कथा : ‘सहकारी भवन’

डिसी नेपाल
२६ भदौ २०७८ ६:५८

आर्थिक रूपले बढी सम्पन्न जम्मा पाँचजना थिए गाउँमा। उनीहरूबाट गाउँलेले भरअभर पैसा पाउँथे ,ब्याज तिर्थे। भएको पैसाले पैसाकै हाँगा हालिरहेको थियो। मान्छे आउँछन्,माग्छन् तमसुक बनाउँछन् लैजान्छन्, ल्याउँछन् ,तिर्छन्, तमसुक च्यात्छन् वा थपनी गरेको भए नयाँ बनाएर पुरानो साट्छन्, यस्तै गरेर वर्षौं बितेको छ।

कोही ठीक समयमा ल्याउँदैनन्, कसैलाई सम्झाउन घरमै जानुपर्छ। कतिको अवस्था खच्किएर लगेको ऋण तिर्ने क्षमता नै गुमेको छ । पाँचै जनाको उस्तै दशा थियो।

आखीर कतिञ्जेल यसरी सकिन्छ ? धन बढ्छ भनेर लगानी गरेको डुब्ने सम्भावना पनि उत्तिकै थियो। गाउँघरमा चलेको व्याज अलिक बढी नै पनि हुन्थ्यो। पाँचजना मध्येका बजरङ्गी बाले गाउँको सामुहिक हितका कामहरूमा पनि ध्यान दिने गरेका थिए,कुलो बाटो ,विद्यालय, स्वास्थ्य केन्द्र आदि निर्माण, व्यवस्थापन ,सञ्चालनमा नि:शुल्क सहभागिता जनाउँथे, अरूलाई पनि प्रेरित गर्थे।

अ‍ौसतमा सरल, सहयोगी ,विकासप्रेमी व्यक्तित्व भएकाले उनलाई गाउँघरमा जश नै प्राप्त भएको थियो। बुढौली बढ्दै जाँदा शरीरले पनि धेरै खट्न गाह्रो मान्न थालेको थियो। ” कहिलेसम्म यसरी खटिरहने? उनका मनले भन्थ्यो।

मान्छे घरमा आइरहन्छन् घरमा खट्नु, तमसुक बनाउनु शर्त राख्नु , सजग बनाउनु, ऋण दिनु, हरहिसाब गर्नु, मिलान गर्नु थपघट गर्नु , दिमागले पनि काम गर्न मान्दैन कहिलेकाहिं, घरव्यवहार उस्तै लथालिङ्ग। छोराछोरी पढ्न गएका छन् शहरमा । बूढीलाई घरभित्रको धन्दा, सरसफाइ, चुलोचौको, वस्तुभाउ नै भ्याइनभ्याई छ।

तपाईं पनि कस्तो शंका गर्नुन्हुन्छ ए बा ..! भन्दै नजिकै जोडिंदै आएर ठेकेदारले एउटा बिटो बाको अस्कोटका गोजिमा हालिदियो। बाले मात्रै त्यो बिटो देखे,अरू कसैले देखेनन्। त्यस दिन बा छिटै घर आइहाले,अनि सधैं छिटै आउन थाले यसो हेरेजसो मात्रै गरेर। उनले यो कुरा घरमा श्रीतीलाई पनि सुनाएनन्।

उठ्तीपुठ्तीमा आफैं कुद्नुपर्ने, कतिजना श्रृणीहरूका घरमा बारम्बार धाउनुपर्ने , नत्र ब्याज ता परै जाओस् सावैं डुब्ने अवस्था हुनसक्छ । उनी यी सबै कुराको चित्बुझ्दो समाधान खोज्दै थिए । दिमागमा अनेक उपायहरू फिट्तै थिए । भएभरको पैसा बैंकमा राखेर आरामले बस्ने विचार पनि नआएको होइन ,तर बैंकले दिने व्याज सम्झिएर जाँगर मर्‍याे।

गाउँघरमा चल्ने २४ प्रतिशतको कमइ र बैंकले दिने मुद्दतीको अधिकतम ८ प्रतिशत व्याज तुलना गरिहेर्दा बैंकमा सम्पति राख्ने विचार उचित लागेन। त्यसो गरिहाले पनि गाउँघरको लगानीलाई रोक्नुपर्थ्यो। मसँग अब छैन भनेर टर्न पनि असजिलो!

****

धेरै समयको दिमागी कसरतपछि उनको दिमागले उपाय निकाल्यो गाउँमा सहकारी खोल्ने। यसो गर्दा आफ्नो सम्पति पनि लगानी हुने, गाउँघरमा लगाएको ऋण पनि सजिलै उठ्ने, व्याज कम भए पनि लगानी धेरै लाग्नाले फाइदा नै हुने उनले ठहराए । यसो गर्नलाई एक्लैले नहुने हुँदा अरूको पनि सल्लाह र सम्पति परिचालन गर्नुपर्थ्यो।

स्थानीय हटियाको एक दिन उनले हाट भर्न गएका बेला गाउँका अन्य साहू, महाजनहरू र अपेक्षित हुनेखानेहरूसँग यो कुरा राखे । कुरो सबैलाई उचित लाग्यो। भोलिपल्टै बिहानै अरू पनि कतिपय मानिसलाई खबर गरेर स्कूलको चौरमा भेला भए।

सहकारी खोलने कुरामा सबैको सजिलै सहमति भयो। सम्पन्नहरूले आफ्नो धन लगानी गर्न सजिलो ठानेर सहमति गरे, विपन्नहरूले साहूको भन्दा कम व्याजमा पैसा लेनदेन गर्न पाइने भनेर सहमति गरे ,गाउँमा यो कुरामा असहमति कसैको पनि रहेन।

**

खुल्यो सहकारी। नीतिनियम बनाइए,विधान जारी भयो। कर्मचारी राखिए। गाउँघरका सबैले आफ्नो आफ्नो गच्छेअनुसार सहकारीमा खाता खोले। थोरै समयमा निकै राम्रो राशी जम्मा भयो। धेरै रकम जम्मा गर्नेहरूमा गाउँका उनै सम्पन्नहरू थिए। ऋण प्रवाह भयो। गाउँका निम्न आय भएकाहरूले साहूको व्याजभन्दा सहकारीको व्याज सस्तो भएकाले आफ्नो जेथो धितो राखेर ऋण लिए अनि साहूको हिसाब बुझाए।

पहिलेदेखि बैंकसँग कारोबार गरिल्याएका थोरै संख्याका गाउँलेहरू मात्रै सहभागी भएनन्। गाउँका साहूजीहरूलाई ता आफ्नो लगानी सबै असूली भएको र संस्थामा जम्मा गरेकोबाट नियमित ब्याज आउने गरेकाले आराम भएको थियो। ब्याज थोरै भए पनि पूँजीप्रवाह बढी हुन सकेकाले आय घटेन । बरु घरमा राख्नुपर्ने बाँझो रकमले समेत काम पाएको थियो।

उनीहरू ढुक्कसँग घरको काम गर्न,घुमफिर गर्न,आफन्तसँग भेटघाट गर्न भ्याउने मुक्त भएका थिए। यदाकदा संस्थातिर गएर गतिविधि बुझ्थे,बैठक बस्थे। बजरङ्गी बालाई भने संस्थाको विशेष हेरविचार गर्ने जिम्मेवारी मिलेको थियो र दैनिक जसो नै संस्थाको कार्यालयमा गएर कर्मचारीहरूले काम गरे नगरेको, कमीकमजोरी केही छन् कि भनेर हेर्ने समेत गर्नु परेको थियो। संस्था राम्रोसँग चल्यो।

५/७ वर्षभित्रै निकै नाफामा पुग्यो । शेयरधनीहरूले निकै बोनस पाउने अवस्था भयो। मनमनमा हिसाब पनि लगाउन थाले कतिले ता । बजरङ्गी बा पनि बोनसको रकम आउने बुझेर मनमनै खुशी भएकै थिए। सचेत युवाहरूको जमात पनि थियो गाउँमा । समितिमा तिनीहरूको पनि प्रतिनिधित्व थियो । साधारणसभामा युवाहरूले अर्कै प्रस्ताव ल्याए।

” यो नाफा नबाँडौं, बरु घडेरी किनौं संस्थाका लागि, अरू २/३ वर्षपछि घर बनाऊँ, हाम्रै स्थायी सम्पति बढ्छ। ” उनीहरूको प्रस्ताव धेरै जसोले समर्थन गरे, आनाकानी गर्ने भनेका धेरै बोनस पाउनसक्नेहरू मात्रै थिए ,बहुमतले प्रस्ताव पारित भयो। घडेरी पनि किनियो संस्थाका नाममा।

***

समय चिप्लिरह्यो। १ वर्ष बित्यो ,२ वर्ष बित्यो ३ वर्ष बितिसकेपछि संस्थाको साधारणसभा आउनुभन्दा ६ महिना अघि नै संस्थाको भवन बनाउने प्रस्ताव पारित गर्यो समितिले । साधारणसभामा अनुमोदन गराउने गरेर। नियम बमोजिम सूचना खुलाइयो, ठेक्का लगाइयो । बोनसको रकम स्थायी सम्पतिमा गएकाले तालुकदारहरूको संस्थामा आवतजावत उसै वर्षदेखि कम भएको थियो। बजरङ्गी बा मात्रै आउँथे हेरविचार गर्थे।

सबै कर्मचारी ,समितिका पदाधिकारीहरूमा उनको छवि राम्रै थियो ,सबैले आदर गर्थे उनलाई । ठेक्कामा नाफा कमाउन गुणस्तर घटाउँछन् ठेकेदारहरूले, इञ्जिनियरलाई पनि किन्छन् र पास गराउँछन्। तर यहाँ उपभोक्ता समुहको राम्रो निगरानी थियो । सबैका विश्वासिला र संस्थालाई पनि आफनै सम्पति मानेर जोगाउने, बढाउनेतर्फ बजरङ्गी बा समर्पित भएर खटिरहेका थिए।

उनी रेखदेखमा खटेपछि अरू उपभोक्ताहरूलाई भने ढुक्क थियो । उनको हमेशाको रूँगाइले ठेकेदारलाई दुई नम्बरी काम गर्न धेरै असजिलो भएको थियो। छलछाम गर्ने मौका नै पाएन । तर ऊ पनि कम बाठो थिएन। बेलामाथि कुरै कुराका सिलसिलामा बजरङ्गी बालाई ऊ लोभ्याउन थाल्यो।

“बा, यो ठेक्कामा ता म चुर्लुम्मै डुब्ने भएँ नि, हजुरले यसो अलिकति सहयोग गरिदिए ता हुन्थ्यो ..!” एक दिन उसले कुरो थाल्यो। ” कस्तो सहयोग ? मैंले तपाईंको कुरै बुझिनं” बजरङ्गी बाले वास्तवमै नबुझेरै भने।

“अलिक देखेको नदेख्यै गरिदिनु न ,आखीर तपाईंको मात्रै होइन त साझा ता हो,बरू म बालाई पनि यस‍ो मन रखनी गरूँला नि !” ” काममा घोटाला गर्नेपटि चैं नजाऊँ, तपाईंले शर्तबमोजिम काम गरेर समयमा बुझाउने हो, म त्यत्ति जान्दछु। ” भने टसको मस भएनन् त ! ठेकेदारले फकाउन दिनहुँ छोडेन । पहिले पचास हजारको कुरो गर्यो , हप्काइदिए, फेरि ७५ हजार दिउँला भन्यो” अचाहिंदा कुरा नगर है! ” भनेर चुप लागे । “बा लु भैगो कुरो कतै नजाओस्  हजुरलाई १ लाख नै दिन्छु, राम्रो विचार गर्नुहोस् भोलिसम्ममा, तर कुरो मन परे नपरे पनि कतै बाहिर चैं नजाओस् है, भोलि म हजुरको उतर सुनेर आफू डुबे नडुबेको थाहा पाउँछु। हजुर सहमत भएर आउनुहुन्छ र हजुरका हातमा म एक लाखको बिटो थमाउन पाउनेछु भनेर ढुक्क छु।”

“धन देख्ता महादेवका तीन नेत्र ” राति र बिहानसम्ममा बजरङ्गी बालाई पनि एक लाखले जित्यो । यो रकम बोनस र ब्याजबाट आउने रकमभन्दा पनि धेरै थियो। “कतै कुरो चुहाएर मेरो यतिञ्जेलको प्रतिष्ठा माटामा मिलाउन खोजेका त होइनौ ?” भोलिपल्ट उनले शंका राखे। ” तपाईं पनि कस्तो शंका गर्नुन्हुन्छ ए बा ..! भन्दै नजिकै जोडिंदै आएर ठेकेदारले एउटा बिटो बाको अस्कोटका गोजिमा हालिदियो।

बाले मात्रै त्यो बिटो देखे,अरू कसैले देखेनन् । त्यस दिन बा छिटै घर आइहाले,अनि सधैं छिटै आउन थाले यसो हेरेजसो मात्रै गरेर । उनले यो कुरा घरमा श्रीतीलाई पनि सुनाएनन् ।

***

सहकारीको निजी भवन बनिसकियो। बाहिरी रूप चिटिक्क थियो, तर ठेकेदारको भनाइअनुसार यो भवन केही वर्ष टिकीरहन पनि सक्छ, सानोतिनो भूकम्प आयो भने थुप्रो लाग्न पनि सक्छ, तर बाले यो कुरा अरूलाई भनेनन्। ठेकेदारले पनि उनलाई मात्रै खुसुक्क भनेको थियो। अर्को साधारणसभा आयो।आफ्नै नयाँ भवनमा साधारण सभा सम्पन्न गरियो।

नयाँ पदाधिकारीहरू चयन गरिए। अघिल्लो कार्यकालका सदस्य बजरङ्गी बा यसपल्ट सर्वसम्मत अध्यक्षमा चुनिए। उनको निस्वार्थ सेवा,खटाइ आदि देखेर सबैले उनलाई नै रोजे , १ मत पनि उनको विपक्षमा थिएन। उनले कुनै बहाना बनाउनै पाएनन् अध्यक्षको कक्ष छुट्टै थियो। आफ्नो कक्षमा पसेर आफ्नो कुर्सीमा बसे पनि घरिघरि बजरङ्गी बा भवनको छततिर हेर्ने गर्थे।

बाहिर सडकमा ठुला ट्रक र सवारीहरूको थर्को भित्रैसम्म आउँथ्यो,त्यो भवन हल्लिँदैछ जस्तो लाग्थ्यो उनलाई। कतिबेला भूकम्प आउँछ र छत झरेर आफुलाई किचीमिची पार्छ भन्ने कुराले उनी सधैं भयग्रस्त भए…भईरहे ।

०७८/०५/१७ फाकफोकथुम ४ ,इलाम

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *