संसद् बैठकमा एमाले सांसदको नाराबाजी

डिसी नेपाल
२५ भदौ २०७८ १३:३६

काठमाडौं। प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्षी दल एमालेका सांसदहरूले नारबाजी गरिरहेका छन् । सभामुख अग्निप्रसाद सापकोटाको भूमिकालाई लिएर एमालेका सांसदहरूले नाराबाजी गर्दै बैठकमा अवरोध सृजना गरिरहेका छन्।

सभामुख सापकोटाले जनताको चासो र चिन्ताको विषयमाथि सांसदहरूले कुरा उठाउने हुने भएकाले बैठक सञ्चालनमा सहयोग गर्न आग्रह गरे पनि एमालेका सांसदहरूको नाराबाजी रोकिएको छैन। सभामुख सापकोटाले बारम्बार बैठक सञ्चालनमा सहयोग गर्न आग्रह गरिरहेका छन्।

यसैबीच संसद् बैठकमा अवरोध सृजना गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले एमालेका सांसदहरूलाई संविधानको धारा १०५ बारम्बार स्मरण गराइरहेका छन्। एमाले विभाजनमा सभामुख सापकोटाको भूमिका रहेको भन्दै एमाले सांसदहरूको आरोप रहँदै आएको छ । यस विषयमा सर्वाेच्च अदालतमा समेत रिट परेको छ।

सभामुख सापकोटाको भूमिकालाई लिएर एमालेका सांसदहरूले अहिले संसद बैठकमा नाराबाजी गरिरहेका छन्। यहीक्रममा सभामुख सापकोटाले संविधानको धारा १०५ स्मरण गराइरहेका छन्।

नेपालको संविधानको धारा १०५ मा लेखिएको छ : नेपालको कुनै अदालतमा विचाराधीन मुद्दाहरूका सम्बन्धमा न्याय निरूपणमा प्रतिकूल असर पार्ने विषय तगा न्यायाधीशले कर्तव्य पालनको सिलसिलामा गरेको न्यायिक कार्यको सम्बन्धमा संघीय संसदको कुनै सदनमा छलफल गरिने छैन। तर, महाभियोगको प्रस्तावमा छलफल गर्दा न्यायाधीशको आचरणको सम्बन्धमा कुनै कुरा व्यक्त गर्न यस धाराले बाधा पु-याएको मानिने छैन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *