सुदूरपश्चिम प्रदेशमा एकीकृत समाजवादीको संसदीय दलको नेतामा सोडारी

डिसी नेपाल
२९ भदौ २०७८ २३:३६

सुदूरपश्चिम । नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टी, सुदूरपश्चिम प्रदेशसभा संसदीय दलको नेतामा दीर्घबहादुर सोडारी चयन भएका छन् ।

आज बसेको संसदीय दलको बैठकले प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री सोडारीलाई सर्वसम्मतरूपमा दलको नेता चयन गरेको प्रदेशसभा सदस्य तारालामा तामाङले जानकारी दिए । उनले भने, “आजको संसदीय दलको बैठकले दलको विधान पारित गरेको छ, दलको नेतामा दीर्घबहादुर सोडारीलाई सर्वसम्मतरूपमा चयन गरिएको छ ।”

दलको नेताका लागि सोडारी, तामाङ, पार्टीका केन्द्रीय सदस्य एवं आन्तरिक मामिला तथा कानूनमन्त्री पूर्णा जोशी र केन्द्रीय सदस्य माया भट्ट आकांक्षी थिए । एमालेबाट निर्वाचित १४ जना प्रदेशसभा सदस्यले नवगठित पार्टीको पक्षमा सनाखत गराउनु भएपछि एकीकृत समाजवादी प्रदेशसभामा सबैभन्दा ठूलो दल बनेको छ । यसअघि सोमबार बसेको सो पार्टीको सुदूरपश्चिम प्रदेशसभा, संसदीय दलको बैठकले प्रदेश सरकारलाई समर्थन गर्ने निर्णय गरेको थियो । माओवादी केन्द्रको नेतृत्वमा रहेको प्रदेश सरकारमा नवगठित उक्त दलको समेत प्रतिनिधित्व छ ।

प्रदेशसभामा नेकपा (एमाले) सभामुखबाहेक दश, माओवादी केन्द्रका १३, नेपाली कांग्रेसका १२ सदस्य छन् । जनता सामाजवादी पार्टी र नवगठित लोकतान्त्रिक समाजवादी पार्टीका एक\एक जना सदस्य छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *