कांग्रेसको पालिका अधिवेशन सर्‍यो, कार्यतालिकामा हेरफेर गर्ने प्रस्ताव

डिसी नेपाल
२५ भदौ २०७८ १८:०१

काठमाडौं । नेपाली कांग्रेसको जारी महाधिवेशनको कार्यतालिका फेरबदल हुने भएको छ । प्रदेश र केन्द्रीय महाधिवेशन तोकिएकै मितिमा गर्ने गरी बाँकी अधिवेशनको समयतालिका संशोधन गर्ने तयारी भइरहेको कांग्रेसका एक नेताले बताए ।

उनका अनुसार बाँकी जिल्लाको वडा, पालिका, प्रदेशसभा, प्रतिनिधिसभा र जिल्ला अधिवेशनको मिति परिमार्जन गर्नेबारे छलफल भइरहेको छ । ती नेताले भने, ‘प्रदेश र केन्द्रको महाधिवेशन पुरानै मितिमा हुन्छ, बाँकीको अधिवेशन कम्तीमा एक साता पर सर्न सक्छ ।’ संसद अधिवेशन चलिरहेकाले सांसदहरु काठमाडौं बाहिर जान नमिल्ने हुँदा महाधिवेशन कार्यतालिका संशोधन गर्न लागिएको बताइएको छ ।

सदस्यताको विवादका कारण वडा तहको अधिवेशन प्रभावित भएपछि कांग्रेसले पुनः कार्यतालिकामा फेरबदल गर्न लागेको हो । सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच कार्यतालिका फेरबदल गर्ने विषयमा सहमति भइसकेको छ । ‘कार्यतालिका फेरबदल गर्ने सहमति भइसक्यो । अब आधिकारिकरुपमा आउँछ,’ उनले बताएका छन् ।

देउवा र पौडेलबीच बिहीबार बालुवाटारमा भेटवार्ता भएको थियो । त्यसक्रममा पौडेलले वडा अधिवेशन सम्पन्न भएपछि ७५३ वटै पालिकाको अधिवेशन एकै दिन गर्नुपर्ने प्रस्ताव गरेका थिए । शुक्रबार बिहान पुनः नेता पौडेल, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंहसहित नेताहरुले देउवालाई भेटेर ध्यानाकर्षण गराएका थिए । त्यसपछि देउवाले महाधिवेशनको यसअघि सार्वजनिक कार्यतालिकामै हेरफेर गर्ने तयारी गरेका छन् ।

यसअघि २७ भदौ अर्थात् आइतबारका लागि पालिका अधिवेशनको मिति तोकिएको थियो । तर, शुक्रबारसम्म पनि वडा अधिवेशन नै सकिएको छैन । भदौ १८ मै ७७ वटै जिल्लामा वडा अधिवेशन गर्ने कार्यतालिका थियो । तर, २१ वटा जिल्लामा क्रियाशील सदस्यताको विवाद अझै पनि सुल्झिएको छैन । ती जिल्लाको वडा अधिवेशन नै अझैसम्म अनिश्चित छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *