पौडेल समूहकाे देउवालाई चेतावनी : कांग्रेस अधिवेशनमा प्रशासनको दुरुपयोग नहोस्
काठमाडौं। कांग्रेसको आसन्न १४औं महाधिवेशनअन्तर्गत वडा तहको अधिवेशनमा सत्ताको दुरुपयोग भएको आशंका गर्दै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरूले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेका छन्।
शुक्रबार बिहान नेता पौडेलको नेतृत्वमा महामन्त्री डा.शशांक कोइराला, प्रकाशमान सिंह, अर्जुननरसिंह केसी, डा.मिनेन्द्र रिजाल र जीवन परियारसहितको टोलीले पार्टी सभापतिसमेत रहेका देउवालाई बालुवाटार पुगेर पार्टीका क्रियाशील सदस्यहरूको छानबिन निष्पक्ष र पारदर्शी ढंगले सम्पन्न गर्न तथा पार्टीको महाधिवेशनमा राज्यको पुलिस प्रशासनको दुरुपयोग हुन नदिन ध्यानाकर्षण गराएका छन्।
देउवाकै गृहजिल्ला डडेल्धुरामा क्रियाशील सदस्यता विवादबीच आज वडा तहको अधिवेशन भइरहेको छ। जबकि कांग्रेस जिल्ला समितिले अधिवेशन स्थगित भएको सूचना जारी गरेको थियो । यही सन्दर्भलाई लिएर पनि पौडेल समूह आज देउवालाई भेट्न बालुवाटार पुगेको हो।
नेता पौडेलले आफूहरूले सभापति देउवाको ध्यानाकर्षण गराएको जानकारी दिए।
‘पार्टी निर्वाचनलाई धाँधलीरहित र निष्पक्ष बनाउन सहयोग गर्नुहोस्, पार्टीका क्रियाशील सदस्यहरूको छानबिन निष्पक्ष र पारदर्शी ढंगले सम्पन्न होस् र पार्टीको महाधिवेशनमा राज्यको पुलिस र प्रशासनको दुरुपयोग हुन नपाओस् भनेर ध्यानाकर्षण गरायौं,’ पौडेलले भने।
No ads found for this position


डिसी नेपाल
Facebook Comment