बैदेशिक रोजगारीबाट फर्किएकाहरु गाउँमै व्यवसायी बन्दै

डिसी नेपाल
१८ भदौ २०७८ १३:२९

सर्लाही।

  • मलेसियाको प्लास्टिक कम्पनीमा काम गर्न गएका बागमती नगरपालिका– ४ का ३५ बर्षिय नन्दलाल अमात हिजोआज घर फर्किएर व्यवसायिक कृषि पेशा गर्दैछन् ।
  • दुवईको बेकरी कम्पनीमा काम गर्न गएका बरहथवा नगरपालिका – ३ का ३२ बर्षिय रामनरेश महतो अहिले आफ्नै गाउँमा राधाकृष्ण भंैसी फर्म सञ्चालन गरिरहेका छन् ।
  • मलेसियाको मेदान डिपार्टमेन्टल स्टोरमा काम गर्न गएका बरहथवा नगरपालिका – ३ भगवतीपुरका ३८ बर्षिय अजय कुमार सिंह गाउँमै विवेक पशुपालन फार्म सञ्चालन गरेर बसेका छन् ।

कोरोनाको कहर र चर्को व्याजमा लिएको कर्जाले फाइदा नहुने भएपछि विदेशमा काम छोडेर आफ्नो गाउँ फर्किनु परेका अमात, महतो र सिंहमात्र होइन, सर्लाही जिल्लामा वैदेशिक रोजगारीबाट फर्किरहेकाले कृषि र पशुपालन सम्बन्धी कुनै न कुनै उद्यम गरेर आयआर्जन गरिरहेका छन्।

व्यवसायिक रुपमा नै कृषि र पशुपालन गरेर आउने आम्दानी र विदेशमा कामगर्दा आउने तलबको तुलना गर्दा कमाउन कै लागि विदेशिनु नपर्ने निष्कर्षमा पुगेका छन्।

अमात मलेसियाका प्लास्टिक कम्पनीमा दैनिक ८ घण्टा कस्सिएर ‘लेबर’ काम गरेर मासिक २८ हजार रुपैयाँ कमाउँथे। रहर भएपछि देखासेखीमा महाजन (साहु) सँग २ लाख रुपैयाँ सयकडा तीनका दरले व्याजमा लिएर मलेसिया गएका अमातले विदेशमा ६ बर्ष काम गर्दा समेत कर्जा र व्याज तिर्न बाहेक कुनै सम्पत्ति जोड्न सकेनन्।

निराश हुँदै अमातले भने ‘६ वर्ष विदेश बसेर घरको छानो समेत फेर्न सकिन,’ आँखाभरी आँशु पारेर सानो स्वरमा भने, ‘जन्म नै गरीब परिवारमा भएपछि जति मेहनत गरेपनि जस्ताको त्यस्तै।’ अमातले धेरै बर्ष पछि घर फर्किदा पहिलो हेराई घरको फुसको छानोमा परेको सुनाए।

उनले भने, ‘पहिले जस्तो फुसको घर थियो, अहिले पनि उस्तै रहेछ, विदेशिदा देखेका सपनाहरु व्यवहारमा ल्याउन गाह्रो हुने रहेछ।’ उनले थपे, ‘घर फर्किएर मैले कृषि पेशालाई व्यवसायिक रुपमा अगाडी बढाउने संकल्प गरे, अहिले सफल भएको अनुभुति भएको छ ।’

अमातले ठूलो स्वाँस तान्दै भने ‘सबै परिवारका सदस्यहरु मिलेर सरकारी जागिरभन्दा आम्दानी हुने तरकारी जागिर गर्न पाएकोमा खुशी छौं।’
भदौको महिना, सर्लाही जिल्लाको महेन्द्र राजमार्गमा पर्ने नयाँरोडबाट करिब १३ किलो मिटर दक्षिणमा रहेको बाग्मती नगरपालिका —४ को शंकरपुरमा जताततै हरियाली छ । खेतहरुमा रोपिएका धानहरु गोड्ने बेला भएको छ।

कोही किसान धानमा मलखाद छर्दै भेटिन्छने भने कतै गोड्दै भेटिन्छन् । जता हेर्‍यो उतै तरकारी बाली लगाइएको छ। कोवी, बन्दाकोबी, भान्टा, बोडी, भिण्डी, खोर्सानी थरीथरीका तरकारीहरु फलेका छन् । कतै उखुबारी छ त कतै दलहन बाली । सबै किसानहरु आ–आफ्नो खेतका बालीहरुलाई केही न केही गरेर सुम्सुमाई रहेका भेटिन्छन् ।

किसान र बालीबीचको मित्रता देख्दा जो कोहीलाई पनि त्यही रमाउन मन लाग्छ । कुनै बेला आकाशका बादलहरु कालो भएर मडारिरहेको हुन्छ, कुनैबेला टन्टलापुर घामले किसानको शरिरमा निस्किएको पसिनाले उनीहरुको मिहिनेतको परिभाषा गरिरहेको हुन्छ । धेरै पानी पर्दा तरकारीका बोट मर्ने पीरले किसानलाई सताई रहेको हुन्छ । प्रकृतिले दिएको उपहार घाम, पानीले किसानहरु कहिले खुशी हुने त कहिले चिन्तित हुने गरिहेका छन् ।

आफ्नै बारीमा काम गरिरहेका नन्दलाल अमात एक निम्नवर्गिय परिवारमा जन्मेका हुन्। अमातको ४ दाजुभाई र ६ दिदीबहिनी छन्। उनी घरको माइलो छोरा हुन् । बाबुआमाले जेनतेन बनीबुतो गरेर गुजारा चलाइरहेका थिए। अमातले भने ‘हामी १२ जनाको परिवार त्यसमाथि बहिनीको बिहे गर्ने बेला भएको दाइजोको जोहो त गर्नु नै छ ।’ उनले थपे, ‘नेपालमा बसेर खान लाउन धौ–धौ भएको र फुसको घरको छानोमा टीन समेत हाल्न नसकेको अवस्थामा विदेश जान मन लाग्नु स्वभाविक हो । ’

अमात नेपाल आएपछि जग्गा भाडामा लिएर खेती गर्न शुरु गरे । विस्तारै बैंकबाट कृषि कर्जा लिएर सपरिवार खेती गर्न थाले । तरकारी खेती, आलु खेती, धान खेती र मकै खेतीबाट शुरु गरे । अमात भन्छन् ‘तरकारी हाम्रो लागि नगदे बाली भएको छ ।’

उनले थपे ‘हप्तामा ३÷४ दिन व्यापारीलाई तरकारी बेच्छौं । बेचेर आएको पैसाले ऋणको किस्ता तिर्ने र घरखर्च चलेको छ ।’ ‘पहिला खानाको लागि धौ–धौ हुने परिवारमा अहिले सपरिवार आनन्दले बाँचिरहेका छौं’ अमातले भने ।

अमातले भन्छन्, ‘प्रदेश सरकारले ल्याएको किसानहरुलाई राहत कार्यक्रमले दिएको ब्याज अनुदानले हामीलाई ठुलो राहत मिलेको छ ।’ उनले थपे, ‘मिहेनत गर्न सके विदेशको भन्दा स्वदेशमा नै तरकारी खेती गरेर राम्रो आम्दानी गर्न सकिन्छ ।’

उनी भन्छन्, ‘अब बचेको आम्दानीले केही जग्गा किन्ने सोच बनाएका छौं ।’ आफूले विदेश गएर पाएको ठक्कर संझना गर्दै भने, ‘विदेश गएर म ६ वर्ष पछाडी परे ।’ ‘पहिला नै जग्गा भाडामा लिएर खेती गरेको भए अहिले केही जग्गासमेत किन्न सकिन्थ्यो’ पछुताऊ गर्दै उनले सुनाए ।

त्यसैगरी राम नरेश महतोले सञ्चालन गरेको राधाकृष्ण भैसी फर्ममा २५ वटा भैंसी छ । महतोले बैदेशिक रोजगारबाट फर्केपछि भैंसी पालन व्यवसाय गरेका हुन् । भैसीलाई गर्मी र लामखुट्टेबाट जोगाउन गोठमा झुलको व्यवस्था गरिएको छ ।

महतोले भने, ‘घाँसलाई मसिनो पारेर काट्न प्रदेश सरकारले अनुदानमा मेसिन दिएको छ ।’ कोरोनाका कारणले विदेशमा रोजगारी गुमेपछि उनी ७ महिनामा नै स्वदेश फर्किएका हुन् । महतोसंग बैदेशिक रोजगारमा जाँदा लिएको ऋण चुक्ता नहुदै फर्किनु परेको तितो अनुभव उनीसंग छ ।

महतो भन्छन्, ‘ठूलो सपना बोकेर विदेश गए, तर कम्पनी बन्द भएपछि खाली हात घर फर्किए ।’ गाउँमै केही गरौं भनेर महतोले आफ्न्तसँग ऋण लिएर भैसी पालन शुरु गरे । उनले भने ‘गाउँलेले पशु पाल्दा गरेको हैरानी देखेर गोबर कसरी सोर्ने होला ? भैसीलाई कसरी स्याहार गर्ने होला ? भनेर पशुपालन गर्न आँट नै आउदैनथ्यो ।’ तर, अहिले गोबर उनको लागि मोहर भएकोमा गर्व गर्दैछन् । महतोले भने,‘भैँसीको दुध बेचेर महिनाको २ लाख रुपैयाँसम्म बचत भएको छ ।’

त्यसैगरी बरहथवा नगरपालिका –३ मा रहेको विवेक पशुपालन फार्मका सञ्चालक सिंह पहिले रहरै रहरमा २ लाख ५० हजार कर्जा गरेर विदेश त गए, तर राम्रो कमाई भएन । कमाउने सोँच भएपछि घर छेऊमै काम गर्न सजिलो हुने भएकोले पशुपालन व्यवसाय रोजेको सिंहले बताए । दुई कठ्ठा जग्गामा सिंहले सञ्चालन गरेको फर्म हाउसमा १४ वटा भैसी, ८ वटा पाडापाडी, २० वटाबाख्रा, ८ वटा खरायो, ९ वटा हाँस र कुखुरा छन् । छेउमै माछापालन गरेका छन् ।

सिंहको फर्ममा समेत भैसीलाई गर्मीबाट जोगाउनको लागि सिलिङ फ्यानाको व्यवस्था गरिएको छ । उनी भन्छन् ‘पशुपालन व्यवसाय शुरु गर्ने बेलामा भैंसी राख्नका लागि गोठ नभएकोले शुरुमा घरको आँगनमा नै राख्यौं ।’ दुईवटा भैंसी र ७ वटा पाडा किनेर पशुपालन व्यवासय शुरु गरेका सिंहले पहिलो ४५ दिनमा बेच्दा २५ हजार रुपैयाँ फाइदा लिए । यसले उनलाई व्यवसायिक पशुपालन गर्न आकर्षित ग¥यो र फर्म दर्ता गरे ।

सिंहले व्यसायिक खेती गर्न सानिमा बैंकबाट ९ प्रतिशत व्याजदरमा ५ लाख ऋण लिएर ५ वटा भैंसी किने। त्यही भैसी पालनबाट बैंकको ऋण चुक्ता गरेको उनले बताए। सिंह हर्षसाथ भन्छन्, ‘ फेरी ५३ लाख कृषिकर्जा लिएर १४ वटा भैसी किने।’ सिंहको फर्ममा अहिले २२ वटा भैसी र ११ वटा पाडापाडीहरु छन्।

२२ मध्ये ४ वटा भैसी सुत्केरी भएका छन् भने बाँकी भैसीहरु गर्भवती छन्। सिंहको श्रीमती पार्वतीले भनिन्, ‘खर्च कटाएर दुध बेचेर महिनाको ५० हजार रुपैयाँभन्दा माथि आम्दानी हुने गरेको छ ।’ उनले थपिन, ‘तीनजनालाई रोजगारी समेत दिएका छौं।’

सिंहले भैसी सँगसँगै हाँस, कुखुरा, माछा, खरायो र बाख्रा समेत पालेका छन् । यसको आम्दानी भिन्दै छ । सिंहले भने, ‘विदेश कमाउन जानु अघि र अहिले गाउँलेबाट हुने सम्मान र सामाजिक प्रतिष्ठामा धेरै फरक पाएको छु ।’ उनको अनुभवमा ‘गाउँ स्वर्ग रहेछ, नेपालीहरु भौतारिएर अर्काको देशमा अर्काकै शासनमा बसेर काम गर्न गएका रहेछन्।’

सरकारी सुविधाको प्रशंसा गर्दै सिंहले भने, ‘बीमा कम्पनीले फर्ममा रहेको भैसीलाई प्रति भैंसी १ लाख र ६ महिना पुगेको पाडापाडीलाई प्रतिगोटा ३० हजारको दरले बीमा गरिदिएको छ ।’ उनले भने, ‘यसले गर्दा हाम्रो पशुधन सुरक्षित भएको छ ।’

विदेशमा कामगर्दा धेरैको कोभिडले जागिर गुमेपनि गाउँमै कृषि र पशुपालनगर्नेको जागिर भने नगुमेको उनले बताए । विदेशबाट फर्किन बाँकीहरु समेत फर्किए पछि पशुपालन व्यवसाय नै गर्ने बताइरहेको उनले सुनाए ।

सिंहले बनाएको सानो माछा पोखरीमा ५ हजार रुपैयाँको पाँच सय माछा हालेको ४ महिना पछि बेच्दा ५० हजार रुपैयाँ नाफा भएको बताए । अहिले उनले ३५ हजार रुपैयाँको ३५ सय माछाका भुरा हालेका छन् । पाँच सय भुरा हाल्दा ५० हजार फाइदा लिएका सिंह ३५ हजार भुरा चार महिना पुगेपछि ३ लाख ५० हजार रुपैयाँ आम्दानी हुनेमा विश्वस्त छन् ।

सिंहको फर्ममा पशुलाई लाग्ने रोगबारे जानकारी दिन आएका सर्लाहीका भेटनरी शाखा प्रमुख डा.रामइश्वर रायलाई भैसीले पुच्छर चलाउँदा सेतो सर्टमा गोबर लाग्यो । डा.रायले ‘ओहो भैसीले सर्ट खराब पारिदियो’ भने  गोबरको महत्व बताउँदै सिंहकी श्रमती पार्वतीले भनिन् ‘सर, हम सफा क दई छि, चिन्ता नई करु, हमरा सबके देहमे त दिनभइर गोबर लागले रहई हई ।’ ( सर म सफा गरिदिन्छु, चिन्ता नगर्नुस, हाम्रो शरिरमा त दिनभर गोबर लागि रहन्छ ।) उनले अझ थपेर भनिन्, ‘ हमरा सबके लागि यी गोबर मोहर हई’ ( हाम्रो लागि त यो गोबर मोहर हो )।’

सिंहको फर्ममा लोकल कुखुरा समेत पालिएको छ । सिंह भन्छन्, ‘शुरुमा २० वटा चल्ला ल्याएर पालेकोमा ठूलो भएर त्यसले पारेको अण्डालाई ह्याचरी मेसिनमा लगेर थप चल्ला बनायौं ।’

सिंहले २० वटा कुखुराको अण्डाबाट १ सय ५० वटा कुखुरा भएको बताए । उनले भने, ‘एउटा कुखुराले एकचोटीमा २०÷२२ वटासम्म फुलपार्ने गरेको छ ।’ सिंहकी श्रीमती पार्वतीले भनिन्, ‘पैसा चाहिएको बेला कुखुरा बेचेर नै घरखर्र्च चलाउने गरेका छौं ।’ भाले कुखुरा प्रति केजी आठ सय रुपैयाँ र पोथी कुखुरा प्रति केजी छ सय रुपैयाँको दरले बेच्ने गरेको उनले बताइन् ।

कृषि र पशुपालनका लागि सरकारी अवसर 

सरकारले कृषी व्यवसाय गर्दा आइपर्ने जोखिम न्यून गरी कृषकलाई व्यावसायिक खेतीतर्फ आकर्षित गर्दै लगानीको सुरक्षा गर्न बीमामा सहुलियत दिने गरेको छ । यसका लागि सरकारले बाली तथा पशुपंक्षी बीमा निर्देशन, २०६९ लागू गरेको छ ।

राष्ट्रिय कृषिनीति २०६१, कृषि व्यवसाय प्रवद्र्धन नीति २०६९, शासकीय तथा आर्थिक सुधारको तत्कालीन कार्ययोजना २०६९ र अर्थ मन्त्रालयले विभिन्न बार्षिक बजेट मार्फत बीमाको व्यवस्था गरेको छ ।

पशुबीमा गर्दा थुनिलो (गाईभैसीले दुध नदिनु अथवा थुनगानो) भएकोमा ३० प्रतिशत क्षतिपूर्ति पाउने व्यवस्था गरिएको छ । साथै पशु अशक्त, अपाङ्ग अथवा विरामी भएको खण्डमा ५० प्रतिशत क्षतिपूर्ति पाउने र पशु मृत्यु भएमा ९० प्रतिशत क्षतिपूर्ति पाउने गरेको सर्लाहीका पशु विकास अधिकृत अरुणकुमार सिंह बताए ।

पहिला सरकारले बीमा वापतको रकममा ७५ प्रतिशत अनुदान दिने र बाँकी २५ प्रतिशत किसानले व्यहोर्ने व्यवस्था थियो । तर अहिले आएर ५० प्रतिशत सरकारले अनुदान दिने र ५० प्रतिशत किसानले व्यहोर्नु पर्ने भएको छ। जसले गर्दा किसानलाई मर्का परेको पशु विकास अधिकृत सिंहले बताएका छन्।

बीमा कम्पनीको प्रतिनिधि भोगेन्द्र महतोका अनुसार पशु थुनिलो हुँदा, अशक्त, अपाङ्ग अथवा विरामी हुँदा किसानलाई क्षतिपूर्ति दिन सकिदैन । बीमा कम्पनी र किसानबीचको यो विवादमा सरकारले मध्यस्तता गर्नुपर्ने देखिएको छ।

बरहथवा नगरपालिकाको कृषि विकास शाखाले यूवा लक्षित कार्यक्रम, कृषक समूह÷सहकारी मार्फत प्राङ्गारिक (भर्मिकम्पोष्ट), पशु गोठ सुधार तथा घाँसे बाली उत्पादन प्रवद्र्धन, दुग्ध उत्पादन प्रवद्र्धन कार्यक्रम ल्याएको छ । यी कार्यक्रमले यूवाहरु पशुपालन तर्फ आर्कषित हुन थालेका छन् ।

भेटेनरी शाखा प्रमुख डा. रामइश्वर रायका अनुसार कोभिडको कारणले धेरै युवाहरु बेरोजगार भएकोले गर्दा पशुपालन तर्फ लागेका हुन् । रायले भने, ‘किसानले व्यवसायिक पशुपालनबाट मनग्य आम्दानी गर्न थालेका छन्।’

किसानको घर घरमा दुध डेरीका मान्छे दुध लिनका लागि पुग्ने गरेको र दुध बेचेर बैंकको ऋण तिर्नुका साथै घरखर्च चलाउन सहज भएको कृषक श्रवण कुमार रायको कथन छ । सहकारी भन्दा बैंकले सस्तो दरमा ऋणदिएकाले पशुपालन व्यवसाय फस्टाएको रायले बताए ।

संघीय सरकारले कटौती गरेको २५ प्रतिशत बीमा वापत्को रकम अब प्रदेश सरकारले उपलब्ध गराउने प्रदेश २ का अर्थ मन्त्री शैलेन्द्र साहले बताए । मन्त्री साहले भने, ‘निषेधाज्ञामा किसानलाई परेको घाटालाई प्रदेश सरकारले ल्याएको प्रतिलिटर १० रुपैयाँ क्षतिपूर्ति अनुदानले केही हदसम्म राहत मिलेको छ ।’

मन्त्री साहका अनुसार रोजगारी मुलक कार्यक्रमा हुलाकी राजमार्ग कार्यक्रम अन्र्तगत दुध उत्पादन बढाउने लक्ष्यका साथ ‘दुध मिसन’ कार्यक्रम प्रदेश सरकारले ल्याएको हो । यो कार्यक्रमलाई सफल बनाउनको लागि प्रदेश सरकारले गोठ बनाइदिने, विभिन्न उपकरण जस्तो ट्याक्टर, हाथे ट्याक्टर, थ्रेस मेसिनहरु, दुध दुहुने मेसिन, क्यान, पशु विरामी हुँदा औषधि दिने जस्ता काम गरेको मन्त्री साहले बताए । उनले भने, ‘प्रदेश सरकारले दिएको सहुलियतले गर्दा पहिलाभन्दा अहिले यूवाहरु पशुपालन तर्फ आर्कषित छन् ।’

सर्लाही जिल्लामा कृषिलाई व्यवसायीकरण गर्न कृषि विकास बरहथवा शाखाले विभिन्न तालिमहरु दिने गरेको छ । यूवा लक्षित कार्यक्रम, कृषक समूह÷सहकारी मार्फत प्राङ्गारिक (भर्मिकम्पोष्ट), पशु गोठ सुधार तथा घाँसे बाली उत्पादन प्रवद्र्धन, दुग्ध उत्पादन प्रवद्र्धन कार्यक्रम सम्बन्धी तालिम दिने गरिएको कृषि विकास शाखाका प्रमुख अरुणकुमार कुशवाहाले बताए ।

सर्लाहीमा धान, मकै, गहुँजस्ता अन्नबाली हुने गरेको छ । यस क्षेत्रमा मुसुरो दाल, मासको दाल, खेसरीको दाल, रहरको दाल, चनाजस्ता दालहन उब्जने गरेको छ । तरकारीमा आलु, काउली, भान्टा, बन्दा, ओल, चिप्लेभिण्डीजस्ता नगदेबाली व्यवसायिक रुपमा उत्पादन हुने गरेको छ । यहाँका किसानहरु व्यवसायिक रुपमा मेवाखेती, केराखेती, परवल खेती पनि गर्ने गरेको छ । त्यस्तै तेलहनमा तोरी र रायो पनि उब्जाउने गरेका छन् । सर्लाही जिल्लामा पहिला व्यवसायिक रुपमा उखु खेतीहुने गरेको थियो । तर, किसानहरुले उखुको पैसा चिनी मिलले नदिएपछि किसानहरु उखुखेतीप्रति निरुत्साहित भएका छन् ।

कृषि र पशुपालनका लागि पकेट एरिया भएको सर्लाहीका किसानहरुले कहिल्यै चाहिएको बेला आवश्यक मात्रामा मल र उन्नत बीऊ नपाएको किसान राजकिशोर महतोले बताए । उनले भने ‘किसानलाई ५ बोरा मल चाहिएको छ भने ५ केजीमात्र पाउने गरेका छन् ।’ ‘यो तरिकाले कसरी खेती गर्न सकिन्छ ? महतो प्रश्न गर्छन् ।’

यसैगरी जग्गा भाडामा लिई व्यावसायिक खेती, पशु गोठ सुधार तथा घाँसे बाली उत्पादन प्रवद्र्धन, दुग्ध उत्पादन प्रवद्र्धन कार्यक्रम, कृषि विभाग अन्तर्गत सञ्चालन हुने युवा लक्षित कार्यक्रम, पशु सेवा विभाग अन्तर्गत सञ्चालनहुने युवा लक्षित कार्यक्रमहरु सर्लाही जिल्लामा विभिन्न गाउँपालिका र नगरपालिका अन्तर्गत भइरहेका छन् । कृषक समूह/सहकारी मार्फत प्राङ्गारिक (भर्मिकम्पोष्ट), मौरी, च्याउ, रेशम कार्यक्रम आदि क्षेत्रमा सरकारले अनुदानको व्यवस्था गरेको प्रदेश मन्त्री साहले बताए ।

कोभिड–१९ बाट प्रभावित किसानहरुलाई प्रदेश नम्बर २ सरकारले विशेष प्याकेज अनुदान कार्यक्रम ल्याएको मन्त्री साहले बताए । कोभिड प्रभावित किसानहरुलाई राहत कार्यक्रम अन्र्तगत रहेको व्याज अनुदान कार्यक्रम मार्फत प्रदेश सरकारले कृषिका लागि लिएको कृषिकर्जाको ४ महिनाको व्याज तिरिदिएको अर्थमन्त्री साहको भनाई रहेको छ । मन्त्री साहले भने, ‘४ महिनाको ब्याज तिर्ने कार्यक्रमबाट ५० हजार किसान लाभांन्वित भएका छन् ।’

प्रदेश २ को सरकारले साना किसानहरुलाई तरकारी तथा फलफुल खेतीमा हुनगएको क्षतिलाई राहत कार्यक्रम अन्र्तगत रहेको क्षति अनुदान कार्यक्रम मार्फत प्रतिकठ्ठा ७ सय रुपैयाँको दरले उपलब्ध गराएको छ । यस कार्यक्रमबाट १५ हजारभन्दा बढी किसानहरु लाभान्वित भएको मन्त्री साहले बताए ।

मन्त्री साहले भने ‘कृषिमा बढ्दो यान्त्रीकीकरणले गर्दा प्रदेश २ मा युवा पुस्ता कृषि र पशुपालनतर्फ बढी आर्कषित भएका छन् ।’ उत्पादित उपजलाई बजार भाउ दिन ठाउँठाउँमा प्रशोधन केन्द्र र शितभण्डारको व्यवस्था चालु आर्थिक वर्षभित्र गर्ने मन्त्री साहले दावी गरेका छन् ।
( सञ्चारिका समूह नेपाल )




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *