बहराइनमा आन्दोलनरत नेपालीलाई स्वदेश फिर्तीका लागि पहल

डिसी नेपाल
२९ भदौ २०७८ १२:५७

काठमाडौं । बहराइनस्थित एन.एच.एस.कम्पनीमा कार्यरत नेपाली श्रमिकहरुलाई स्वदेश फिर्तीका लागि प्रक्रिया थालिएको छ । बहराइनमा रहेको नेपाली दूतावासका अनुसार सो कम्पनी व्यवस्थापकसँग भएको विवादपछि स्वदेश फर्कन चाहने आन्दोलनरत नेपाली श्रमिकलाई स्वदेश फिर्तीका लागि पहल भएको हो ।

कम्पनीमा विभिन्न समस्याहरू भएपछि एनएसएच कम्पनीमा कार्यरत ७ सयभन्दा धेरै श्रमिक काम छाडेर आन्दोलनमा उत्रिएका थिए । श्रमिकहरूले काम छाडेर आन्दोलन थालेपछि दूतावासले समस्या समाधानको बाटो अघि बढाएको थियो ।

उनीहरुलाई स्वदेश फिर्तीका लागि नयाँ ठाउँमा स्थानान्तरणसमेत गरिसकिएको दूतावासले जनाएको छ । यहि सेप्टेम्बर १२ मा दूतावास, बहराइनको श्रम मन्त्रालय र कम्पनीका पदाधिकारीको रोहवरमा घर फर्कन चाहने श्रमिकलाई स्वदेश फिर्तीको सहजीकरणको लागि स्थानान्तरण गरिएको हो ।

त्यस्तै, श्रमिकले नियम अनुसार पाउनु पर्ने सेवा सुविधाहरुका सम्बन्धमा हिसाब मिलाएर मात्रै नेपाल पठाइने दूतावासले जनाएको छ । दूतावासका अनुसार नेपाली श्रमिकको समस्या समाधानका लागि बहराइन सरकारसमेत सकारात्मक देखिएकाले स्वदेश आउन चाहने नेपाली श्रमिकले अब चाँडै आफ्नो देश आउन पाउने छन् ।

साथै, दूतावासले एनएसएस वा बहराइन कै अन्य स्थानमा कार्यरत नेपाली श्रमिकलाई त्यहाँको नियम पूर्ण पालना गर्दै नेपाल र बहराइनबिचको मित्रवत सम्बन्धमा थप टेवा पुर्याउने गरी काम गर्न अनुरोध गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *