कर्णालीको मुख्यमन्त्रीमा मंगलबहादुर शाही बन्ने पक्का, आइतबार सुर्खेतमा बैठक बोलाइयो
काठमाडौं। नेकपा एमाले र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बीच शनिबार भएको प्रदेश सरकारको भागबण्डाअन्तर्गत कर्णाली प्रदेशमा नेकपा संसदीय दलका नेता मंगलबहादुर शाही मुख्यमन्त्री बन्ने पक्का भएको छ।
मुगुबाट निर्वाचित प्रदेशसभा सदस्यसमेत रहेका शाहीलाई मुख्यमन्त्री बनाउने सहमति जुटेसँगै आइतबार त्यससम्बन्धी औपचारिक निर्णयका लागि सुर्खेतमा बैठक आह्वान गरिएको छ। नेकपाका प्रवक्ता प्रकाश ज्वालाले संसदीय दलको नेता हुँदाहुँदै अन्य व्यक्तिको बारेमा छलफल गर्न आवश्यक नरहेको प्रष्ट पारेका छन्।
प्रवक्ता ज्वालाका अनुसार कर्णाली प्रदेशमा माधवकुमार नेपाल नेतृत्वको साविक नेकपा (एस) का तर्फबाट प्रदेशसभा सदस्य कल्याणी खड्काले मुख्यमन्त्रीमा दाबी गर्न सक्ने सम्भावना अति न्यून रहेको छ। रुकुम पश्चिमबाट निर्वाचित खड्कालाई पनि दाबेदारका रूपमा हेरिए पनि साविक नेकपा एसले तत्काल कर्णालीमा मुख्यमन्त्री दाबी नगर्ने उनको भनाइ छ। कुनै साथीको प्रस्ताव सहमतिमा आएमा मात्र छलफल गर्न सकिने भए पनि हाल त्यस्तो कुनै तयारी नरहेको उनले बताए।
प्रदेश सरकारको नेतृत्व बाँडफाँटमा साविक नेकपा एसका तर्फबाट कर्णालीमा कल्याणी खड्का, कोशीमा राजेन्द्र राई र सुदूरपश्चिममा नरेशबहादुर शाहीलाई मुख्यमन्त्रीका प्रमुख दाबेदारका रूपमा हेरिएको थियो। तीमध्ये कोशीका दाबेदार राजेन्द्र राईले यसअघि नै आफ्नो कुनै दाबी नरहने सार्वजनिक रूपमा नै प्रष्टीकरण दिइसकेका छन्। राई २०७४ मा गठित प्रदेशसभाको पहिलो कार्यकालका अन्तिम मुख्यमन्त्री हुन्।
यसैबीच, सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्रीका दाबेदारका रूपमा हेरिएका नरेशबहादुर शाहीले भने शनिबार एमालेसँग भएको सत्ता भागबण्डाको सहमतिप्रति असन्तुष्टि जनाएका छन्। पार्टीको आधिकारिक निर्णयबिना नै सहमति गरिएको भन्दै उनले सामाजिक सञ्जालमार्फत आफ्नो असन्तुष्टि व्यक्त गरेका छन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment