहिन्छ। उनका अनुसार माटोको गमला साँचोमा राखेर बनाइन्छ र त्यसलाई घाममा सुकाउनु पर्छ। तर, सेरामिकबाट बनाइएका गमलालगायतका भाडाकुडा भने बनासकेपछि इलेक्ट्रीबाट सुकाउनु पर्छ।

उनले माटोको गमला मात्रै नभएर काठमाडौंका विभिन्न ठाउँमा गएर पिजा बनाउने चुलो, कोठामा बस्दा राप आउने चुलो समेत बनाउने गर्छन्। उनी भन्छन्, ‘म औद्योगिक क्षेत्र तथा होटलमा गएर पिजा बनाउने चुलो पनि बनाइदिएको छु। कोठाभित्रै आगो बालेर बस्ने चुलो पनि बनाउछु, त्यसले कोठामा राप दिन्छ।’

कोरोना संक्रमणका कारण लकडाउनले देश ठप्प भएका बेला गमलाको माग उपत्याकावासीले धेरै गरेको उनले बताए। कोरोनाको पहिलो लहर आएसँगै सबैजना घरमै बस्नुपर्ने बाध्यताले गर्दा प्रायले गमलाको माग गरेका थिए, जसले गर्दा उनलाई त्यसबेला गमला बनाउन भ्याइनभ्याइ थियो।

उनी भन्छन्, ‘पोहार साल लकडाउनले गर्दा गमला बनाउन भ्याइनभ्याई भएको थियो। पोहोर साल धेरै गमला बिक्री भए, यसपालि अलि कम गयो।’

पछिल्लो समय उनले सेरामिकबाट कचौरा, गिलास आदि पनि बनाउन थालेका छन्। २०४५ सालमा नेपालमा जर्मनको प्रोजेक्ट आएको बेला सोही प्रोजेक्टअन्तर्गत उनले सेरामिकका सामाग्री बनाउने तालिम लिएका रहेछन्।

तर, तालिम धेरै अगाडि लिएपनि नेपालमा सेरामिकका सामानहरु बनाउन विदेशबाट कच्चा पदार्थहरु ल्याउनु पर्ने, बनिसकेका भाडाकुडा महङ्गो पर्ने भएकाले त्यसबेला सेरामिकका सामाग्री बिक्री हुन कठिन हुन्थ्यो। जसले गर्दा उनले सिकेको सिपलाई त्यत्तिकै थन्काएर राखेका रहेछन्।

हालसालै भने उनलाई एकजना नेपालकै व्यवसायीले विदेश निर्यात गर्छु भन्दै सेरामिकका ठूला साइजका कचौरा र गिलासहरु बनाइदिन अर्डर गरेका रहेछन्। त्यसैले प्रजापतिले पछिल्लो समय सेरामिकका सामाग्री बनाउनतिर ध्यान दिएका रहेछन्।

उनी भन्छन्, ‘अहिले मेरो विशेष ध्यान सेरासिक तिर हो। यसको लागि अहिले मेहनत गरिराखेको छु। सेरामिकको लागि विशेष मेसिन चाहिएको छ, जुन बाहिरबाट किनेर ल्याउनु पर्छ।’

अहिले उनी सेरामिकका सामाग्री बनाउने मेसिन किन्ने ध्याउन्नमा छन्। उनका अनुसार सेरामिकबाट बनाइएका भाडाकुडाहरु महङ्गो हुने गर्छ। उनी भन्छन्, ‘सेरामिकमा लगानी धेरै पर्छ, सुरुदेखि अन्त्यसम्म सबै सामान किन्नु पर्छ। बाहिरको भरोसा गर्नुपर्छ । माटो पनि बाहिर (विदेश)बाट ल्याउनु पर्छ।’

उनका अनुसार ढुंगालाई फोडेर खरानी(माटो) बनाइन्छ र सोही खरानीबाट सेरामिकका भाडाकुडा बनाइन्छ। र, सेरामिकका भाडाकुडा बनाउन मिल्ने ढुंगाहरु नेपालमा प्रशस्तै छन् तर ति ढुंगाहरु विदेशमा गएर फेरि नेपालले किन्नु परेको अवस्था छ।

उनी भन्छन्, ‘सेरामिकका भाडाकुडा बनाउने ढुंगा नेपालमा धेरै छन् तर ती ढुंगा बाहिर जान्छ। तातोपानी जाने बाटोमा सेरामिकका सामाग्री बनाउने खैरो ढुंगा धेरै थियो, त्यो पहिला इण्डियाले लिएको थियो अनि त्यही ढुंगालाई पेलेर बनाइएको धुलो फेरि हामीले नै किनिराखेका छौं।’

उनी देशमा भएका बहुमूल्य ढुंगा, माटोलगायतका चिजहरुलाई सरकारले बेवास्ता गरेको गुनासो गर्छन्। एकताका धेरै चलेको गोदावारी मार्वल, जुन आफ्नै देशको कच्चा पदार्थबाट बनेको कुराहरुलाई सरकारले नै बन्द गरेको देख्दा धेरै दुःख लागेको समेत उनी सुनाउँछन्।

सरकारको वेवास्ताका कारण नेपालकै कच्चा पदार्थबाट बनेका लोकल मार्केट लोप हुँदै गएको सुनाउँदै उनी भन्छन्, ‘पहाड हिमालतिरका मूल्यवान ढुंगाहरु नेपाललाई किन नचाहिएको भनेको, दुःख लाग्छ। खैरो ढुंगा मोटोको लागि मात्रै प्रयोग नभएर त्यसबाट क्रिम, पाउडर पनि बनाइन्छ। त्यही कुरा नेपाललाई किन थाहा नभएको?’

उनी नेपालका विभिन्न ठाउँमा गएर मागअनुसारका माटाका सामाग्रीहरु बनाउने र तालिम दिने पनि गर्छन्। पछिल्लो समय पनि फाट्टफुट्ट तालिम दिन जाने गरेको बताउने उनले नुवाकोट, दाङ, धादिङलगायत ठाउँमा गएर धेरैजनालाई गमला, चुलो, सेरामिकका भाडाकुडा बनाउने तालिम दिइसकेका छन्।

उनले सिकाएका धेरैजनाले अहिले माटो र सेरामिकबाट सामाग्री बनाएर व्यापार व्यवसाय गरिराखेका छन्। र, उनले बनाएका गमलाहरु गोदावारीलगायतका धेरै नर्सरी, होटल, रिसोर्ट, घर आदिमा सजिएका छन्।

उनले फाट्टफुट्ट सेतो माटोको गमला पनि बनाएका रहेछन् । तर, ती गमला धेरै महङ्गो पर्ने सुनाउँदै उनले भने, ‘सेतो माटोबाट बनाएको गमला धेरै महङ्गो पर्छ। सेतो माटो विदेशबाट किनेर ल्याउनु पर्छ, यो गमला पनि हत्तपत्ति नेपालीहरुले किन्न सक्दैनन्।’

सुरुदेखि नै माटोका सामाग्री बनाएर व्यवसाय गर्नुका साथै सोसम्बन्धी विभिन्न ठाउँमा गएर तालिम दिँदै आएका उनले यस्ता सामाग्री बनाउने सिप भएका मान्छेलाई नेपाल सरकार तथा समाजले वास्ता नगरेको गुनासो गर्छन्। वर्षैदेखि सोही काम गर्दै आएका उनी उक्त काम, सिप भएका मानिसहरुको पनि अन्य पेशामा भएजस्तै स्तर, पद तथा मानसम्मान हुनुपर्ने बताउँछन्।

उनी भन्छन्, ‘सेरामिकका भाडाकुडा बनाउनेको पनि पद हुनुपर्यो। सेरामिकको सामाग्री बनाउने भनेको मास्टर लेबलभन्दा पनि माथिल्लो स्तरको हो। तर सम्मान र स्तरनै हुँदैन, एउटा सिकाउने टिचर हुन्छ त्यति हो, पैसा दियो सकियो। सबै पेशामा स्किलको स्तर छ तर यसमा छैन, दुःख लाग्छ।’

उनी यस्ता सामाग्री बनाउन प्रत्येक स्कुलले हप्ताको एक पटक भएपनि विद्यार्थीहरुलाई सिकाउनु पर्ने बताउँछन्। उनका अनुसार नेपालमा काम नपाएर विदेश जान्छन् तर हामी हाम्रै युवाहरुलाई सिप सिकाउनबाट बन्चिन गरिराखेका छौं।

उनी भन्छन्, ‘विदेशमा यो विषय धेरै खर्च गरेर पढाउने गरिन्छ तर नेपालमा त्यो व्यवस्था छैन। यस्तो छ भनेर पढाइ भयो भने यसमा पनि यो स्तरको टिचर हो भनेर देखाउन पाइयो। परिवारसँगै हासीखुशी बसेर गर्ने यो काममा मासिक ७०–८० हजार कमाई पनि हुन्छ।’

नेपालीहरु काम नपाएर परिवार लथालिङ्ग छोडेर विदेश जान्छन् तरपनि विदेशमा आफूले कमाएजति पनि कमाइ गर्न नसकेको उनी सुनाउँछन्। उनी भन्छन्, ‘विदेश जाने युवाले सफासुग्घरलगायतका दुःखदायी काम गर्छन्। तरपनि दिनको तीन हजार कमाउन सक्दैनन्। त्यति कमाउन नसकेपछि के काम भयो र?’

प्रजापति पछिल्लो समय बजारमा चलेका प्लाष्टिकको गमला हेर्दा राम्रो देखिने भएपनि त्यसमा बोट विरुवा त्यति नसप्रिने बताउँछन्। उनी माटोको गमला सदावहार राम्रो हुने र बोटबिरुवा पनि सप्रिने बताउँछन्।

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो