कोरोनाको तेस्रो लहर अब कहिले आउँछ ?

डिसी नेपाल
३० भदौ २०७८ ७:४३

काठमाडौं । बैशाखबाट सुरु भएको निषेधाज्ञा विस्तारै खुल्यो। विद्यालय, धार्मिकस्थल, रात्रिकालीन व्यवसायलगायतका क्षेत्रहरु पनि सरकारले खुकुलो पारेको छ। कोरोनाको दोश्रो लहरले पहिलो लहर भन्दा बढी नै प्रभाव पा¥यो।

दोस्रो लहर विस्तार कम हुन थालेपछि साउनको अन्तिम हप्ता तेस्रो लहरको पनि हल्ला नचलेको भने होइन्। भदौको महिनामै तेस्रो लहर आउने र बालबालिकालाई धेरै असर गर्ने हल्लाहरुका कारण त्यतिबेला सबैमा डर पैदा भएको थियो।

तर, भदौ लागेपछि विस्तारै कोरोनाको संक्रमणदर ओरालो लागेको छ। संक्रमणदर ओरालो लागेपछि अब तेस्रो लहरको संकट टरेको हो कि भन्ने सबैमा जिज्ञासा रहेको छ।

पहिलो र दोस्रो लहरलाई अति उत्कृष्ट ढंगबाट व्यवस्थापन गरेको धुलिखेल नगरपालिकाले तेस्रो लहरको पनि सम्भावित तयारी गरेको छ। स्वास्थ्य शाखा प्रमुख सन्दिप केसी तेस्रो लहरका लागि पनि आवश्यक तयारी गरेर बसेको बताउँछन्।

डिसी नेपालसँगको कुराकानीमा केसीले तेस्रो लहर चाडैँ नआउने बताए। ‘हामीले तयारी गरेका छौं। सामन्यतः पहिलो लहरलाई विष्लेषण गर्दा तेस्रो लहर आउन अझै समय लाग्छ। तर, महामारी हो कतिबेला पिक हुन्छ थाहा हुँदैन र हामीले तयारी गरेका छौं।’

दोस्रो लहरका कारण अति प्रभावित भएको नेपालगञ्जमा पनि तेस्रो लहरको डर नभएको भने होइन्। भेरी अस्पतालले दोस्रो लहरलाई अति मुस्किलका साथ सामना गर्नु परेको थियो। ‘अहिले त अक्सिजन प्लान्ट समेत जोडेका छौं।’ अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट प्रकाश थापाले भने।

थापाले अहिले तेस्रो लहर भन्दा पनि अस्पतालमा आउने कोरोनाका विरामी तथा त्यो संग सम्बन्धि लक्षणसहित आउने विरामीका लागि पनि आवश्यक अक्सिजन प्लान्ट जोडेको जानकारी दिए। उनले दोस्रो लहरमा अक्सिजनका अभावका कारण धेरैको ज्यान बचाउन नसकेकोमा आफूलाई पनि नराम्रो लागेको सुनाउँदै अब त्यो अवस्था आउन नदिने बताए।

तेस्रो लहरका बारेमा थापा पनि भन्न नसकिने बताउँछन्। ‘यसै भन्न त सकिन्न,’ थापाले भने, ‘आए पनि अलिपछि मात्र आउँ छ कि ? रोग हो। कतिबेला यसले आफ्नो स्वरुप परिवर्तन गर्छ र मानिसमा फेरी महामरीको रुपमा आउछ भन्न सकिन्न।’

सिभिल अस्पतालका डा. सुमन मरहठ्ठा पनि तेस्रो लहर आए पनि अलि ढिला गरी आउनेमा सहमत छन्। उनले भने, ‘पहिलो लहरलाई विश्लेषण गर्ने हो भने घट्ने वेव सिधा थियो। दोस्रो लहरको घट्ने वेब विस्तारै छै। यसले पनि धेरै संक्रमित भएर नै विस्तारै घटेको हो भनेर अनुमान गर्न सकिन्छ। अर्को कुरा धेरैले खोप लगाएका छन्। लगाउन बाँकीलाई पनि विस्तारै खोप लगाइने छ। त्यसले गर्दा पनि त्यति चाडैँ तेस्रो लहरले प्रवेस पाउँछ जस्तो त लाग्दैन। तर पनि भन्न सकिन्न।’

पहिलाको भन्दा अस्पतालमा विरामीको संख्या विस्तारै घट्दै गएको उनले सुनाए। ‘कुनै बेला त विरामीको लागि सिट मिलाइदिनु प¥यो भनेर ठूलै मान्छेको फोन पनि आए। अहिले त्यस्तो छैन्। कोरोना वा त्यस्तै लक्षण भएर आउनेहरु पनि कम छन्। झण्डै नियमित जस्तै भएको छ भन्न सकिन्छ।’

नेपालमा आएको पहिलो र दोस्रो लहरको कोरोना महामारीबाट १० हजार नौ सय ८४ जनाले ज्यान गुमाएका छन्। हालसम्म सात लाख ७९ हजार चार सय ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै संक्रमित मध्ये सात लाख ४२ हजार तीन सय छ जना निको भएका छन्।

अहिलेसम्म ५२ लाख ४३ हजार दुई सय ३६ जनालाई कोरोना विरुद्धको खोपको पूर्ण मात्रा लगाइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। पहिलो डोजमात्र खोप लगाउनेहरु पनि ५८ लाख ७७ हजार ७९ जना रहेको मन्त्रालयको तथ्याङ्कमा उल्लेख गरिएको छ।

हालसम्म संक्रमित हुनेमा ५९ प्रतिशत पुरुष रहेको छन् भने ४० प्रतिशत बढी महिला रहेको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार हालसम्म संक्रमितको ९५ प्रतिशत निको भए, ३ प्रतिशत बढी सक्रिय संक्रमित रहेका छन् भने १ प्रतिशतले ज्यान गुमाएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *