विवादका बीच डडेल्धुरामा कांग्रेस वडा अधिवेशन, जिल्ला सभापतिले गरे बहिस्कारकाे घाेषणा

डिसी नेपाल
२५ भदौ २०७८ ८:३९

डडेल्धुरा । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाकाे गृह जिल्ला डडेल्धुरामा विवादकाबीच वडा अधिवेशन सुरु भएकाे छ।

जिल्ला कार्यसमितिले बहिस्कारकाे निर्णय गरे पनि सात वटा स्थानीय तहका ५२ वडामध्ये ४८ मा निर्वाचन प्रक्रिया सुरु भइसकेकाे निर्वाचन समितिले जानकारी दिएकाे छ। बाँकी वडामा पनि अधिवेशन सुरु गर्न छलफल भइरहेकाे निर्वाचन अधिकृत लोकेन्द्रबहादुर बमले जानकारी दिए।

कांग्रेस डडेल्धुराका सभापति कर्णबहादुर मल्लले सदस्यता विवाद नै नटु‌ंग्याइ गरिएकाे अधिवेशनमा आफूहरुकाे सहभागिता नहुने न्युज कारखानालाई बताए । सभापति देउवा पक्षधरले एकलाैटी रुपमा क्रियाशील सदस्यतादेखि उम्मेदवारसम्मकाे टुंगाे केन्द्रबाटै लगाएकाे मल्लकाे आराेप छ । ‘देउवाले बल प्रयोग गरेर अधिवेशन गर्दैछन्। यो हामीलाई अमान्य छ,’ उनले भने।

कांग्रेस डडेल्धुरा जिल्ला कार्यसमितिले वडा, पालिका र प्रदेश सभा निर्वाचन क्षेत्रीय समितिका साथै जिल्ला कार्यसमिति गरेर चार तहबाट क्रियाशील सदस्यको नवीकरण र नयाँ सदस्यताका लागि निर्णय गरेर केन्द्रमा पठाए पनि केन्द्रबाट चार सय ६० जनाको नाम काटेकाे आराेप छ । त्यस्तै लिस्टमा तीन सय १२ जनाको नाम थपेर मतदाता नामावली सार्वजनिक भएपछि विवाद उत्पन्न भएको हो।

नेपाल प्रहरीको तालिम केन्द्र र दंगा प्रहरी गणबाट ठूलो संख्यामा प्रहरी डडेल्धुरा झिकाइएको छ। यसअघि पनि कांग्रेसका दुई समूहबीच कुटाकुट भएको र विवादकाबीच अधिवेशन हुन थालेपछि सुरक्षा व्यवस्था कडा पारिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक महेन्द्र नेपालले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *