१४ सांसदलाई नमान्न र सभामुखले माफी माग्नुपर्ने मागसहित राष्ट्रियसभामा अवरोध

डिसी नेपाल
२५ भदौ २०७८ १४:३१

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसदहरूले राष्ट्रियसभा बैठकमा उठेर अवरोध गर्दै माधव नेपाल पक्षका सांसदविरुद्ध विरोध गरेका छन् । अवरोधका क्रममा बैठकमा बोल्दै एमाले राष्ट्रियसभा सदस्य देवेन्द्र दाहालले माधव नेपालसहित एमालेले कारबाही गरेका १४ जनालाई सांसदको रूपमा ग्रहण नगर्ने र गल्तीका लागि प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले माफी माग्नुपर्ने माग गरेका छन् ।

एमालेको तर्फबाट बोल्दै दाहालले सरकार, सभामुख र निर्वाचन आयोग मिलेर लोकतन्त्र र एमालेलाई कमजोर बनाउने षडयन्त्रमा लागेको आरोप लगाए । साथै, माग पूरा नभएसम्म सदन चल्न नदिने बताएका छन् ।

उनले भने, ‘यतिबेला नक्कली प्रजातन्त्रवादी, लोकतन्त्रवादी र सक्कली प्रजातन्त्र, लोकतन्त्रवादीको लडाइँ चलिरहेको छ । नक्कली प्रजातन्त्रवादी, लोकतन्त्रवादीको मुखुण्डो त्यतिखेर उत्रियो, जतिबेला चलिरहेको संसदलाई स्थगित गरेर भोलिपल्ट हतार हतार दल विभाजनसम्बन्धी अध्यादेश ल्याइयो ।’

दाहालले भने, ‘अध्यादेशमात्र ल्याइएन यसअघिको सरकारले ४० प्रतिशत प्रावधानमा र, लाई, वा बनाएर ल्याएको भन्दा पनि पूरै तयारीका साथ एमाले फुटाउन २० प्रतिशत बनाएर ल्याइयो । हामीले अध्यादेश ल्याउँदा कुनै दल फुटेन । तर अहिले दल फुटाउने र दर्ता गर्ने काम भयो । लोकतन्त्रमा राजनीतिक दल बलियो हुनुपर्छ । तर एमालेलाई कमजोर बनाउने चेष्टा गरियो ।’

उनले माधव नेपालसहित १४ जना सांसदको कारबाही पेन्डिङ गर्ने, त्यहीँ आधारमा दल दर्ता गर्ने काम गरेर सभामुख, निर्वाचन आयोग र सरकार एमालेलाई कमजोर बनाउन लागेको, लोकतन्त्रलाई मास्न लागेको आरोप लगाए ।

‘हिजो ओलीले त्यस्तै विधेयक ल्याउँदा लोकतन्त्र, प्रजातन्त्र मास्यो भन्नेहरूले अहिले त २० प्रतिशतमा र पनि नराखेर वा भनेर ल्याए,’ उनले भने, ‘प्रजातन्त्र कसले मास्न लागिरहेको छ भन्दा यो परमादेशी सरकार, सभामुख, निर्वाचन आयोगले मिलेर लोकतन्त्र र लोकतन्त्रमा दललाई कमजोर पार्न लागिरहेका छन् । यो विकृति विसंगतिका लागि हामी विरोध जनाइरहेका छौं ।’

१४ जना सांसदलाई एमालेले निकालिसकेको भन्दै दाहालले उनीहरूलाई सांसदको रुपमा ग्रहण गर्न नहुने बताए । यसमा भएको कमीकमजोरीका लागि सभामुखले माफी माग्नुपर्ने उनको माग थियो । सोही कारण आफूहरू विरोधमा उत्रिएको र संसद चल्न नदिने जानकारी उनले गराए ।

अवरोधकाबीच दल विभाजनसम्बन्धी अध्यादेश पेश

एमालेको अवरोधका बीच सरकारले राष्ट्रियसभा बैठकमा राजनीतिक दलसम्बन्धी दोस्रो संशोधन अध्यादेश, २०७८ पेस गरेको छ । गृहमन्त्री बालकृष्ण खाँणले अध्यादेश पेस गरेका हुन् ।

अध्यादेश पेस गर्दा एमालेका सांसदहरू उठेर विरोध जनाएका थिए । दल विभाजन अध्यादेश पेशपछि कार्यसूचीमा रहेको अन्य कार्यक्रम राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले हटाएपछि एमाले सांसद बसेका थिए ।

त्यसपछि बैठकले सभासदहरू महेन्द्र शेरचन र जेबी टुहुरेको निधनप्रति शोक प्रस्ताव पारित गरेको थियो । अर्को बैठक २८ भदौ दिउँसो १ बजे बस्नेगरी स्थगित भएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *